चुनाव अघि ट्रम्पलाई अमेरिकी सर्वोच्च अदालतबाट ठूलो राहत
पेन्सिल्भेनिया । अमेरिकी सर्वोच्च अदालतले सोमबार ट्रम्पको पक्षमा ठूलो फैसला सुनाएको छ । अदालतले ट्रम्पको राष्ट्रपतिकालमा भएका धेरै निर्णयमा कानुनी कारबाही गर्न नसकिने बताएको छ । ट्रम्प अमेरिकी राष्ट्रपति हुँदा नोभेम्बर २०२० को चुनावको नतिजा उल्ट्याउन षड्यन्त्र गरेको आरोप लागेको थियो।
यस विषयमा उनीविरुद्ध अदालतमा मुद्दा चलिरहेको थियो । यसको विरुद्धमा ट्रम्पले वाशिङटनको तल्लो अदालतमा अपील गरेका थिए कि उनी विरुद्ध फौजदारी मुद्दा दायर गर्न नपरोस्, किनकि उनलाई पूर्व राष्ट्रपतिको रूपमा छुट दिनुपर्छ। यो अपील तल्लो अदालतले खारेज गरेको थियो।
तर, अहिले सर्वोच्च अदालतले वासिङ्टनको तल्लो अदालतको फैसलालाई उल्टाएको छ । अमेरिकाको इतिहासमा यो पहिलो पटक हो कि सर्वोच्च अदालतले सत्तामा रहँदा पूर्वराष्ट्रपतिको कार्यका लागि फौजदारी मुद्दा चलाउन नसकिने बताएको छ।
अमेरिकामा ६ जनवरी २०२१ मा, क्यापिटल हिल अर्थात् अमेरिकी संसदमा ट्रम्पका समर्थकहरूद्वारा हिंसा भएको थियो। ३ नोभेम्बर २०२० को राष्ट्रपति चुनावको लागि मतदानमा, बाइडेनले ३०६ इलेक्टोरल भोट प्राप्त गरे र ट्रम्पले २३२ इलेक्टोरल भोट प्राप्त गरे। नतिजा आउनेबित्तिकै ट्रम्प र उनका समर्थकहरूले चुनावी धाँधलीको आरोप लगाएका थिए ।
मतदानको ६४ दिन पछि, जब अमेरिकी संसद बाइडेनको विजय पुष्टि गर्न व्यस्त थियो, ट्रम्पका समर्थकहरू संसदमा प्रवेश गरे। तोडफोड र हिंसा भयो । जसमा एक प्रहरी अधिकारीसहित ५ जनाको मृत्यु भएको थियो । हिंसापछि ट्रम्पमाथि आफ्ना समर्थकहरूलाई उक्साएको आरोप लागेको थियो।
मुद्दाको अनुसन्धान १८ महिनासम्म चल्यो। गत डिसेम्बरमा छानबिन समितिले ८ सय ४५ पृष्ठको प्रतिवेदन तयार गरेको थियो । यसमा ट्रम्पलाई दोष लगाइएको थियो । उनीविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरिएको थियो
। यसका लागि १ हजार प्रत्यक्षदर्शीको बयान लिइएको थियो । यसबाहेक ९ सय ४० जनाभन्दा बढीमाथि आरोप पनि लगाइएको छ । तीमध्ये हालसम्म ५ सय जनाले आफ्नो अपराध स्वीकार गरिसकेका छन् ।
ट्रम्पलाई जुलाई ११ मा सजाय सुनाइँदै
सर्वोच्च अदालतको यो निर्णय यस्तो समयमा आएको हो, जब एक पोर्न स्टारलाई मौन बनाउन पैसा तिरेको मामिलामा डोनाल्ड ट्रम्पलाई जुलाई ११ मा सजाय सुनाइँदै छ ।
तर, सर्वोच्च अदालतले ट्रम्पले पदमा रहँदा निर्णय गरेका मुद्दामा मात्रै फौजदारी मुद्दामा उन्मुक्ति पाउने स्पष्ट पारेको छ ।
साथै, व्यक्तिगत आपराधिक मुद्दाहरूमा उनीहरूले उन्मुक्ति पाउने छैनन्। ट्रम्पले २०१६ मा राष्ट्रपतिको उम्मेदवार हुँदा पोर्न स्टारलाई पैसा दिएका थिए । यस्तो अवस्थामा सर्वोच्च अदालतको फैसलाले साउन ११ मा हुने सुनुवाइलाई असर गर्दैन ।