क्यान सचिव खड्काले अमेरिका आएर उठाएको डलर खोई ?

पेन्सिल्भेनिया । आइसीसी टी-२० विश्वकप क्रिकेटमा नेपालले दोस्रो पटक सहभागिता जनाउँदा त्यसको उत्साह देशभित्र मात्रै नभई विदेशमा पनि बढ्दो छ । अझ अमेरिकामा नेपालले टी–२० विश्वकप क्रिकेट खेल्ने भएपछि त्यसका लागि नेपाली समूदाय निकै उत्साहित रहेको छ ।
नेपाली समूदायले राष्ट्रिय क्रिकेट टिमलाई स्वागत गर्न तयार छन् । तर, जुन १ तारिखदेखि वेस्टइन्डिज र अमेरिकामा सुरुहुन लागेको टी २० विश्वकपका लागि नेपालबाट आएका नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काको अमेरिका भ्रमण भने विवादास्पद जस्तो पनि देखिएको छ । उनी नेपाली क्रिकेटलाई सहयोग जुटाउने भन्दै अमेरिका आएर विभिन्न ठाउँमा कार्यक्रम नै आयोजना गरेर नेपाल फर्किएका थिए ।
अहिले पदाधिकारीको भूमिकामा रहेका पारसले ब्यानरमा आफूलाई नै केन्द्रीत गरेर कार्यक्रम आयोजना गरेका थिए । उक्त कार्यक्रममा नेपालीहरुले सक्दो सहयोग पनि गरेका थिए ।
यसैमध्यको नेपाली समाज टेक्ससले केही रकम संकलन गरेर पारसका एजेन्टलाई हस्तान्तरण गरेको बुझिएको छ । समाजका एक सदस्यले आफूहरुले नेपाली क्रिकेटको विकासका लागि ३ हजार डलर हस्तान्तरण गरेको तर अहिलेसम्म क्यानबाट पाए नपाएको जानकारी नै नआएको बताए । न्यु योर्कमा रहेका पारस निकटका एक व्यक्तिलाई हस्तान्तरण गरेको रकमको ‘रिसिभ’ माग्दा आफुले प्रक्रियाका बारेमा बुझ्दै गरेको भन्ने जवाफ आउने गरेको उनको भनाई छ । टेक्सस नेपालीहरुको बाक्लो उपस्थिीति रहेको ठाउँ हो भने टेक्सस समाज अमेरिकामा निकै सक्रिय पनि रहेको छ ।
ती सदस्यले आफूहरु नेपाली क्रिकेटको विकासका लागि सहयोग गर्न तयार भएको बताउँदै होटेल होटेलमा गएर डलर दिन नसक्ने बताए । अहिले पनि नेपाली टिम वेस्टइन्डिजबाट अमेरिका फर्किएपछि यसैगरी पैसा उठाउनका लागि पारस निकटका इभेन्ट कम्पनीहरु लागि रहेको र उनीहरुले फ्लायर सार्वजनिक गरेको बताए ।
विश्वकप क्रिकेट अहिले नेपालले खेल्ने भन्दा पनि केहीले कमाउने भाँडोको रुपमा आफूले बुझेको बताए । अहिले विचौलिया इभेन्ट कम्पनीलाई दिँदा राम्रो म्यासेज नजाने बताउँदै यस विषयमा नेपालका युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग कुरा गरेको पनि बुझिएको छ । मन्त्री श्रेष्ठले यसबारे चासो दिएको बताए ।
पारसले यसअघि जर्सी सार्वजनिक लगायतका कामहरु गर्दै अमेरिकाका विभिन्न ठाउँमा गरेर हजारौं डलर संकलन गरे पनि उक्त रकम अहिलेसम्म नेपाल क्रिकेट संघ क्यानको खातामा गएको छैन ।
यता साथी बाल्टिमोरले मेरील्याण्डमा सङ्कलन गरेको रकम अहिले आफू सँग नै रहेको बताएको छ। साथी बाल्टिमोरका पूर्व अध्यक्ष रमेश भट्टले सङ्कलित रकम संस्था नै रहेको र प्रक्रिया पुर्याएर नै क्यानमा पठाइने बताए। साथी बाल्टिमोरले करिब १२ हजार अमेरिकी डलर सङ्कलन गरेको जनाएको छ।
क्यान सचिव पारस अमेरिका आएको समयमा क्यालिफोर्निया, फ्लोरिडा, मेरील्याण्ड, भर्जिनिया, न्यु योर्क र टेक्ससमा रकम उठाइएको थियो।
यता क्यानका कोषाध्यक्ष पदम खड्काले अमेरिकाबाट पैसा नआएकाे बताए । विश्वकपका बेला अध्यक्ष उतै जाने र नेपाल ल्याउने प्रक्रिया मिलाउने बताए ।