इजरायल हमास युद्ध सुरु भएको २०० दिन पूरा, गाजामा भोकमरी भयावह बन्दै
काठमाडौं । संयुक्त राष्ट्रसंघले गाजामा भोकमरीको खतरा दिन दिनै बढ्दै गएको बताएको छ । प्यालेस्टाइनको हमास विद्रोही समूहले इजरायलमा आक्रमण गरेपछि जवाफी आक्रमण सुरु भएको थियो ।
इजरायलको जवाफी आक्रमणका कारण अहिलेसम्म गाजामा ३४ हजार बढी प्यालेस्टाइनको मृत्यु भइसकेको छ । २०२३ को अक्टोबर ७ बाट सुरु भएको युद्धको २ सय दिन पूरा हुँदा पनि दुवै पक्षले हार मानेका छैनन् ।
गाजामा इजरायलको लगातारको आक्रमणका कारण लाइफलाइनहरु अबरुद्ध हुँदा संयुक्त राष्ट्र संघले भोकमरीको अवस्था भयावह बन्दै गएको चेतावनी दिएको हो । राष्ट्रसंघले अहिले पनि २३ लाख मानिसहरु दैनिक खानका लागि संघर्ष गरिरहेको बताउँदै यो अवस्था अर्को महिला (मे) देखि झन बढ्ने चेतावनी दिएका हुन । १७ अप्रिलसम्मको तथ्यांक अनुसार गाजाका अस्पतालहरुमा १२ वर्ष मुनिका २८ बालबालिकाको कुपोषणका कारण मृत्यु भएको छ ।
जसमा एक महिनाभन्दा कम उमेरका १२ बालबालिका छन् । इजरायली आक्रमणमा हालसम्म ३४ हजार बढीको मृत्युहुँदा ७७ हजार बढी घाइते भएका छन् । मृत्यु हुनेमा अधिकांश अर्थात् १४ हजार ५०० बालबालिका रहेका छन् ।
गाजामा प्रत्येक घण्टामा ६ बालबालिकासहित १५ जनाको मृत्यु भइरहेको छ । गाजाका बाल रोग विशेषज्ञ डा मोन्ट्रेसर फार्राले गाजाका हरेक घरमा कुपोषणको सिकार भएका बालबालिका रहेको बताए । अक्सफ्यामका अनुसार गाजाका हजारौं मानिस दैनिक औसत २४५ क्यालोरीमा बाँचिरहेका छन् । तर, एक वयस्क व्यक्तिलाई दैनिक १६०० देखि ३,००० क्यालोरी चाहिन्छ ।