प्रिन्स दाहाल पनि ओलम्पिकबाट बाहिर

काठमाडौं । नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल जितविहीन रहँदै पेरिस ओलम्पिक २०२४ बाट बाहिरिएका छन् ।
मेन्स सिंगल्सतर्फ समूह ‘पी’ को आफ्नो अन्तिम खेलमा बुधबार प्रिन्स इजरायलका मिसा गिल्बरम्यानसँग २-० को सेटमा पराजित भएका हुन्।
पहिलो सेटमा प्रिन्स १२-२१ ले पराजित भए। यो सेट १६ मिनेट चेलेको थियो । २० मिनेटको दोस्रो सेट पनि प्रिन्सले १०-२१ ले गुमाए । प्रिन्स पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सनसँग २-० को सेटमा पराजित भएका थिए । डेनमार्कका भिक्टरविरुद्ध उनले पहिलो सेट २१-८ ले गुमाए। दोस्रो सेटमा पनि उनी २१-६ ले पराजित भए ।
दोस्रो खेलमा विश्व वरीयताको ४३औं स्थानमा रहेका आयरल्यान्डका हात गुएनले प्रिन्सलाई २१-७ र २१-५ को सेटमा पराजित गरे ।
प्रिन्सले युनिभर्सालिटी कोटाबाट ओलम्पिकमा आफ्नो स्थान पक्का गरेका थिए। योसँगै पेरिस ओलम्पिक २०२४ मा सहभागी सातमध्ये ६ नेपाली खेलाडी बाहिरियका छन् ।
यसअघि टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल,जुडोकी मनिता श्रेष्ठ प्रधान र पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह बाहिरिइसकेका छन् । अब सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्न बाँकी छ।