नेपाल पर्यटन लैजान अमेरिकामा पत्रकारसँग एनआरएनएको अन्तर्क्रिया
डालस, टेक्सस/ गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको व्यापार तथा पर्यटन विभाग अन्तर्गतको पर्यटन कार्यदलले शनिवार स्थानीय नेपालीमुलका पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
युलेसस्थित ठमेल बियर गार्डेन रेस्टुरेन्टमा आयोजित कार्यक्रममा डालस वरिपरिका पत्रकारहरूको उपस्थिति रहेको थियो।
एनआरएन एनसीसी पर्यटन विभागले विगतमा गरेका कार्यक्रमहरू, भावी योजनाहरू बारे जानकारी गराउने र यसलाई प्रचारात्मक रूपमा लैजान पत्रकारहरूको भूमिका कस्तो हुनसक्छ भन्ने बारेमा जानकारी लिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ थियो।
नेपाल सानो तर भौगोलिक विविधता र सांस्कृतिक क्षेत्रमा निकै संवृद्ध छ। विश्वको व्यापारमा पर्यटनले ठुलो भूमिका खेलेको छ। कतिपय देशहरू पर्यटनबाट नै संवृद्ध भएका छन्। नेपालमा पनि आरोहणका लागी सगरमाथा लगायतका हिमाली शृङ्खला, पदयात्राका लागि पहाडी भूगोल, धार्मिक पर्यटनका लागि लुम्बिनी विश्वभरिका पर्यटकहरूका लागि आकर्षक गन्तव्य हुन्।
एनआरएन पर्यटन कार्यदलले नेपाल सरकार, नेपाली दूतावास समेतको सहयात्रामा नेपालमा अमेरिकी पर्यटकको सङ्ख्या वृद्धि गर्ने योजना अन्तर्गत भेटघाट, अन्तरक्रिया लगायतका प्रचारात्मक कार्यक्रमहरू गरिरहेको छ। यस अभियानमा पत्रकारहरूलाई कसरी जोड्ने भन्ने चासो अन्तर्गत यो कार्यक्रम आयोजना भएको हो।
कार्यक्रममा एनआरएन एनसीसी अमेरिकाका उपाध्यक्ष तथा कार्यदल प्रमुख नेत्र पाण्डे, टेक्सस च्याप्टर अध्यक्ष दीपेन्द्र गुरागाईँ, समाजसेवी प्रभात दीक्षित, पर्यटन बोर्डका संयोजक सविन्द्र थापा लगायतले आफ्नो धारणा राखेका थिए।
उनीहरूले धेरै भन्दा धेरै पर्यटक कसरी नेपाल पठाउन सकिन्छ, नेपालीहरूलाई पनि आफ्नो छोराछोरी सहितको भ्रमणको लागि कसरी प्रेरित गर्न सकिन्छ भन्ने विषयमा बिचारहरू व्यक्त भएका थिए।
एनआरएनलाई सुझाव :
अमेरिका लगायत विश्व भरिबाट विदेशी पर्यटक भित्राउनु र खास गरी खर्च गर्ने पर्यटक भित्राउनु हाम्रो मुख्य उद्देश्य हुनुपर्छ। नेपालमा जाने भारत,चीन लगायत अमेरिकाबाट जाने अधिकांश पर्यटक पैसा खर्च गर्न होइन बचाउन जान्छन्। यस्ता पर्यटकहरूले नेपालको आर्थिक क्षेत्रमा खासै कुनै योगदान गर्दैनन्। यसको सट्टा बरु युरोप अमेरिका तिर बस्ने लाखौँको सङ्ख्याका नेपाली र उनीहरूका सन्तानहरूलाई नियमित नेपाल भ्रमण गर्ने बानी र वातावरण निर्माण गर्ने हो भने नेपाल पर्यटन बाट ठुलो फाइदा लिन सक्छ।
त्यसको लागि एउटा बलियो र प्रभाकारी आइसीसी पुनर्निर्माण र पुनर्गठन गर्नु पर्छ। यसको विश्व सम्मेलन र महाधिवेशन सकेसम्म हरेक वर्ष र नसके दुई दुई वर्षमा नेपालमा गर्नु पर्छ। महाधिवेशनमा उम्मेदवार हुन र मतदान गर्न सशरीर नेपालमै जानु पर्ने र नेपाल जाने हरेक एनआरएन सदस्यहरूले मतदान गर्न पाउने व्यवस्था गर्नु पर्छ।
नेपाल जाने हरेक नेपाली मूलका प्रवासीहरूलाई नेपाल सरकारले सके नेपाली नागरिक सरहकै सुविधा, नसके ग्रीनकार्ड सरहको सुविधा दिने वातावरण बनाउने पहल एनआरएनले गर्नु पर्छ। दोहोरी नागरिकताको प्रसङ्गले नेपाली जनमानसमा “कुण्ठा र ईर्ष्या” पैदा गरेको सन्दर्भमा ग्रीन कार्डले उनीहरूलाई समेत सकारात्मक बनाउन सक्छ जसले गर्दा प्रवासी नेपालीहरूले राजनीतिक अधिकार बाहेक सम्पूर्ण अधिकार प्राप्त गर्न सक्छन् । आफू जन्मेको, आफ्नो कर्मथलो भन्दा माया गर्ने ठाउँमा जाँदा पनि “विदेशी हुन् भन्ने पर्खाल” भत्काउनु पर्छ। विमानस्थलमा प्रवेश गर्दा विदेशीको लाइनमा होइन प्रवासी नेपालीहरूको लाइनबाट प्रवेश गर्ने व्यवस्था गर्नु पर्छ।
प्रवासी नेपालीहरू नेपाललाई सर्वस्व दिन चाहन्छन् भन्ने नबुझी दुई चार जनाले जग्गा बेचेर पैसा लगे भन्ने हौवाको पछाडि लागेर नीति निर्माण गर्ने हो भने नेपालले आफ्नो अहिलेको अवस्था बदल्न सक्दैन। यसको लागि नेपाली समाजले एक पटक मुक्तिनाथको पानीले एकबाट नुहाएर रामकुमारी झाँक्री मार्ग परिवर्तन गरी प्रवासी नेपाली प्रति उदार हुने हो भने नेपालीले विदेशमा सिकेको सीप, कमाएको धनको सदुपयोग गर्न सक्छ र त्यसैले नेपालले विकासको फड्को मार्न सक्छ। प्रवासी नेपालीहरूलाई पर्यटक कै रूपमा भित्राउने हो भने मात्र पनि नेपालले धेरै आर्थिक लाभ लिन सक्छ। नत्र त्रिशूलीको किनारमा बसेर स्टोभमा तरकारी पकाएर खाने र त्यहीँ आची गर्ने भारतीय पर्यटक, अति लोभी चिनिया पर्यटकले नेपालमा पर्यटकको सङ्ख्या र बढ्ला नेपालले राम्रो आर्थिक फाइदा भने लिन असम्भव छ।