अमेरिकामा रहेका नेपाली भाषी भुटानी संगितकर्मीलाई लागेको त्यो ‘पछुतो’

ह्यारिसबर्ग/ नेपाली भाषी भुटानी गायक स्वर्गीय सुभाष क्षेत्रीको स्मृतिमा अमेरिकाको पेन्सिल्भेनिया स्थित ह्यारिसबर्गमा शनिवार श्रद्धाञ्जली सभा आयोजना गरियो ।
स्वर्गीय क्षेत्रीको गत मार्चमा निधन भएको थियो । हाल अमेरिकामा रहेका युफोरिया ब्यान्डका प्रबन्धक रत्न गुरुङको नेतृत्वमा, ब्यान्डका सदस्य साथै शुभ चिन्तकले उक्त शोक सभा आयोजना गरेका हुन्। सभा आयोजनामा अमल थुलुङ, रन राई, विकास थुलुङ, महेश थुलुङ, मनिष चाम्लिङ, राम गुरुङ, देव लामा, राजेश गुरुङ लगायतले सहयोग गरेको युफोरिया ब्यान्डका प्रबन्धक रत्न गुरुङले बताए।
मौन धारण पछि सुरु भएको सभाका सबै वक्ताले स्वर्गीय क्षेत्रीको स्वरको प्रशंसा गरे। कतिपय वक्ता बोल्दा बोल्दै भक्कानिएका थिए। उनीहरूको गला अवरुद्ध भएको थियो । केहीले स्वर्गीय क्षेत्रीकै कारण आफूहरूले साङ्गीतिक क्षेत्रमा प्रवेश गर्ने प्रेरणा पाएका बताए।
कार्यक्रममा ओहायो सिनसिनाटीबाट आएका सङ्गीतकर्मी राम गुरुङले नेपाल स्थित भुटानी शरणार्थी शिविरमा साङ्गीतिक गतिविधिको प्रवेश र युफोरिया ब्यान्डको स्थापनाका बारेमा जानकारी गराएका थिए। गुरुङले स्वर्गीय क्षेत्रीको साङ्गीतिक योगदानका बारेमा पनि चर्चा गरे। उनले पूर्वी नेपालको ७ वटा शरणार्थी शिविरमा व्यक्तिगत, साना साना समूहमा गीत सङ्गीतको प्रारम्भ भएता पनि पहिलो व्यावसायिक ब्यान्ड युफोरिया नै भएको दाबी गरे।
शोक सभाका सबै वक्ताहरूको एउटै विषयमा पछुतो थियो । ‘सुमधुर स्वरका धनी क्षेत्रीको आवाज किन रेकर्ड भएन।’ त्यही कुरामा सबैले थकथकी मानेका थिए।
वक्ताहरूको भनाई मान्ने हो भने क्षेत्री समयले ठगेको एउटा प्रतिभा थिए। नेपाल स्थित भुटानी शरणार्थी शिविरमा साङ्गीतिक गतिविधि चल्दै गर्दा उनीहरूको पुनर्वास भयो । त्यो क्रममा ब्यान्डका सदस्यहरू तितरबितर भए। सबैलाई आ-आफ्नो नौलो परिवेशको जीवनले थप व्यस्त बनायो । तेस्रो मुलुक पुनर्वासपछि जब आफू व्यवस्थित हुँदै गए एकले अर्कोलाई खोज्न थालियो ।
यो क्रममा क्षेत्री सबै भन्दा ढिलो जोडिए। तेस्रो मुलुक पुनर्वासमा नपरेका क्षेत्रीलाई गायन क्षेत्रमा फर्काउन साथी भाइले जमर्को गर्दै थिए तर दुर्भाग्यवश गत मार्चमा उनले अल्पायुमै धर्ती छोडे। शोक सभामा सहभागीहरूले क्षेत्रीको स्वर रेकर्ड गर्न नसिकिए पनि अब उनका कृतिको दस्ताबेज गराउने र जहान परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
सभामा युफोरिया ब्यान्ड साथै स्वर्गीय क्षेत्रीका सदाबहार सिर्जनालाई प्रस्तुत गरिएको थियो ।
युफोरिया ब्यान्डका प्रबन्धक रत्न गुरुङको सभापतित्वमा भएको कार्यक्रम ओहायो सिनसिनाटीबाट आएका देव लामाले सञ्चालन गरेका थिए।
सभामा ह्यारिसबर्गका व्यवसायी विश्व क्षेत्री, ह्यारिसबर्ग निवासी सङ्गीतकर्मी अमल थुलुङ, नर्थ क्यारोलिनाबाट आएका युफोरिया ब्यान्डका गायक डी बी गुरुङले स्वर्गीय क्षेत्रीको जीवन र नेपाली भाषी भुटानी सङ्गीत क्षेत्रमा दिएको योगदानको चर्चा गरेका थिए। स्वर्गीय सुभाष क्षेत्री र डी बी गुरुङ युफरिया ब्यान्डका पहिलो भोकलिस्ट हुन्।
यस्तै पेन्सिल्भेनिया एनभिलका राजन विश्वा, कारलायोका झुलेन बराल, डिस्का प्रमुख प्रशिक्षक रन राई,ओहायो कोलम्बसका अर्जुन रसाइली, एक्रोनका पुष्प गजमेर, बिष्णु रामदाम, अम्बर सुब्बा, सिनसिनाटीका छवि न्यौपाने र किशोर सिवाकोटीले शोक मन्तव्य दिएका थिए ।
कार्यक्रममा सहभागी हुन न्यु योर्कबाट सङ्गीतकर्मी बिर्खराज गुरुङ आइपुगेका थिए।
सभा विसर्जन गर्ने क्रममा कार्यक्रमका सभापति तथा प्रबन्धक रत्न गुरुङले अस्ट्रेलियामा रहेका युफोरिया ब्यान्डका सङ्गीत निर्देशक किरण रसाइली, सदस्य दीपक रसाइली लगायतको योगदानको स्मरण गरेका थिए।
उनले सभा सफल पार्न सहयोग गर्ने सबैलाई धन्यावाद दिँदै स्वर्गीय सुभाष क्षेत्रीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेका थिए।