अफगानिस्तानमा अचानक बाढी, ६८ जनाको मृत्यु
पेन्सिल्भेनिया । अफगानिस्तानमा अचानक आएको बाढीका कारण मृत्यु हुनेको संख्या ६८ पुगेको छ । घोर प्रान्तमा भारी बर्षापछि धेरै ठाउँमा बाढी आउँदा मृतकको संख्या अझैं बढ्ने तालिवान सरकारले जनाएको छ ।
घोर प्रान्तका गभर्नरका प्रवक्ता अब्दुल वाहिद हमासले दर्जनौं व्यक्ति बेपत्ता भएको पुष्टि गरे । शुक्रबारको बाढीले फिरोज कोह लगायतका धेरै ठाउँमा हजारौं घर र सम्पत्तिमा क्षति पुर्याएको छ । खेति योग्य जमिनमा हिलो जम्दा कृषि क्षेत्र पनि नराम्रोसँग प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अफगानिस्तानका चार वटा जिल्लामा सम्पत्ति र जग्गामा क्षति पुगेको छ भने तीन सयभन्दा बढी पशुपंक्षी मरेका छन् । घोर बाढीबाट सबैभन्दा बढी प्रभावित भएको थियो । जहाँ २ हजार ५ सय परिवार प्रभावित भएका थिए । पानीले पश्चिमी फराह, हेरात, दक्षिणी जाबुल र कान्दाहार प्रान्तमा करिब २ हजार घरहरू, तीन मस्जिद र चार विद्यालयहरू पनि ध्वस्त पारेको छ ।
अघिल्लो साता आएको बाढीका कारण अफगानिस्तानमा ३ सय बढीको मृत्यु भएको थियो । लगातारको वर्षाका कारण खेति योग्य जमिन अत्याधिक प्रभावित भएकाले त्यहाँ खाद्य संकट उत्पन्न हुन सक्ने आंकलन गरिएको छ । अफगानिस्तानमा ८० प्रतिशत मानिसहरु कृषिमा निर्भर छन् ।