ह्यारिसबर्गमा ‘युवा स्वास्थ्य दिवस’ मनाइदै
ह्यारिसबर्ग,पेन्सिलभेनिया/ एशियन रेफ्युजी युनाइटेड (एआरयु) सहित विभिन्न संस्थाको सहकार्यमा ह्यारिसबर्गमा ‘युवा स्वास्थ्य दिवस’ मनाइने भएको छ।
एआरयु सँगै डाउफीन काउन्टी ड्रग एन्ड हल्कोहल विभाग, भुट्नीज कम्युनीटी ह्यारिसबर्ग (बीसीएच) , ब्राइट ल्यानक्यास्टर, नेपाली क्लब एसोशिसन, युवा एण्ड एक्सन र इन्सफायर्ड टु एक्सफोरको सहकार्यमा कार्यक्रम हुन लागेको हो।
एआरयुका सह-कार्यकारी निर्देशक/सीईओ रविन गुरुङका अनुसार मे ११ तारिख शनिवार बिहान दश देखि दिउसो चार बजे सम्म ह्यारिसबर्गमा (6601 Evelyn St, Harrisburg, PA 17111) विविध कार्यक्रम सहित युवा स्वास्थ्य दिवस मनाइने छ।
सिइयो गुरुङले युवा स्वास्थ दिवसले रमाइला गतिविधि र बहुमूल्य सिकाइको अवसर प्रदान गर्ने विश्वास लिए।
गुरुङका अनुसार सो दिन टेबल टेनिस, क्यारम र ब्याडमिन्टन लगायतका खेलहरू हुने छन्। यसै गरी युवा वर्गको वाक कलाको प्रोत्साहन र विकासका लागि खुला माइक सत्र पनि राखिएको छ।
सो सत्रमा सहभागीले आफूमा रहेको प्रतिभा प्रस्तुत गर्ने छन्। ‘जसलाई जे कुरामा बढी ज्ञान छ त्यो नै प्रस्तुत गर्न हामी प्रोत्साहन गर्छौ, जसले गर्दा उनीहरूको आत्मबल बढोस् र भोलीका दिन ठुला स्टेजहरूमा उनीहरू सहजै प्रस्तुत हुन् सकुन् ।’ खुल्ला माइकको अवधारणाबारेमा समाज टाइम्स सँगको कुराकानीमा गुरुङले भने।
‘हामी सहभागीलाई शारीरिक र मानसिक दुवै तर्फ स्वस्थ राख्ने गरी कार्यक्रम गर्छौ।’ गुरुङले भने,’मुख्य कुरा साथीहरू सँग भेटघाट गराउने, नयाँ व्यक्ति वा समूहमा घुलमिल गराउने, एक अर्कामा बोल्न सिकाउने हाम्रो उद्देश्य हो, समुदायको भविष्यको कर्णदारले आफूलाई एक्लो महशुन नगरोस्।’
‘ज्ञानका कुरा सहज र रोचक रुपमा युवावर्गमा पुर्याउनु पनि हाम्रो कार्यक्रमको उदेश्य हो।’ उनले भने,’मानसिक र शाररिक स्वास्थ सम्वन्धमा जानकारी दिन हाम्रै समुदायका डा. खेम अधिकारी, एक मात्र नेपाली भाषी थेरापी डिपी न्यौपाने हुनुहुन्छ उहाँले पनि जानकारी दिनु हुने छ यस्तै काउन्टीको स्वास्थ विभागका अधिकारीहरुले पनि जानकारी दिने छन्।’
‘मे लाई मानसिक स्वास्थ्य महिनाको रूपमा मनाउने गरिएको छ, हाम्रो समुदायमा पनि मानसिक स्वास्थ्यमा समस्या देखिँदै आएको छ त्यस तर्फ सचेत गराउन पनि हामीले यो कार्यक्रम आयोजना गर्न लागेका हौ।’ उनले भने।
सिइयो गुरुङले युवा वर्गमा सहयोगी भावनाको विकास गराउनु पनि आफूहरूको उद्देश्य रहेको बताए।
उनका अनुसार कार्यक्रममा सहभागी हुन चाहनेहरूले तोकिए अनुसारको फारम भने गर्नु पर्ने छ। ‘हामीले ठुलो हल दिनभरिका लागि लिएका छौ जति जना आए पनि हामी व्यवस्थापन गर्न सक्छौ।’ गुरुङले भने।
कार्यक्रममा सहभागी हुन तपाई इच्छुक हुनुहुन्छ भने यहाँ क्लिक गरेर फारम भर्न सक्नु हुने छ। कार्यक्रममा नेपालीभाषी बाहेकले पनि सहभागि हुने छन्।