ह्यारिसबर्गमा सम्पन्न नेपाली भाषामा कथा वाचन प्रतियोगिताको उपाधि आदर्श शर्माले जिते
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्ग सम्पन्न नेपाली भाषाको कथा वाचन प्रतियोगिताको उपाधि आदर्श शर्माले जितेका छन्।
कृयामना फाउन्डेसनले शनिवार आयोजना गरेको प्रतियोगितामा १६ जनालाई पछि पार्दै आदर्शले उपाधि जितेका हुन्।
प्रतियोगितामा कौस्तुभ रिजाल दोस्रो भए। यस्तै कमला चापागाईँ तेस्रो भइन्।
आयोजकले सन् २००० यता जन्मिएकालाई प्रतियोगितामा सहभागी हुन पाउने नियम बनाएको थियो। उनीहरूलाई स्थापित कथाकारका कथा वाचन गर्न दिइएको थियो।
कथाकारकै सामुन्ने प्रतिस्पर्धीले कथा वाचन गरेका थिए।
कथा वाचनमा सहभागीहरू प्रायशः अमेरिकामा नै आएर नेपाली भाषा सिकेकाहरू थिए। विजेता भएका आदर्शले देवी दाहाल (दगाने) को ‘जीवनको मूल्य’ कथा वाचन गरेका थिए। आदर्शले उपाधि सँगै एक हजार अमेरिकी डलर नगद पुरस्कार जिते। दोस्रो भएका कौस्तुभले सात सय र कमलाले पाँच सय डलर नगद पाइन्।
विश्व भुटानी साहित्य संघठनका संस्थापक अध्यक्ष डेन्जोम साम्पाङ, साहित्य परिषद् भुटानका अध्यक्ष गङ्गाराम लामीटारे, ह्यारिसबर्ग भुजनीज कम्युनिटी (बीसीएच) की उपाध्यक्ष तथा तेक्वान्दो प्रशिक्षक विनीता पुरी राई, हिन्दु धर्म र संस्कृति संगठन ओएचआरसी अन्तर्गत नेपाली शिक्षा कार्यक्रमका प्रमुख नवीन भट्टराई, नेत्री द्रौपदी प्रधान, गजलकार धर्मेन्द्र तिम्सिना क्षितिजको निर्णायक मण्डलले विजेताको छिनोफानो गरेका थिए।
निर्णायकको तर्फबाट नवीन भट्टराईले निर्णय सुनाएका थिए। उनले सहभागीको वाचन शैली र प्रस्तुतीकरण आधारमा विजेताको छिनोफानो गरिएको जनाए।
कथा वाचन प्रतियोगितामा साहित्यकार पातलो अन्तरेले कार्यक्रम सञ्चालन गरेका थिए। बीसीएचका अध्यक्ष तिलक निरौला, एसियन रिफ्युजी युनाइटेड (एआरयु) का कार्यकारी निर्देशक रबिन गुरुङ, पत्रकार तथा लेखक भक्त घिमिरे, साहित्यकारहरू गण्डकी पुत्र, विष्णु माझी, शेखर कोइराला, ओम घिमिरे, डिल्ली चापागाँई लगायत कार्यक्रममा उपस्थित थिए।
कार्यक्रममा अभिभावकको दाइत्वका बारेमा बिष्णु लुइँटेलले आफ्नो भनाइ राखेका थिए। यस्तै सिर्जनात्मकताका बारेमा गण्डकीपुत्रले भनाइ राखेका थिए। अभिभावकका तर्फबाट वसुधा रिजालले मन्तव्य राखेकी थिइन ।
कृयामान फाउन्डेसन मानसिक स्वास्थ्य न्यूनीकरण क्षेत्रमा कार्यरत संस्था हो। यसका प्रमुख भरत तिम्सिना हुन्।
उनले बालबालिकाको सिर्जनात्मकतालाई जन समक्ष ल्याउन र नेपाली भाषा प्रति चेतना बिस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।
कथा वाचनका बिचमा कृयमाण फ़ाउन्डेशनका सदस्य तथा पिएचडी शोधार्थी लीला चम्लगाईंले मानसिक स्वास्थ्य सम्बन्धी जानकारी प्रस्तुत गरेका थिए।
कृयामना फाउन्डेसनको संस्थापक सदस्यहरूमा यमि विमर्श, लीला चापागाईँ र तोदात्री धिमाल रहेका छन्।