अमेरिकामा विदा, सन्दीपको भिसा अन्योलमा
पेन्सिल्भेनिया । क्रिकेटर सन्दीप लामिछानेको आज पनि भिसाको काम अघि नबढ्ने भएको छ । अमेरिकामा आज ‘मेमोरियल डे’ परेको छ । हरेक वर्षको मे महिनाको अन्तिम सोमबार मेमोरियल डे मनाउने भएकाले सबै देशका कुटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइएको छ ।
आज काठमाडौंस्थित अमेरिकी दूतावासमा पनि विदा भएकाले क्रिकेटर सन्दीपको भिसाको प्रक्रिया अघि नबढ्ने भएको हो । पहिलो पटक भिसा रिजेक्ट भएपछि पुनः प्रक्रिया भने सन्दीपले अघि बढाएका छन् ।
तर अहिलेसम्म सरकारले कुटनीतिक नोट नै जारी नगरेकाले सन्दीपले अमेरिका र वेस्टइन्डिजमा आयोजना हुन लागेको आइसीसी टी–२० विश्वकप गुमाउने खतरा झन झन बढ्दै गएको छ ।
नेपाली टिम अमेरिका प्रस्थान गर्दा अदालतमा मुद्दा विचाराधिन रहेकाले उनको प्रक्रिया अघि बढेको थिएन । उच्च अदालतबाट सफाइ पाएपछि २०२५ सम्मको पहिलाको भिसा भएकै कारण क्यानले टिकट समेत व्यवस्था गरि सकेको थियो भने उनको जर्सी लगायतका कुराहरु प्रिन्ट पनि भइसकेका थिए । फिटनेस टेस्टसमेत दिएका सन्दीप खेल्नलाई योग्य भनेर जाने तयारी गर्दा अघिल्लो दिनमात्रै उनको एक वर्ष अघि भिसा रद्द भएको इमेल पाएका थिए ।
त्यसपछि प्रक्रिया पूरा गरेर अन्तवार्ता दिन गएका सन्दीपलाई अमेरिकी दूतावासले भिसा रिजेक्ट गरेको थियो । भिसा रिजेक्ट भएपछि अहिले क्यानका पदाधिकारीहरुले सन्दीपलाई खेल्न पठाउने या नपठाउने जिम्मा नेपाल सरकारको रहेको अभिव्यक्ति दिएका छन् । यदि सरकारले कुटनीतिक नोट बनाएर दूतावासमा पठाएमा सन्दीप खेल्न जान पाउने छन् ।
तर, अहिलेसम्म कुटनीतिक नोट तयार भने भएको छैन । सामान्य पत्र तयार भए पनि उक्त पत्रका आधारमा भिसा दिन नसकिने संकेत दूतावासले गरि सकेको छ । त्यसैले अहिले क्यानका पदाधिकारीहरुले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेट्ने प्रयास गरिरहेका छन् । युवा तथा खेलकुदमन्त्रीलाई भने यसअघि सन्दीसहितको टोलीले भेटेको थियो ।
त्यहाँबाट प्रक्रिया अघि बढाएर परराष्ट्रमा पत्र पुगेको बुझिएको छ । परराष्ट्रका अधिकारीहरुले प्रक्रिया अघि बढाउनु भन्दा पहिला दूतावाससँग समन्वय हुनु पर्ने बताएका छन् । तर, आज सार्वजनिक विदा परेकाले दूतावासले छलफल गर्नका लागि मंगलबारलाई समय तय हुन सक्ने संकेत गरेका छन् । मेमोरियल डे अमेरिकी सेनामा कार्यरतहरुले जीवन आहुति गरेको दिनको रुपमा मनाइन्छ ।
मेमोरियल डेको उपलक्ष्यमा आज अमेरिकी दूतावासमा विदा भए पनि मंगलबार नेपालको गणतन्त्र दिवस परे पनि कार्यालय भने खुला रहने छ । उता, नेपाल सरकारका सरकारी निकायहरु भने मंगलबार विदा हुँदा त्यसले पनि अप्ठेरो पर्ने सम्भावना पनि रहेको छ ।