एपीएफले जित्यो ललितपुर मेयर्स कपको उपाधि
काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर्स कप च्याम्पियन बनेको छ।
त्रिवि क्रिकेट मैदानमा शनिवार सम्पन्न फाइनल खेलमा एपीएफले सुदूरलाई २ रनले पराजित गर्दै लगातार चौथो पटक प्रतियोगिताको उपाधि जितेको हो।
एपीएफले दिएको १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो।
सुदूरका लागि कविता जोशीले ४५ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ६७ रन बनाइन्। लक्ष्मी साउदले ३५ बलमा २ चौकाको सहयोगमा २९ रन बनाइन्। कप्तान बिन्दु रावलले १७ बलमा १९ तथा सम्झना खड्काले ८ बलमा १० रन बनाइन्।
एपीएफका लागि करुणा भण्डारीले २ तथा सुमन विष्टले १ विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५५ रन बनाएको थियो। एपीएफका लागि कप्तान सिता राना मगरले ५५ बलमा ८ चौका सहित सर्वाधिक ७४ रन जोडिन्। अर्की ओपनर राजमती ऐरीले ४६ बलमा ७ चौका प्रहार गर्दै ५० रन बनाइन्।
ममता चौधरी १० रन बनाएर अविजित रहिन्। इन्दु वर्माले ९, रोमा थापाले ६ र सरिता मगरले १ रन बनाइन्।
सुदूरपश्चिमका लागि ऋतु कनोउजिया, विन्दु रावल र राधिका पुजाराले समान १-१ विकेट लिए।
यसअघिको तीनै संस्करण पनि एपीएफले नै जितेको थियो।
एपीएफले राउन्ड रोबिन चरणमा सबै चार खेलमै जित हासिल गरेको थियो। सुदूरपश्चिमले भने एपीएफ विरुद्ध हार बेहोरेपानि अन्य तीन खेल जितेको थियो।