कमला ह्यारिसविरुद्ध चुनावी रणनीति तयार पार्दै ट्रम्प
पेन्सिल्भेनिया । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा १०० दिनभन्दा कम समय बाँकी रहँदा उम्मेदवार डोनाल्ड ट्रम्प आफ्नो नयाँ प्रतिद्वन्द्वी कमला ह्यारिसलाई मध्यनजर गर्दै चुनावी रणनीति बदल्न बाध्य भएका छन् । जुलाई २१ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले उपराष्ट्रपति ह्यारिसलाई डेमोक्र्याटिक उम्मेदवारको रूपमा समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएपछि रिपब्लिकनको रणनीति उथलपुथल भएको हो ।
ट्रम्पले ८१ वर्षीय बाइडेनको स्वास्थ्यलाई आफ्नो राजनीतिक रणनीति बनाउदै उनलाई कमजोर वृद्धको रूपमा चित्रण गर्नुभएको थियो । अब उनले आफुभन्दा लगभग दुई दशक कान्छी पहिलो अश्वेत, महिला र दक्षिण–एसियाली मुलको नितान्त फरक उम्मेदवारको सामना गर्ने छन् ।
उम्मेद्वारको परिवर्तनले ट्रम्प र रिपब्लिकनहरूलाई आफ्नो रणनीति द्रूत रूपमा परिवर्तन गर्न बाध्य पारेको छ ।
अहिलेसम्म उनले आफ्नो नयाँ प्रतिद्वन्द्वीलाई ‘लाइङ कमला’, ‘लाफिङ कमला’ र ‘क्रेजी कमला’ का रूपमा वर्णन गरेका छन् ।
गत हप्ता उत्तरी क्यारोलिनामा आयोजित समारोहमा गर्भपतनको विषयमा ह्यारिसको गलत व्याख्या गर्दै ट्रम्पले अमेरिकी उपराष्ट्रपतिलाई ‘बच्चाको मृत्युदण्ड’ को पक्षमा रहेको झूटो आरोप लगाएका थिए ।
चुनावी अभियानअन्तर्गत ट्रम्प बुधबार अश्वेत समुदायले सामना गर्ने समस्याको विषयमा अफ्रिकी–अमेरिकी पत्रकारहरूसँग छलफल गर्न शिकागो जाने छन् । त्यसको भोलिपल्ट उनले पेन्सिलभेनियामा एउटा अभियान र्याली आयोजना गर्ने छन् । चुनावी कार्यक्रमको नै शिलशिलामा ट्रम्प शनिबार एटलान्टा र जर्जिया पुग्ने छन् ।
अमेरिकी सञ्चारमाध्यमले राष्ट्रपतीय दौडमा ह्यारिसको प्रवेश रिपब्लिकनका लागि ‘कडा चुनौती’ भएको वर्णन गरेका छन् ।
हालैका दिनमा चुनावी अभियानका लागि विस्कन्सिन, जर्जिया र इन्डियाना पुग्नुभएको ह्यारिसले बुधबार साँझ टेक्सासको ह्युस्टनमा अफ्रिकी–अमेरिकी विद्यार्थीहरूको भेलालाई सम्बोधन गरे ।