वेस्टइन्डिजको अन्तिम अभ्यास खेलमा नेपाल पराजित
काठमाडौं । वेस्टइन्डिजमा भएको तेस्रो अभ्यास खेलमा नेपाल पराजित भएको छ ।
आइतबार विहान सम्पन्न खेलमा विन्डवार्ड्सले नेपाललाई ६७ रनले पराजित गरेको हो । विन्डवार्ड्सले दिएको २०६ रनको लक्ष्य पछाएको नेपालले १७.२ ओभरमा अल आउट हुदै १३८ रन मात्र बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ५३ रन बनाए भने असिफ सेखले २३ रन बनाएका थिए । यसअघि पहिला ब्याटिंग गर्दै विन्डवार्ड्स भोल्क्यानोजले २० ओभरमा २०५ रन बनाएको थियो ।
यो हारसँगै नेपालले ३ खेलको सिरिज भने २-१ जितेको छ । विश्वकपको तयारीका लागि सेन्ट भिनसेन्ट पुगेको नेपाली टिम अब अमेरिकाको हस्टन फर्किने तालिका रहेको छ । ह्युस्टनमा नेपालले २२ मे सम्म प्रशिक्षण गर्ने भएको छ । त्यसपछि नेपालले अमेरिका र क्यानडासँग विश्वकप अघि अभ्यास खेल खेल्ने भएको छ ।
आइसीसीले सार्बजनिक गरेको तालिका अनुसार नेपालले मे २७ मा अमेरिकाको डालासमा क्यानडाविरुद्ध वार्म अप खेल खेल्ने छ भने मे ३० मा डालासमै अमेरिकाविरुद्ध खेल्ने भएको छ ।