नेवा: नख: न्यु योर्कको आयोजनामा “संस्कृति र आध्यात्मिकता मार्फत जीवन व्यवस्थापन“ कार्यक्रम सम्पन्न
न्यु योर्क,अमेरिका/ नेवा: नख: न्यु योर्कको आयोजनामा गत मंगलवार न्यु योर्कमा संस्कृति र आध्यात्मिकता मार्फत जीवन व्यवस्थापन कार्यक्रम आयोजना गरेको छ।
आध्यात्मिक गुरु रुपेश्वर गौर दासद्वारा आध्यात्मिक प्रवचनको आयोजना गरिएको थियो । कार्यक्रम वुडसाइड एभिन्यूको सत्यनारायण मन्दिरको हलमा गरिएको थियो । गुरु रुपेश्वर गौर दास र उनको टोली नेपालबाट न्यु योर्क आएका हुन्। अमेरिका अवतरणपछि गुरु दासको पहिलो कार्यक्रम थियो ।
गुरु रुपेश्वर गौर दास, माता सुरुचि, डा. राहुल र विमल तामाङलाई हलमा दर्शकहरूले स्वागत गरेका थिए । मञ्चलाई फूल र ब्यानरले सजाइएको थियो । कार्यक्रमको सञ्चालन नेवा: नख: न्यु योर्क महासचिव श्री तुलसी नारायण चित्रकारले गरेका थिए ।
नेवा: नख: न्यु योर्ककी कार्यकारिणी सदस्य राधिका श्रेष्ठले गुरु र अन्य टोलीका सदस्यहरूलाई माल्यार्पण गरी स्वागत गरेकी थिइन्। नेवा: नख: न्यु योर्क कार्यकारिणी सदस्य एवम् उक्त कार्यक्रमका संयोजक नम्रता प्रधानले अतिथिहरू लगायत उपस्थित सबैलाई स्वागत गरेकी थिइन्।
नेवा: नख: न्यु योर्क निवर्तमान अध्यक्ष तथा सल्लाहकार महेन्द्र वीर बज्राचार्यले संस्थाको संक्षिप्त परिचय दिएका थिए। त्यस्तै नेवा: नख: न्यु योर्क कार्यकारिणी सदस्य शोभना शाक्यले गुरु रुपेश्वर गौर दासको जीवनीबारे प्रकाश गरेकी थिइन्।
आध्यात्मिक गुरुजीले आफ्नो जीवन कथाबाट प्रवचन सुरु गरेका थिए। उनले आफ्नो संस्कार, बालक मनोविज्ञानदेखि आफ्नो देशमा पढाइको बारेमा जानकारी दिए। त्यसपछि विदेशमा अध्ययन गर्न गएको र त्यहाँको संस्कारले बस्न मन नलागेको उल्लेख गर्दै धर्म र भगवानमा विश्वास नभएको मानिस कसरी आध्यात्मिक बन्न पुग्यो भन्ने बारेमा प्रकाश पारेका थिए।
हरेक मानिसका जीवनमा सुखी र आनन्द सँगसँगै दुःख र पीडा आएको हुन्छ भन्दै बाँच्नु र आनन्दपूर्वक बाँच्नुको भिन्नता आकाश जमिनको जति भएको उनले बताए।
जसरी हामी बाहिरी संसार देख्छौँ त्यो भन्दा अझ बृहत् संसार हरेकको मनभित्र हुन्छ, मनले नै बुद्धिलाई नियन्त्रणमा राखेको हुन्छ भन्दै आध्यात्मिकतालाई वैज्ञानिक तर्कबाट प्रमाणित गरेका थिए।
मान्छेको प्रकृति फरक फरक हुन्छ र यसलाई सबैले बुझ्न जरुरी छ भन्दै मानिसले आफूलाई कसरी चिन्न सकिन्छ र आफ्नो कर्म कसरी निर्धारण गर्न सकिन्छ भन्ने उदाहरण समेत प्रस्तुत गरेका थिए।
कार्यक्रमको दोस्रो सत्र, प्रश्न उत्तरको थियो । धेरै जनाले आफ्ना प्रश्न र जिज्ञासा गुरुसामु राखेका थिए । करिब एक घण्टाको प्रश्न उत्तर पछि गुरुसँग सामूहिक फोटो खिच्ने कार्यक्रम सुसम्पन्न भयो ।
कार्यक्रमको अन्त्यमा नेवा: नख: न्यु योर्क अध्यक्ष डा. नरेश मान शाक्यले गुरुजी लगायत नेपालबाट आएका तथा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम विसर्जन गरेका थिए।