एनआरएन क्यानडाले सभापति पद हटायो
रामहरि कोइराला
क्यालगरी, क्यानडा/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) क्यानडाले आफ्नो विधानबाट सभापति पद हटाएको छ।
गत शनिवार क्यालगरीमा सम्पन्न १७ औ साधारण सभाले अबको चुनाव पछि सभापति पद हटाउने गरी विधान संशोधन गरेको हो।
एनआरएनए क्यानडाका अध्यक्ष माधव दुलालका अनुसार विधान कमिटीले पेस गरेको प्रस्तावलाई बन्द सत्रमा सर्वसम्मतले पारित गरेको हो।
आन्तरिक समस्या समाधान गर्ने क्रममा २०१९-२०२१ को चिरंजीवी घिमिरे अध्यक्ष रहेको समितिले सभापति र अध्यक्ष गरी दुई पद सृजना गरिएको थियो। सभापति सेरोमोनियल थिए भने अध्यक्ष कार्यकारी। यसै गरी साधारण सभाले अब आउने निर्वाचन पछि वरिष्ठ उपाध्यक्ष पद थप गर्ने प्रस्ताव पनि पारित गरेको छ।
एनआरएनए क्यानडाका सभापति प्रज्वल कार्कीको सभापतित्वमा सम्पन्न भएको साधारण सभाको बन्द सत्रले महासचिव चन्दा अधिकारीले प्रस्तुत गरेको सङ्गठनात्मक प्रतिवेदन पनि पास गरेको छ।
महासचिवको प्रतिवेदनमा एक वर्षको कार्यकालको उपलब्धि, संस्थागत क्रियाकलापहरू, भावी कार्यक्रम लगायतका विषय बस्तुहरू उल्लेख गरिएको छ।
त्यसै गरी बन्द सत्रले कोषाध्यक्ष विद्या भूषण कार्कीको प्रतिवेदन पनि पारित गरेको छ। यस्तै एनआरएनए क्यानडाले विनय नेपाललाई प्रमुख निर्वाचन आयुक्तमा मनोनयन गरेको छ।
यस अघि एनआरएनए क्यानडाको १७ औ साधारण सभाको उद्घाटन क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेलले गरेका थिए।
उनले नेपालको विकासमा हातेमालो गर्न आग्रह गरे। नेपाल पर्यटकीय रूपमा विश्वमा नै अनुपम रहेको भन्दै राजदूत पौडेलले कार्यक्रममा उपस्थित क्यानडाका मन्त्री तथा जनप्रतिनिधिलाई नजिकबाट नेपालको अवलोकन गरे आमन्त्रण गरे।
कार्यक्रमकी विशेष अतिथि क्यानडाकी कला संस्कृति र महिला मन्त्री तान्या फिरले नेपालको विकासमा क्यानडा निरन्तर सहभागी हुने वचनबद्धता व्यक्त गरिन्।
उद्घाटन कार्यक्रममा क्यानडाका संघीय सांसद जियोर्गे चाहल, मनिंदर सिधुको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा एनआरएनए क्यानडाका पूर्व अध्यक्षहरू दीपक गौतम र विनोद के सी, संस्थाका वर्तमान एवम् पूर्व पदाधिकारीहरू, क्यानडामा क्रियाशील विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरू तथा पदाधिकारीहरू, क्यानडामा विभिन्न पेसा व्यवसायमा संलग्न नेपालीहरूको उपस्थिति थियो।
नेपाल मेला भव्यरुपमा सम्पन्न
कार्यक्रमको अघिल्लो दिन क्यालगरी स्थित प्रियारी विन्ड्स पार्कमा नेपाली मेला आयोजना गरिएको थियो। नेपाली कला, संस्कृति, भेष भूषा, रहनसहनलाई त्यहाँ रहेका नेपालीहरू बिच मात्रै होइन, विदेशीहरूसामु समेत संपेषण गर्ने उद्देश्यले सो मेला आयोजना गरिएको आयोजकको भनाई छ।
मेलामा नेपाली विभिन्न जात जातीहरूका झाँकीहरू, बाजा तथा आभूषणहरूलाई प्रस्तुत गरिएको थियो।
सो कार्यक्रममा स्थानीय हजारौँले अवलोकन गएका थिए। विदेशीहरुपनि कार्यक्रमको माहौलमा झुम्मिएका देखिन्थे।
नेपाल मेलामा पनि मन्त्री तान्या, राजदूत पौडेल, सांसदहरू जियोर्गे चाहल, मनिंदर सिधु लगायतको उपस्थिति रहेको थियो। क्यालगरी नेपलिज कम्युनिटी अफ एसोसिएसनका पूर्व अध्यक्ष धुर्व राईको सभापतित्वमा भएको मेला क्यालगरीबासी नेपालीका विभिन्न संघ संस्थाहरूको संयुक्त आयोजनामा भएको थियो।
मेलाको को चेयर एनआरएनए क्यानडाका अध्यक्ष माधव दुलाल, नेपलिज कम्युनिटी सोसाइटी अफ क्यालगरी एनसीएससीका पूर्व अध्यक्ष श्रीकान्त अर्याल र सिएनसिएका पूर्व अध्यक्ष प्रज्वल कार्की रहेका थिए।
मेलामा स्थानीय कलाकारहरूले गीत, सङ्गीत र नृत्यका माध्यमले उपस्थित सबैलाई भरपुर मनोरञ्जन दिएका थिए। कार्यक्रममा नेपालबाट आएका गायक राजेश पायल राई र क्यालगरी मै बस्ने ख्यातिप्राप्त गायिका मिना निरौलाले पनि प्रस्तुति दिएका थिए।
कार्यक्रममा नेपालीहरूका विभिन्न खानाका परिकारहरूले अतिथिहरूको स्वागत गरिएको थियो।
मेलामा स्थानीय मात्र नभएर क्यानडाका विभिन्न क्षेत्रबाट पनि सहभागी भएका थिए।
क्यालगरीमा अध्ययन गर्दै गरेका नेपाली विद्यार्थी सन्दीप खनालले विदेशमा यस्तो कार्यक्रम आयोजना हुनु र त्यसमा उत्साहजनक सहभागिता हुनु गर्वको कुरा भएको बताए।
यस्तै नेकासे एडमन्टनका पूर्व अध्यक्ष लक्ष्मण अधिकारीले नेपाली मेला भव्यरुपमा सम्पन्न भएको र सम्मेलनले नयाँ आशा जगाएको बताए।
ओन्टारियोको ब्राम्प्टनबाट निर्वाचित एनआरएनए क्यानडाका वर्तमान सदस्य जगन सापकोटाले एनआरएनए क्यानडालाई अझै सशक्त बनाएर नेपालीहरूको हक हितका निम्ति थप कार्यक्रमका साथ अगाडि बढाउनु पर्ने दायित्व आफूहरूमा आएको बताए।
ओन्टारियोको ब्राम्प्टनबाट नै आएका एनआरएनए क्यानडाका उपसभापति किरोज श्रेष्ठले कार्यक्रमले थप आशा जगाएको छ र समुदायको हितमा काम गर्नु पर्ने थप दायित्व पनि सँगै थपिदिएको बताए।