गृहमन्त्री लेखकले संविधान संशोधनको प्रक्रिया र योजना प्रस्तुत गरे

धनगढी। गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्दै समावेशी राज्य निर्माणको लागि संविधान संशोधन गर्ने योजना प्रस्तुत गरेका छन्। उनले यस प्रक्रिया अन्तर्गत संविधानका आधारभूत विषयहरूमा कुनै प्रतिरोध नहुनेगरी सबै राजनीतिक दलहरूको सहमतिमा संशोधन गरिने बताएका छन्।
मंगलबार नेपाल प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृह मन्त्री लेखकले संविधान संशोधनको प्रक्रिया चरणबद्ध र सबै दलको सहमतिमा अघि बढाउने बताएका हुन्। उनले भने, “संविधानको अभ्यासका क्रममा देखिएका सरलता र जटिलताको समीक्षा गरेर मात्र संविधान संशोधनको बाटोमा अघि बढ्नेछौं।”
लेखकले संविधानको आधारभूत विषयहरूमा समावेशीता, थप सुदृढता, र जनताका लागि कार्यान्वयन हुने गरी संशोधन गर्नुपर्ने आवश्यकता औंल्याए। “पहिलो चरणमा ९-१० वर्षको संविधानको अभ्यासको समीक्षा गरेर के-के राम्रा भएका छन् र कहाँ-कहाँ जटिलता देखिएका छन् भन्ने विषयमा समिक्षा गरिनेछ,” उनले थपे।
संविधान संशोधनको प्रक्रिया सबै दलसँग संवाद र सहमतिका आधारमा अघि बढाउने योजना रहेको उनले बताए। “विषयवस्तु पहिचान भइसकेपछि सबै दलसँग संवाद गरेर सहमति प्राप्त गर्नेछौं,” उनले भने।
यस प्रक्रियामा गृहमन्त्री लेखकले संविधानको सुधार र समावेशीता सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरे।