त्रिवि मैदानपछि यो मैदानमा हामीले बढी समर्थन पाउछौं: रोहित पौडेल
बिष्णु हरि घिमिरे
ग्राण्डप्रेरी, डलास, टेक्सस/ नेपाली टिमका कप्तान रोहित पौडेलले त्रिवि मैदान पछि ग्राण्डप्रेरीमा बढी समर्थक पाउने बताएका छन्।
आइसीसी टी २० पुरुष विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको पहिलो खेल खेल्नु अगाडि सोमबार आयोजित पत्रकार सम्मेलनमा कप्तान पौडेलले आफूहरूलाई घरेलु मैदानमा खेलेको अनुभव हुने बताए।
नेपालले मंगलवार नेदरल्याण्ड सँग खेल्दै छ। नेपालले सोमवार ग्राण्डप्रेरी मैदानमा केही घण्टा अभ्यास पनि गर्यो। अभ्यास पछि आयोजित पत्रकार सम्मेलनमा कप्तान पौडेलले समर्थकहरूलाई खुसी र गर्व गर्न लायक बनाउने बताए।
टेक्सस अमेरिकामा नेपालीहरूको बाक्लो उपस्थिति रहेको राज्य हो। नेपालको खेल हेर्ने अमेरिकाका विभिन्न राज्यबाट दर्शकहरू टेक्सस आएका छन्।
‘अमेरिका आएपछि यहाँका समर्थकको ठुलो माया पाएका छौँ। त्रिवि मैदानपछि यो मैदानमा हामीले बढी समर्थन पाउँछौँ जस्तो लागेको छ। हाम्रो लागि यो अवसरसँगै जिम्मेवारी पनि हो।’ पत्रकार सम्मेलनमा पौडेलले भने,’हामीमाथि उत्कृष्ट क्रिकेट खेलेर उहाँहरूलाई खुसी र गर्व गर्न लायक बनाउने जिम्मेवारी छ।’
कप्तान पौडेलले विश्व कपका लागि आफूहरू उत्साहित भएको बताए। ‘हामी विश्वकपका लागि एकदमै उत्साहित छौँ। नेदरल्यान्ड्सविरूद्धको खेलका लागि तयार छौँ। हाम्रो लागि टी-२० विश्वकप एकदमै महत्त्वपूर्ण छ।’ पौडेलले भने
उनले विश्व कप खेल्ने सपना पुरा हुन लागेको भन्दै खुसी व्यक्त गरे। ‘हामीले पछिल्लो १० वर्ष विश्वकप खेल्न पाएनौँ। १० वर्षपछि विश्वकप खेल्दैछौं। विश्वकप खेल्ने हामी सबैको सपना थियो। एउटा बच्चाको रूपमा मेरो पनि थियो। अब खेल्न पाउँदा उत्साहित मात्र होइन हामीमाथि जिम्मेवारी पनि छ।’
कप्तान पौडेलले टी-२० विश्वकपका लागि २० टोली नै सन्तुलित रहेको बताए। ‘नेदरल्यान्ड्स हामीले खेलिरहेको टोली हो। मङ्गलवार जुन टोलीले दबाब झेल्न सक्छ त्यसले जित्छ।’ पौडेलले भने, ‘हामीले डलासको मैदानमा एउटा वार्म अफ खेल पनि खेलेका छौँ। त्रिवि मैदान भन्दा यहाँ अलि बाउन्स छ। हामीले यहाँको अवस्था हेरेर अवसरलाई सदुपयोग गर्न पर्छ।’
उनले दिउँसो खेल हुँदा यहाँ भिज्न सक्ने टोलीका लागि सजिलो हुने बताए।
‘जुन टोली भए पनि हामी एउटै स्तरमा सुरु गर्न चाहान्छौं। विपक्षी टोलीलाई बढी फाइदा र हामीलाई तल्लो स्तरमा छौँ जस्तो लाग्दैन। त्यसैले जसले राम्रो क्रिकेट खेल्छ त्यहीँ टोलीले जित्छ।’ कप्तान पौडेलले भने।
उनले आफूहरू एक महिना देखि यहीको मौसममा अभ्यस्त भइरहेको प्रस्टाए। ‘एक महिनादेखि हामी यहीँ छौँ। सबै कुरा हाम्रा लागि मिलिसक्यो जस्तो लाग्छ। वेस्ट इन्डिजको पनि एक हप्ता बस्दा सबै कुरा थाहा पायौँ। हाम्रो योजना सबै बनिसक्यो। अब त्यसलाई मैदान उतार्न मात्र बाँकी छ।’
टेक्ससको मौसम भने चिन्ताको विषय बनेको छ। आइतबार दिउसो भारी वर्षा भएको थियो। सोमवार दिन भर कर्मचारी मैदानमा सुकाउन लागि परेका थिए। मैदान बाहिरको क्षेत्रमा गचगच हिलो छ। कप्तान पौडेलले मौसम आफूहरूको नियन्त्रणमा नभएको बताए।
‘मौसम हाम्रा नियन्त्रणमा छैन।’ कप्तान पौडेलले भने, ‘जति ओभरको खेल भए पनि हामी उत्कृष्ट खेल्न कोसिस गर्छौँ। हाम्रो लागि प्रतियोगिताको पहिलो खेल धेरै महत्त्वपूर्ण छ। किनभने पहिलो खेलबाट लय समाप्त सजिलो हुन्छ।’
उनले पहिलो खेल महत्त्वपूर्ण भएको पनि बताए। ‘पहिलो खेल जितेपछि हाम्रो डगआउटमा जित्न सकिने विश्वास बढ्छ। दिउँसो खेल भएको कारणले टसले त्यति फरक पार्दैन। तर पनि टसभन्दा उत्कृष्ट क्रिकेट खेल्न पर्छ।’ कप्तान पौडेलले भने,’ विश्वकप खेल्ने सपना पूरा हुँदै छ। २०१४ टिभीमा नेपालले विश्वकप खेलेको बच्चाको सपना पूरा हुँदै छ। अब हामीले नयाँ पुस्ताका लागि राम्रो क्रिकेट खेलेर प्रेरणा दिन पर्छ। हाम्रो र नेपालका लागि ठुलो अवसर हो। सबै खेलाडी फिट रहेका छन्।’