एक्लै चुनाव जित्न सक्ने अवस्थामा पुर्याउने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले पार्टीलाई बलियो बनाएर एक्लै निर्वाचन जित्नसक्ने अवस्थामा पुर्याउने निर्णय गरेको छ । आइतबार सकिएको बैठकले पार्टीलाई बलियो बनाउने निर्णय गरेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
उनका अनुसार, बैठकमा उपसभापति र महामन्त्रीद्वयले राखेको नीतिगत, सांगठनिक र समयसामयिक प्रस्तावमा छलफल भएको थियो ।
महामन्त्री गगन थापाले राखेको निर्वाचनअघि गठबन्धन गर्न नहुने प्रस्तावमा सोही दिशामा अघि बढ्ने निर्णय भएको प्रवक्ता महतले बताए ।
कांग्रेसको संगठनलाई चुस्त, दुरुस्तरूपमा गाउँगाउँमा पुर्याउने, संगठनको अभियानलाई अगाडि बढाउने सम्बन्धमा निर्णय भएको छ । त्यसका लागि सक्रिय सदस्यता नवीकरण गर्ने, नयाँ सदस्यता दिनेबारे निर्णय भएको छ ।
त्यस्तै, चुनावअघिको गठबन्धनबारे पार्टीलाई केन्द्रबिन्दुमा राखेर पार्टीलाई बलियो बनाउने, एकीकृत गर्ने निर्णय भएको उनले बताए ।
महाधिवेशनका सन्दर्भमा पार्टीको विधानले व्यवस्था गरेअनुसार अधिवेशन समयमा नै सम्पन्न गर्ने निर्णय भएको छ ।
महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक प्रस्तावमा उल्लेखित ‘एक्जिट पोलिसी’को सम्बन्धमा छलफल गर्दा निर्णय गर्न केन्द्रीय समितिले आवश्यक नठानेको र संविधानसँग पनि जोडिने भएकाले संविधान संशोधनका क्रममा छलफल अघि बढाउने निर्णय भएको महतको भनाइ छ ।