पलेशा बुधबार बिहान काठमाडौँ आउदै, नगरपरिक्रमा गराइने
काठमाडौँ । परालिम्पिकमा ऐतिहासिक काश्य पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई भव्य स्वागतका साथ नगरपरिक्रमा गराइने भएको छ।
पलेशा बुधबार बिहान काठमाडौँ आइपुग्नेछिन्, र उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष समारोहका साथ स्वागत गरिनेछ। यो अवसरमा नेपाली खेलकुद इतिहासमा ओलम्पिकमा पदक जित्ने पहिलो खेलाडीको रूपमा पलेशालाई सम्मानित गरिनेछ।
राष्ट्रिय खेलकुद परिषद्का अनुसार, पलेशाको आगमनको स्वागत समारोह बिहान ८ बजे विमानस्थलबाट सुरु हुनेछ। विमानस्थलमा स्वागत गरेपछि पलेशालाई नगरपरिक्रमा गराइनेछ ।
जसको सुरूवात साढे ८ बजेबाट हुनेछ। नगरपरिक्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरू गरी गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट हुँदै त्रिपुरेश्वर चोकसम्म पुगेर राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा समापन हुनेछ।
यस नगरपरिक्रमा कार्यक्रमलाई भव्य बनाउनको लागि खेलकुद परिषद्ले व्यापक तयारी गरेको छ। पलेशाको अद्वितीय उपलब्धिलाई सम्मान दिन हजारौं समर्थक र खेलप्रेमीहरू नगरपरिक्रमा मार्गमा सहभागी हुने अपेक्षा गरिएको छ। खेलकुद परिषद्को प्राङ्गणमा पलेशालाई सम्मानित गरिने विशेष कार्यक्रमको आयोजना हुनेछ, जसमा राष्ट्रिय खेलकुद परिषद्का उच्च पदाधिकारी, विभिन्न खेल संघका प्रतिनिधिहरू, खेलाडीहरू, र खेलप्रेमीहरूको व्यापक उपस्थिति रहनेछ।