भुटानी नेपाली इभान्जेलिकल चर्चको बाह्रौँ वार्षिक उत्सव : छात्रवृत्ति र प्रार्थना टावरको घोषणा
ह्यारिसबर्ष, पेन्सल्भेनिया/ भुटानी नेपाली इभान्जेलिकल चर्चले आफ्नो स्थापनाको बाह्रौँ वार्षिक उत्सव मनाएको छ।
इभान्जेलिकलिज्म एक प्रोटेस्टेन्ट ईसाई आन्दोलन हो जसले गैर-विश्वासीहरूलाई तिनीहरूको विश्वासमा रूपान्तरण गर्न जोड दिन्छ। इभान्जेलिकलहरूले येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाता र प्रभुको रूपमा विश्वास गर्छन्, र बाइबललाई गम्भीर रूपमा लिन्छन्।
ह्यारिसबर्ग स्थित चर्चको आफ्नै भवनमा शनिवार विशेष कार्यक्रमका साथ इभान्जेलिकल चर्चको वार्षिक उत्सव मनाइएको हो।
वार्षिक उत्सव मनाउन अमेरिकामा रहेका नेपाली भाषी भुटानी समुदायका विभिन्न चर्चका पास्टरहरु सहभागी भएका थिए।
सहभागीहरूले संयुक्त आरधना प्रार्थना गरे पछि वार्षिक उत्सवको औपचारिक कार्यक्रम शुरु भएको थियो। यस्तै कलाकारहरूले प्रस्तुति समेत दिएका थिए। पास्टरहरु अब्राम (भीम) गुरुङ, जोन मगर, भद्र राई लगायतले शुभ कामना मन्तव्य दिएका थिए। यस्तै रेभरेन बी बी थापाले पनि शुभ कामना मन्तव्य दिएका थिए।
कार्यक्रममा भुटनीज कम्युनिटी अफ ह्यारिसबर्ग (बीसीएच) का अध्यक्ष तिलक निरौलाले शुभ कामना मन्तव्य दिएका थिए। उनले बीसीएचले अमेरिकामा आउने नयाँ शरणार्थी व्यवस्थापनको जिम्मेवारी पाएकाले त्यसमा सहयोग गर्न चर्चका पास्टरहरु सँग अपिल गरे।
कार्यक्रममा पास्टर अब्रामले भुटानी नेपाली इभान्जेलिकल चर्चको स्थापना कालको संघर्ष देखि वर्तमान सम्मको अवस्था बारेमा प्रस्टाएका थिए।
उनले कलेज जाने विद्यार्थीका लागि छात्रवृत्ति र प्रार्थनाका लागि टावर बनाउने योजना रहेको बताए। कार्यक्रममा जनाइए अनुसार बीसीएच सँगको सहकार्यमा आर्थिक स्थिति कमजोर भएका पाँच जना सम्म विद्यार्थीलाई जनही एक सेमेस्टरको १५ सय देखि दुई हजार अमेरिकी डलर सम्मको छात्रवृत्ति प्रदान गरिने छ।
यसै गरी ह्यारिसबर्ग क्षेत्रका सबैलाई लागि खुल्ला गरिने गरी दुई वटा प्रार्थना टावर पनि बनाइने छ। टावरका लागि साढे एक मिलियन (१५ लाख अमेरिकी डलर) डलर खर्च हुने अनुमान छ।
भुटानी नेपाली इभान्जेलिकल चर्च सन् २०११ मा स्थापना भएको हो। सन् २०१२ देखि औपचारिक रुपमा दर्ता भएको चर्च सन् २०२१ देखि आफ्नै भवनमा रहेको छ।
कार्यक्रमका थप तस्विरहरु