कांग्रेसको केन्द्रीय समिति बैठकमा ११ एजेण्डा छलफलका लागि पेस
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा ११ वटा एजेण्डा छलफलका लागि पेस भएको छ ।
बुधबार बसेको बैठकमा ११ वटा एजेण्डा पेस भएको र यसअघिको महासमिति बैठकमा पेस भएका प्रतिवेदनमाथि भोली बिहीबारबाट छलफल हुने प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिएका हुन् ।
उनले भने, ‘आज एजेण्डा छलफलका विषयवस्तुहरु प्रस्तुत भए । ११ वटा विषय वस्तुहरु प्रवेश भएको छ । पहिलो विषय छ । केन्द्रीय समितिमा पदाधिकारीहरुले तयार गरेको परिमार्जित प्रस्ताव उपर छलफल हुन्छ, त्यो भोलीबाटै हुन्छ ।’
उनले राष्ट्रिय सहमतिको सरकारको सम्बन्धमा कार्यसम्पादनको समितिले गरेको निर्णयलाई बैठकले अनुमोदन गरेको पनि जानकारी दिए ।
उनले भने, ‘राष्ट्रिय सहमतिको सरकारको सम्बन्धमा जुन कार्यसम्पादनको समितिले निर्णय गरेको थियो । ती निर्णयलाई यहाँ अनुमोदन गर्ने प्रस्ताव आएको छ । त्यो अनुमोदन आज कै बैठकले गरिसकेको छ ।’
उनका अनुसार भदौ १५ देखि मंसिर २५ गतेसम्म संगठन सुदृढीकरण अभियान चलाउने प्रस्ताव पनि केन्द्रीय समितिमा पेस हुनुकासाथै सो अभियान १०० दिनसम्म चल्ने प्रस्ताव पनि आएको छ ।