एनआरएनमा केसी समूहविरुद्ध तीन समूह एक ठाउँमा
काठमाडौं। सर्वोच्च अदालतको अघिल्लो फैसला अनुसार १ महिना भित्र शेष घलेले पहिलो बैठक बसाउन सकेको भए गैर आवासीय नेपाली संघ एनआरएनमा अहिले एकताको अधिवेशन गर्ने चटारो सुरू भइ सक्ने थियो।
पहिलो फैसलालाई चुनौती दिँदै डा बद्री केसी समूहले अदालतमा मुद्दा दिएपछि अहिले अवस्था अर्कै छ।
पछिल्लो आदेशअनुसार केसी समूहले अहिले सचिवालय बालुवाटारबाट काम सुरू गरि सकेको छ।
सर्वोच्च अदालतले चैत २१ मा १० औं र ११ औं महाधिवेशनलाई वैध ठहर गर्दै शेष घलेको नेतृत्वमा चुनाव गर्ने आदेश दिएको थियो।
चार महिनापछि बद्री केसीको पक्षमा अर्को फैसला आएपछि केसी पक्ष पुनः सक्रिय भएको हो। यद्दपि दोस्रो फैसलाको पूर्ण पाठ भने सार्वजनिक भएको छैन।
११ औं महाधिवेशनमा भोटिङ प्रणालीमा धाँधली भएको आरोपसहित आरके शर्मा र महेश श्रेष्ठले बद्री केसीको नेतृत्व अस्वीकार गर्दै नयाँ कमिटी गठन गरेका थिए।
सर्वोच्चको पहिलो फैसलापछि एकताको महाधिवेशन गर्नु पर्ने पक्षमा रहेको कांंग्रेसबाट प्रतिनिधित्व गर्ने महेश श्रेष्ठ, माओवादीबाट नेतृत्व गर्ने आरके शर्मा र घले समूहका विनोद कुवर एक ठाउँमा उभिदा केसी समूह भने यसको विपक्षमा थियोे । केसी आफै एमाले निकट हुन।
बद्री केसी नेतृत्वको समूहले अदालतको फैसलाको आधारमा आधिकारिकता दाबी गरे पनि शर्मा पक्षले घले समूहको पनि साथ लिएर केसी विरूद्ध मोर्चा कसेको छ।
यसलाई एनआरएनमा केसीको विपक्षमा तीन समूह रहेका छन्।
शर्मा समूहले केसी समूह विरुद्ध सर्वोच्चमा मुद्दा हाल्ने अन्तिम तयारी गरेको छ।