अमेरिकाका लागि सिफारिस राजदूत रेग्मी को हुन् ?

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले एकै पटक १८ जना राजदूत सिफारिस गरेको छ भने ६ जनालाई फिर्ता बोलाएको छ । करियरवाला भन्दाबाहेक राजनीतिक नियुक्तिका हिसावले राजदूत भएकाहरु अधिकांशले अहिलेसम्म कार्यकाल पूरा भने गर्न पाएका छैनन् । सत्ता समिकरण तलमाथि पर्नासाथ पहिलो प्रहार कुटनीतिक क्षेत्रमा पनि हुँदै आएको छ ।
माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको सत्ता सहकार्यमा पनि राजदूत फेरबदल भएका थिए भने माओवादी र एमालेको सहकार्यमा पनि यस्तै भएको थियो । माओवादी र एमालेको पछिल्लो ४ महिने सहकार्यमा कांग्रेस कोटाबाट पठाइएका राजदूतहरु फिर्ता हुँदा माओवादी कोटा थमौती भएको थियो भने एमालेबाट थपिएका थिए ।
तर, प्रचण्ड नेतृत्वको सरकारले राजदूत सिफारिस गरे पनि संसदीय सुनुवाई नै भएको थिएन । यसबीचमा नयाँ सत्ता समिकरणसँग कांग्रेस र एमाले एक ठाउँमा आएपछि फेरि पनि राजदूत फिर्ता बोलाउने र नयाँ सिफारिस हुने प्रक्रिया सुरु भएको हो ।
यसपटक सोमबार बसेको सरकारले १८ देशमा राजदूता सिफारिस गर्दा परराष्ट्र सेवाका २ जना र बाँकी १६ जना राजनीतिक नियुक्ति रहेका छन् । पोर्चुगलका लागि सिफारिस भएका सहसचिव प्रकाशमणि पौडेल र पाकिस्तानका लागि सिफारिस भएकी सहसचित रिता धिताल मात्रै छन् । बाँकी १६ जनामा नेपाली कांग्रेस र नेकपा एमालेले ८–८ जना बाँडेका छन् ।
कांग्रेसको कोटाबाट भारतका शंकर शर्माको राजदूत पद थमौती भएको छ । माओवादी र एमालेबीचको सहकार्य सुरु भएपछि फिर्ता बोलाउने सूचीमा परेका थिए । तर, लगत्तै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण भएकाले उनलाई १५ दिनका लागि कार्यकाल थप गरेका थिए भने त्यसपछि नयाँ सत्ता समिकरण बनेर कांग्रेस पनि सत्तारुढ हुँदा शर्माको राजदूत पद बलियोगरी थमौतीमा परेको छ । कांग्रेस कोटाबाट दक्षिण अफ्रिकामा प्राध्यापक डाक्टर कपिलमान श्रेष्ठ, इजरायलमा धनप्रसाद पण्डित, श्रीलकामा रामकृष्ण भट्टराई, स्पेनमा सनिल नेपाल, जर्मनीमा शैल रुपाखेती र अष्ट्रेलियामा कान्ता रिजाल सिफारिस भएका छन् ।
सरकारले पहिलो पटक पोर्चुगलमा राजदूतावास स्थापना गरेर सनिल नेपाललाई राजदूत सिफारिस गरेको थियो । तर उनी पोर्चुगल जानै नपाई नियुक्ति फिर्ता भएको थियो । संसदीय सुनुवाई भएर नियुक्त भए पनि कांग्रेस प्रतिपक्षमा पुग्दा उनको राजदूत पद खोसिएको थियो । तर, अहिले उनी स्पेनका लागि राजदूत सिफारिस भएका हुन् ।
यसैगरी, नेकपा एमाले अमेरिकामा लोकदर्शन रेग्मी, बेलायतमा चन्द्रकुमार घिमिरे, दक्षिण कोरियामा डा. शिवमाया तुम्बाहाङ्फे, रुसमा जंगबहादुर चौहान, कतारमा रमेशचन्द्र पौडेल, चीनमा प्राध्यापक डाक्टर कृष्णप्रसाद खोली, डेनमार्कमा सुम्निमा तुलाधर र मलेसियामा नेत्रप्रसाद तिमिल्सिेना सिफारिस भएका छन् ।
एमाले माओवादी गठबन्धन हुँदा लोकदर्शन रेग्मी भारतका लागि राजदूत सिफारिस भएका थिए भने अमेरिकामा चन्द्रकुमार घिमिरे सिफारिस भएका थिए । लोकदर्शन बेलायतको राजदूत भइसकेका व्यक्ति हुन् । उनलाई अमेरिकामा राजदूत सिफारिस गर्दा यसअघि अमेरिकाका लागि सिफारिस भएका चन्द्र कुमार भने बेलायतका लागि सिफारिस भएका छन् ।
अमेरिकाका लागि सिफारिस भएका रेग्मी नेपाल सरकारका पूर्व मुख्यसचिव पनि हुन् । वालिंग स्याङ्जामा २०२३ सालमा जन्मिएका रेग्मी शाखा अधिकृत पदबाट सरकारी सेवामा प्रवेश गरेका थिए । उनी २०७४ कार्तिक ८ गतेदेखि २०७७ असोज १४ गतेसम्म नेपाल सरकारको मुख्यसचिव रहे । कार्यकाल पूरा नहुँदै उनी बेलायतको राजदूत हुनका लागि राजिनामा दिँदा नेपाल सरकारको मुख्यसचिव शंकरदास बैरागीलाई जिम्मा लगाएका थिए । ओली निकट रेग्मीले मुख्यसचिव हुनु अघि पनि महत्वपूर्ण मन्त्रालयका सचिव भएर काम गरेका थिए ।