राखेपद्वारा लामालाई प्रशिक्षक नियुक्तिका लागि सिफारिस
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पेरिस पारालिम्पिक २०२४ मा ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दोकी पलेशा गोबर्धनका प्रशिक्षक कविराज नेगी लामालाई प्रशिक्षक (अधिकृत तृतीय) पदमा नियुक्त गर्नका लागि सिफारिस गरेको छ। राखेपले युवा तथा खेलकुद मन्त्रालयलाई लामाको नियुक्ति गर्न सिफारिस गरेको हो।
यसअघि पनि राखेपले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडी र उनीहरूका प्रशिक्षकहरूलाई सफलताको सम्मानस्वरूप सेवा दिन नियुक्त गर्ने प्रचलन रहिआएको छ। कविराज नेगी लामा अन्तर्राष्ट्रिय स्तरका लेभल–२ पारा तेक्वान्दो प्रशिक्षक हुन्। उनको नेतृत्वमा नेपालले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा ११ पदक जितिसकेको छ, जसमा ३ स्वर्ण, २ रजत र ३ कांस्य पदक रहेका छन्। लामा स्वयंसेवक प्रशिक्षकका रूपमा कार्यरत छन्।
पेरिस पारालिम्पिकमा पलेशा गोबर्धनले जितेको कांस्य पदक नेपाली खेलकुद इतिहासकै अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि हो। यसअघि, नेपालले कुनैपनि ओलम्पिकमा पदक जित्न सकेको थिएन। नेपालले सन् २००४ को एथेन्स पारालिम्पिक र सन् १९६४ को टोकियो ओलम्पिकदेखि ओलम्पिक खेलकुदमा सहभागीता जनाउन थालेको थियो।
राखेपले पेरिस पारालिम्पिकमा पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक, र नेपाल तेक्वान्दो संघलाई राष्ट्रिय खेलकुद विकास नियमावली–२०७९ अनुसार नगद पुरस्कारका लागि पनि सिफारिस गरिसकेको छ। पलेशाले पेरिस पारालिम्पिकमा के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि ऐतिहासिक कांस्य पदक जितेकी थिइन्।