ग्रेटर अस्टिन नेपाली समाजको विवाद मिल्यो,कार्यसमिति निर्विरोध

नारायण भण्डारी
हुट्टो,टेक्सस/ ग्रेटर अस्टिन नेपाली समाजमा चुनावका विषयलाई लिएर उत्पन्न विवाद मिलेको जनाइएको छ। विवाद मिलेसँगै विदुर खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ। यो सँगै पाँचौँ अधिवेशन अन्तर्गत आज (आइतबार अप्रिल २१ तारिख) का लागि तय भएको निर्वाचनका सबै कार्यक्रम स्थगन गरिएको सूचना जारी गरिएको छ।
संस्थापन इतरको एउटा समूहले निर्वाचनको प्रक्रियामा असहमति जनाउँदै आएको थियो। मुख्य रूपमा निर्वाचन समिति गठन नै विधान विपरीत भएको भन्दै त्यो समूहले दबाब दिँदै आएको थियो। ग्रेटर अस्टिनमा रहेको नेपाली समाज दुई ध्रुवमा विभाजित हुनबाट रोक्न शनिवार दुवै पक्ष सहमतिमा पुगेका हुन्।
गए राती संस्थाको फेसबुक पेजमा राखिएको सूचना अनुसार केही उम्मेदवारले निवेदन फिर्ता लिएकोले सबै पदहरूमा निर्विरोध भएको हो। ‘सबै पदहरूमा सर्वसम्मत सहमति जुटेकोले २१ गते हुने निर्वाचनको उपादेयता सकिएकोले निर्वाचनको कार्यक्रम स्थगित गरिएको छ ।’ सूचनामा भनिएको छ।
सामुदायिक संस्थामा नेतृत्व छनौट गर्दा प्रजातान्त्रिक पद्धतिबाट चुनाव गराइनु राम्रो हो त्यस बाहेक सर्वसम्मतिको विधिबाट छनौट गर्नु सर्वोत्तम विधि हो । संस्थामा चुनावी सरगर्मी बढेपछि उत्पन्न विवाद र विभाजनले पशुपतिनाथको मन्दिरमा गरिनु पर्ने थप संरचना निर्माणमा समस्या हुने सङ्केतहरू देखिएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका थिए। तर अव सर्वसम्मत नेतृत्व छनौटले समाजमा शुभ सङ्केत दिएको भन्दै खुसी व्यक्त गरिएको छ।
हिजोका दिनमा नमिलेका र विधि सम्मत नभएका जति पनि विषय छन् अबका दिनमा ती कुराहरूलाई सुधार गरेर अघि वढने सहमति गरिएको जनाइको छ।
तर केहीले पछिल्लो रस्साकस्सीलाई नाटकको संज्ञा पनि दिएका छन्। उनीहरूले पदको लागि देखिएको लामो रस्साकस्सी र निर्वाचनको अघिल्लो दिन भएको मेलमिलाप प्रति मतदाता सदस्यहरूले व्यङ्ग्य गर्दै नाटक मञ्चनको संज्ञा दिएका छन् । संस्थाको भविष्यको लागि सर्वसम्मत नेतृत्व छनौट र यसका लागि भएका प्रयासलाई सन्देश मूलक सकारात्मक उपलब्धिको रूपमा हेरिनु पर्ने आम मतदाताको भनाई रहेको छ ।
सर्व सम्मतिको प्रयास पछि कार्यसमितिको चयन यसरी गरिएको छ । जस अन्तर्गत अध्यक्षमा विदुर खतिवडा निर्विरोध निर्वाचित भएका छन्।
यस्तै उपाध्यक्षमा निरोज मानन्धर र अशोक शाही, महासचिवमा विनोद दाहाल चयन भएका छन्।
सचिवमा प्रदीप चौलागाई,कोषाध्यक्षमा धिरेन्द्र कुमार यादव रहेका छन् । त्यसैगरि सदस्यहरूमा तिलक भण्डारी,नारायण रिजाल,रमेश बहादुर खड्का,बिर्ख बहादुर खत्री, मिथिलेश यादव,टिका माया गुरुङ ,आनन्द यादव,रेशम बहादुर गुरुङ,जगदीश पाठक,सुरज पोख्रेल,सुजन अधिकारी,इन्दिरा दाहाल,सपना रावत,धर्मेंद्र यादव,सूर्य कार्की रहेका छन् ।
ग्रेटर अस्टिन नेपाली समाजको कार्य समिति चयनलाई निर्विरोध गराउन गरिएको प्रयास र उपलब्धिलाई सन्देश मूलक मान्नु पर्ने आम धारणा रहेको छ ।
ग्रेटर अस्टिन नेपाली समाजको पछिल्लो प्रयासले सर्वसम्मत कार्य समिति चयन गर्न सकेकोमा खुसी व्यक्त गर्दै न्यु योर्कबाट सामाजिक अभियन्ता प्रभात सापकोटाले मोबाइल फोनबाट संक्षिप्त प्रतिक्रिया दिए। उनले अमेरिकामा नेपाली समाजद्वारा सञ्चालित संघ संस्थाहरू प्रशस्तै रहेका र संस्थाका विकास र प्रगतिका लागि सबै संस्थाहरू प्रचलित सबै विधि विधान पुरा गरेर सञ्चालन गरिनु पर्नेमा जोड दिए ।