श्रीलंकामा नेपालको दोस्रो अभ्यास खेल पनि रद्द
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंकामा खेल्ने भनिएको दोस्रो अभ्यास खेल पनि वर्षाले रद्द भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, नेपाली टोलीले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेल्ने तीन एकदिवसीय अभ्यास खेलको दोस्रो खेल आज निर्धारित गरिएको थियो। तर, लगातारको वर्षाले यस खेललाई रद्द गर्न बाध्य बनायो।
यसअघि, मंगलबार खेल्ने पहिलो अभ्यास खेल पनि वर्षाले प्रभावित भएको थियो।
नेपालले आइसीसी क्रिकेट विश्वकप लिग – २ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल खेलिरहेको छ। नेपाली राष्ट्रिय टोलीले अब तेस्रो अभ्यास खेल सेप्टेम्बर ६ मा खेल्ने योजना रहेको छ।
श्रीलंकामा अभ्यास खेल खेल्न १९ सदस्यीय नेपाली टिम गएको छ। यसमा कप्तान रोहित पौडेल, आसिफ सेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजबंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी, र सन्दीप लामिछाने समावेश छन्।
यस अभ्यास खेलको श्रृंखलापछि, नेपाली टोली क्यानडामा हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज खेल्न त्यसतर्फ प्रस्थान गर्नेछ।