कतारमा महामन्त्री थापाले भने ‘कांग्रेस अब थपक्क प्रतिपक्षमा बस्छ’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई अबको २० वर्षमा मध्यम आय भएको देश बनाउने गरी काम गर्नु पर्नेम बेला रहेको बताएका छन् ।
नेपाली जनसम्पर्क समिति कतारको १७ औं बार्षिकोत्सवलाई दोहामा सम्बोधन गर्दै थापाले अबको २० वर्षमा अहिलेको शताव्दी समाप्त हुने र नयाँ शताव्दीमा पुग्दै गर्दा नेपाललाई गरीब देशहरुको क्लबको सदस्य नभई मध्यम आय भएको देशको रुपमा रुपान्तरण गर्नु पर्नेमा जोड दिए ।
उनले भने ‘अहिलेको शताब्दीमा हामीले सबै आन्दोलनहरु गरेका छौं, अब आर्थिकरुपमा देशलाई सम्पन्न बनाउनुपर्छ ।’
यसैगरी महामन्त्री थापाले २०८४ सालको आम निर्वाचन अघि सम्म कांग्रेस जिम्मेवार प्रतिपक्षको रुपमा थपक्क बस्नु पर्नेमा जोड पनि दिए । ‘अहिले माओवादी, एमाले, रास्वपा लगायतका दलहरुले सरकार सञ्चालन गरिरहेका छन्, उहाँहरुलाई यात्रा गर्न दिनुपर्छ, नेपाली कांग्रेस प्रतिपक्षको भूमिका निर्वाह गरेर बस्नुपर्छ ।’ थापाको भनाई थियो ।
सबै मिलेर राम्रो संविधान बनाए पनि संविधान अनुसारको सही नेतृत्व नहुँदा सबै दोष संविधानलाई दिएर पन्छिन नमिल्ने पनि महामन्त्री थापाको भनाई थियो ।