प्रथम राष्ट्रपति डा. यादवको उपस्थितिमा विश्व सञ्जालले बिपी स्मृति दिवस मनाउने
ल्यानक्यास्टर,पेन्सिल्भेनिया/ नेपाली जनसम्पर्क समिति विश्व सञ्जालले नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा ४२ औ बिपी स्मृति मनाउने भएको छ।
विश्व सञ्जाल विदेशमा रहेका नेपाली कांग्रेस समर्थकहरूको संस्था हो।
‘४२ औँ बिपी स्मृति दिवसको उपलक्ष्यमा नेपालका प्रथम राष्ट्रपति महामहिम डा. रामवरण यादव ज्यूको प्रमुख आतिथ्यतामा हुन गई रहेको “महामानव बिपी कोइरालाको बहु आयामिक व्यक्तित्व” विषयक अन्तर्क्रियामा उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौ।’ सञ्जालद्वारा जारी सूचनामा भनिएको छ।
सूचना अनुसार कार्यक्रम श्रावण २० गते (अगस्ट ४ तारिख) आइतबार नेपालको समय अनुसार साँझ ६ बजे भर्चुअल मार्फत हुने छ।
‘म आफैले महामहिम ज्यू सँग कुराकानी गरेको छु, यहाँको सबै वस्तुस्थिति पनि बताएको छु, उहाँ कार्यक्रममा उपस्थित हुनुहुन्छ।’ विश्व सञ्जालका संयोजक बिष्णु सुवेदीले समाज टाइम्स सँग भने।
सुवेदीले प्रथम राष्ट्रपतिको तर्फबाट विदेशमा रहेकाहरूलाई पहिलो सम्बोधन हुने पनि दाबी गरे। “उहाँ विदेशमा रहेका नेपालीहरू सँग औपचारिक कार्यक्रममा पहिलो पटक आउँदै हुनुहुन्छ त्यो पनि बिपी स्मृति दिवसको अवसर पारेर।” उनले भने।
‘हामी आन्तरिक तयारीका कारण सार्वजनिक कार्यक्रममा देखिएका थिएनौ तर अब नियमित रूपमा गतिविधि गर्छौ।’ तपाईँहरू अब बौरिएको हो भन्ने प्रश्नमा सञ्जालका अध्यक्ष सुवेदीले भने।
विश्वभर रहेका नेपाली जनसम्पर्क समितिहरूको छाता संस्था बनाउने उद्देश्यले सन् २०१८ मा विश्व सञ्जाल गठन गरिएको थियो। तर माउ पार्टी नेपाली कांग्रेसले मान्यता नदिए पछि यो अभियान निष्क्रिय बनेको थियो।
नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले नियमित अधिवेशन नगरे पछि त्यसको विकल्पको रूपमा पनि विश्व सञ्जाललाई हेरिएको थियो। तर पार्टीमा सभापतिमा शेर बहादुर देउवा दोस्रो पटक निर्वाचित भए पछि सुवेदी पक्षले गतिविधि गर्न छोडेको थियो। किनकि विष्ट देउवा निकट मानिँदै आएका छन्।
जबकि कांग्रेस महाधिवेशन ताका नेता शेखर कोइरालाले विश्व सञ्जालले आयोजना गरेको एक कार्यक्रममा अब देखि कम्तीमा महिनामा एउटा अन्तरक्रिया कार्यक्रम राख्न र हरेक कार्यक्रममा आफू उपस्थित हुने बचन पनि दिएका थिए।
तर अरू समय विष्टलाई अस्वीकार गर्दै आएका सुवेदीले महाधिवेशन प्रतिनिधि पाए पछि पुराना एजेन्डा छोडेको भन्दै उनी निकट नै असन्तुष्ट बने पछि सुवेदी एक्लो परेका थिए।
सुवेदी पक्षले विष्ट कमिटीको वैधानिकता सकिएको भन्दै आएको थियो। सन् २०१४ मा टेक्ससमा अधिवेशन भए पश्चात् जनसम्पर्क समिति अमेरिकाको अर्को अधिवेशन हुन सकेको छैन। जबकि विधानमा हरेक तीन तीन वर्षमा अधिवेशन हुनु पर्ने व्यवस्था छ।
कांग्रेसको १४ औँ महाधिवेशनमा अगाडि २४ घण्टाको सूचना निकालेर पार्टी सभापति देउवाले जनसम्पर्क समिति अमेरिकाको अधिवेशन उद्घाटन समेत गरेका थिए।
समय अभावका कारण तत्काल महाधिवेशन प्रतिनिधि छनौट गर्ने र कांग्रेसको महाधिवेशन पछि जनसम्पर्क समिति अमेरिकाको नयाँ निर्वाचन गर्ने उद्घोष तत्कालीन समयमा विष्टले गरेका थिए। तर त्यस पछि अधिवेशनका कुनै गतिविधि भएनन्। उल्टो महासमिति बैठकका बेला १२ जना महाधिवेशन प्रतिनिधि बिच आपसमा भोट हालेर ६ जना प्रतिनिधि छानिएको थियो।
सो चुनाव हारे पछि सुवेदीको आलोचना मात्र भएन उनी पुरै सुस्ताएका थिए।
“हामी सुस्ताउने भन्दा पनि आन्तरिक काम भई नै रहेको थियो, सार्वजनिक कार्यक्रम कम भएको हो।” सुवेदीले भने,’विदेशमा रहेका नेपाली कांग्रेस समर्थक र शुवेच्छुकहरुलाई एकत्रित गर्ने फोरमलाई अझ मजबुत बनाउन हामी लागि नै रहेका थियौ।”
सुवेदीले पार्टीका संस्थापक, पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री बिपी कोइरालाको स्मृति दिवसको अवसर पारेर सार्वजनिक कार्यक्रम गरिने र अब यसलाई निरन्तरता दिने बताए।
“अब हरेक महिनाको अन्तिम आइतबार केही न केही कार्यक्रम हुन्छ, नेपाली कांग्रेस पार्टी र विदेशमा बस्ने पार्टी समर्थक तथा शुभ चिन्तकहरूलाई नियमित जोड्नेका मञ्च हामी बनाउँदछौ।” सुवेदीले भने,’अब हामी अर्को समरमा युरोपमा विश्व सम्मेलन नै गर्छौ।’