जनसम्पर्क समितिका अधिवेशनका प्रक्रियामा एकरुपता ल्याउने कांग्रेस निर्णय
काठमाडौं । नेपाली कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समितिका अधिवेशन प्रक्रियालाई सहज र एकरूपता ल्याउने निर्णयहरू गरेको छ । केन्द्रीय कार्यसमितिको बैठक पछि सार्वजनिक गरिएको निर्णयमा पार्टीको विधानको धारा १४ को उपधारा (३) अन्तर्गतको ‘महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको चयन’ सम्बन्धी प्रावधानलाई निलम्बन गरिएको छ । साथै, धारा १४ का उपधारा (४), (५), र (६) पनि निलम्बन गरिएको छ ।
नेपाली जनसम्पर्क समितिको कार्यकाल तीन वर्षको हुने व्यवस्था छ । यदि कुनै समितिले तोकिएको अवधिभित्र अधिवेशन सम्पन्न नगरेको खण्डमा केन्द्रीय कार्यालयले अविलम्ब विधानअनुसार अधिवेशन प्रक्रिया अघि बढाउने पनि निर्णय गरिएको छ ।
अध्यक्ष र पदाधिकारीहरूको चयन नेपाली कांग्रेसका क्रियाशील सदस्य र जनसम्पर्क समितिका सदस्यहरूबाट हुने गरी विधान अनुसार अगाडि बढाउन निर्देशन दिइएको छ । यसका लागि नेपाली कांग्रेसको नियमावलीमा पनि संशोधन गरिनेछ, जसमा ‘क्रियाशील सदस्य’को सट्टा ‘क्रियाशील सदस्य वा नेपाली जनसम्पर्क समितिका सदस्य’ शब्दावली समावेश गरिनेछ ।
विदेशस्थित जनसम्पर्क समितिका नियमित अधिवेशन हुन सकेका छैनन् ।