संगिना वैद्य अपमानित हुने देशमा युवा कसरी रोकिन्छन्?
काठमाडौं । नेपाली खेलकुदमा सफल खेलाडीको परिचय बनाएकी संगिना वैद्यले राष्ट्रिय खेलकुद परिषद् राखेपको उप निर्देशक पदबाट राजीनामा दिएकी छिन् । सन् १९९६ मा अस्ट्रेलियामा भएको एसियाली तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेर नेपाली खेलकुदको इतिहास कायम गरेकी र ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडी बनेकी संगिनाले दक्षिण एसियाली खेलकुदमा पनि दुई स्वर्ण जितेकी छन् ।
उनी राखेपको उप निर्देशक पदमा कार्यरत थिइन् । तर, राखेपका अध्यक्षसमेत रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको ठाडो निर्देशनमा राखेपको निर्देशकमा वरिष्ठता मिचेर पूवञ्चालका कराँते प्रशिक्षक सोवित प्रसाईँलाई विभाग निर्देशकमा नियुक्त गरिए पछि वरिष्ठता र योगदानको कदर नभएको भन्दै संगिनाले राजीनामा दिइन् । यसले गर्दा नेपाली खेलकुदमा कसरी राजनीतिक हस्तक्षेपको सिकार योग्य व्यक्तिहरू हुन्छन् भन्ने प्रस्ट भएको छ ।
संगिनाले २०७८ सालदेखि तालिम तथा प्रशिक्षण विभागमा उपनिर्देशकको जिम्मेवारी सम्हालेकी थिइन् । यसअघि बक्सिङका वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्माको अवकाशपछि उक्त पद खाली भएको थियो ।
प्रसाईँ भन्दा संगिना सिनियर हुन् । यस विषयमा संगिनाले खेलकुद मन्त्री चौधरीसँग भेटेर सबै कुरा राखेकी पनि थिइन् । उल्टै उनले आफूलाई अनेत्रको दबाब भन्दै संगिनाको कुरा सुनेनन् । त्यसपछि आक्रोशित उनले राखेपका सदस्यसचिवको टेबलमा राजीनामा बुझाएकी हुन् ।
अहिले पारालम्पिक खेलमा पलेसा गोवर्धनले ऐतिहासिक कांस्य पदक जितेपछि सम्मानको ओइरो भइरहेको छ भने स्वयं मन्त्री पनि विभिन्न सम्मान कार्यक्रममा उपस्थित भएर खेलाडीको प्रशंसा गर्दै नेपालमै खेलाडीहरूलाई टिकाई राख्नका लागि काम गरिरहेको भाषण वाजी छाँटी रहेका छन् । तर, मन्त्री चौधरीको कथनी र करणी भने फरक देखिएको छ । आइतबार मात्रै नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा पलेसालाई सम्मान गर्दा खेलाडीहरूलाई जागिर लगायतको सुरक्षाको चर्चा गर्दै गर्दा त्रिपुरेश्वरमा रहेको राखेपमा संगिनाले राजीनामा बुझाउँदै थिइन् ।
अपमानित भएको भन्दै संगिना वैद्यले दिइन् राजीनामा
उनै मन्त्रीले कार्यक्रममा यसभन्दा अघिको व्यवस्थामा खेलाडीहरूले पदक जित्दा जागिर दिने व्यवस्था रहेको र अहिले गणतन्त्रमा त्यो गर्न नसकेको बताइरहँदा उनकै कारणले संगिनाले राजीनामा दिएकी छिन् । मन्त्रीले अहिले खेलाडीहरूलाई जागिर दिन नसके पनि भई रहेका र योग्यता पुगेका खेलकर्मीलाई जोगाउनु पर्नेमा उल्टै काखा र पाखा गर्दा खेलकर्मीहरूले भोलि कुन आशा गरेर मैदानमा उत्रिने गम्भीर प्रश्न छ । अहिले अधिकांश पदकधारी खेलाडीहरू विदेश पलायन भइरहेको अवस्थामा नेपालमा खेलाडी पनि पाइन छाडेको अवस्था छ । २०७६ सालमा काठमाडौँमा भएको १३ औँ सागमा नेपालले २०७ पदक जितेको थियो । २०७ पदक विजेता खेलाडी मध्य १०० बढी खेलाडीहरू अहिले विदेश पलायन भइसकेका छन् ।
संगिना पनि यसैगरी संसारका जुन कुनै देशमा गएर यहाँको भन्दा राम्रो र सम्मानित जीवन जिउन सक्ने थिइन्, तर उनले विदेशको सुख सयल भन्दा पनि देशकै माटो रोजेकी हुन् । तर यहीको माटोमा हुर्किएकी संगिनाले आफै अपमानित भएर भनेर भन्नु पर्ने अवस्था आउनु राज्यलाई गिज्याइरहेको छ ।
अहिले संसद्का २ ठुला दलको बलियो सरकार भएका बेला खेलाडीहरूले राज्यबाट अपेक्षा पनि गरेका छन् । तर, सरकारले खेल र खेलाडीको संरक्षण, क्षमता अभिवृद्धि गर्नुको साटो राजनीतिक आस्थाका आधारमा काखा पाखा गर्दा यसले पक्कै पनि राम्रो सन्देश जाँदैन ।
संगिना एक खेलाडी हुन् । उनी कुनै पनि दलमा आबद्ध छैनन् । जसले देशका लागि पदक ल्याएर इतिहास बनाएको खेलाडीलाई पनि सरकार तिमी संरक्षण गरेर अघि बढाउन सक्दैनौँ भने अब पक्कै अरू खेलाडीहरूले भन्ने छन्, हामी किन खेल्ने अनि किन नेपालमा बस्ने भनेर ।
अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली आफैमा खेलकुद बुझेको व्यक्ति भनेर चिनिन्छन् । उनी नै राखेपको संरक्षक पनि हुन् । यसैगरी मन्त्री चौधरी पनि खेलकुदकै पृष्ठभूमिबाट आएको व्यक्ति भएकाले यति ठुलो अन्याय हुँदा प्रधानमन्त्रीले खेलकुद मन्त्रीसँग चासो व्यक्त गरेर यो निर्णय सच्याउन सक्नुपर्छ । नत्र देश छोड्ने खेलाडीहरूको लर्को थामी नसक्नु हुने छ ।
अमेरिकामा फुटबल खेलाउने नेपाली इन्जिनियर परिवार