पीए गुठीले सुरु गर्यो नेपाली भाषा कक्षा

पेन्सिल्भेनिया/ पेन्सिल्भेनिया नेपाली गुठीले नयाँ वर्ष २०८१ को अवसर पारेर नेपाली भाषा कक्षा सुरु गरेको छ।
गत आइतबार देखि गुठीले आफ्नै भवनमा (1000 germantown pike plymouth meeting pa) नेपाली भाषा कक्षा सुरु गरेको हो।
‘हामीले नेपाली भाषा, संस्कृति र संस्कारको संरक्षणका लागि गुठी स्थापना गरेका हौ, संस्कृति जोगाउन भाषा जोगाउनु पर्छ भनेर नयाँ वर्ष सँगै हामीले भाषा कक्षा सुरु गरेका हौ।’ गुठीका अध्यक्ष विमल मोक्तानले समाज टाइम्स सँग भने।
गुठीले भाषा कक्षाकै लागि पाँच सदस्यीय समिति समेत गठन गरेको छ। समितिमा डा.युवराज कडरिया, प्रोफेसर भेषराज मैनाली, गुठीका उपाध्यक्ष दीपक सापकोटा, कोषाध्यक्ष बलराम श्रेष्ठ र सचिव सुभाष बैठा रहेका छन्।
कोषाध्यक्ष श्रेष्ठका अनुसार भाषा कक्षामा पहिलो दिन नै २२ जना उपस्थित रहेका थिए। ‘हामीले सोचेको भन्दा धेरै हो यो सङ्ख्या’ श्रेष्ठले भने,’ सङ्ख्या अझ बढ्छ।’
अध्यक्ष मोक्तानका अनुसार भाषा कक्षा निःशुल्क हो। डा. कडरिया र प्रोफेसर मैनालीले अहिले बालबालिकालाई भाषा सिकाउने छन्।
कक्षा हरेक आइतबार बिहान १० देखि १२ बजे सम्म सञ्चालन हुने छ।
‘हामीले बालबालिकालाई मात्र होइन अब उनीहरूका अभिभावकका लागि पनि कार्यक्रम ल्याउँदै छौ।’ अध्यक्ष मोक्तानले भने,’ बालबालिका सँगै आएका अभिभावकलाई यो दुई घण्टाको समयमा केही न केही रूपमा व्यस्त राख्नु पर्छ भन्ने छ।’
मोक्तानले योग, ध्यान, अंग्रेजी प्रौढ शिक्षाका बारेमा छलफल भइरहेको बताए।