टेक्सस नेपाली मेडिकल एसोसिएसनले गर्यो ‘गाला डिनर’
डालस, टेक्सस। टेक्सस नेपाली मेडिकल एसोसिएसन (टीएनएमए) को गाला डिनर शनिवार साँझ सम्पन्न भएको छ। ग्रेपभाइन स्थित एम्बेसी सुइट्समा उक्त कार्यक्रम सम्पन्न भएको हो। अपराह्न साढे पाँच बजे देखि १२ बजे सम्म विभिन्न कार्यक्रम सहित गाला डिनर सम्पन्न भयो। “हेप्पी आओर” अपराह्न साढे पाँच सुरु भएको थियो भने समापन १२ बजे भएको थियो।
यो दिनलाई “फन एन्ड फेलोसिप”को नाम दिइएको थियो। नेपाली समुदायको सेवाको लागि स्थापित हिमालय हेल्थ क्लिनिकको सञ्चालन गर्न आवश्यक रकम सङ्कलन गर्न केही समय देखि चन्दा अभियान चलाइएको थियो। सोही अवधिमा चन्दा दिएका व्यक्तिहरूलाई सम्मान स्वरूप रमाइलो कार्यक्रम आयोजना गरिएको आयोजकहरूले जानकारी गराएका छन्। साथै अन्य सहयोगी हातहरूको खोजी पनि यसको उद्देश्य थियो।
कार्यक्रमलाई ४ भागमा विभाजित गरिएको थियो। पहिलो “हेप्पी आओर” थियो जसमा सामान्य खानपिन सहित भलाकुसारी र अनौपचारिक चिनजानको वातावरण मिलाइएको थियो। दोस्रो भागमा हिमालय हेल्थ क्लिनिकको उद्देश्य, गतिविधि, योजनाहरू प्रस्तुत गरिएको थियो। प्रायोजक, स्वयंसेवक एवम् विशेष व्यक्तित्वहरूलाई सम्मानको कार्यक्रम सम्पन्न गरिएको थियो।नर्सहरूले पुराएको योगदानको कदर गर्दै नर्स कमला अधिकारीलाई सम्मान गरिएको थियो। यसको बिचमा भगवान् शिवको “ताण्डव नृत्य” रायन श्रेष्ठले प्रस्तुत गरेका थिए। तेस्रो भागमा डिनरको व्यवस्था गरिएको थियो।
चौथो भागमा मनोरञ्जनको कार्यक्रम थियो। नलिना चित्रकार, विजय अधिकारी र दिपेश किशोर भट्टराईले आफ्नो प्रस्तुतिले मुग्ध बनाएका थिए। डिनरको व्यवस्था पछि पातलिँदै गएको दर्शकहरूको उपस्थितिका बाबजुद कलाकारहरूले निकै उत्साहपूर्वक सबैलाई नचाउन सफल भएका थिए। त्यसपछि डिजे शुशांतले दर्शकहरूलाई नचाएका थिए।समग्रमा कार्यक्रम निकै सभ्य रूपमा सम्पन्न भएको थियो। समयको निकै ख्याल गरिएको थियो।
कार्यक्रमको भाषा अंग्रेजी बनाइएको थियो भने सुरुमा अमेरिकाको र त्यसपछि नेपालको राष्ट्रिय गान बजाइएको थियो। कार्यक्रममा प्रमुख वक्ताका रूपमा नर्थ क्यारोलिनाबाट आएका डाक्टर रसु श्रेष्ठ थिए। उनले एआई ले मेडिकल दुनियाँमा ल्याउन सक्ने हलचल र त्यसलाई कसरी मेडिकल क्षेत्र र आम जनताले ग्रहण गरेर सकारात्मक फाइदा लिन सक्छन् भन्ने बारेमा प्रकाश पारे।
टीएनएमए अध्यक्ष सञ्जीव श्रेष्ठले संस्था स्थापना, हेल्थ क्लिनिक स्थापना देखि वर्तमानसम्म योगदान पुर्याउने व्यक्तिहरूलाई धन्यवाद दिँदै सम्मान पत्र समेत प्रदान गर्नु भएको थियो। कार्यक्रममा संस्थाकी उपाध्यक्ष शर्मिला श्रेष्ठ, कार्यालय प्रमुख लिला श्रेष्ठ, क्लिनिक डाइरेक्टर राज श्रेष्ठ, रोजी राजभण्डारी, नेपाली मन्दिर बोर्ड अफ ट्रस्टीका उपाध्यक्ष प्रेम अधिकारी, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले एवम् संस्थाकी महासचिव डाक्टर पूजा सैंजुले आफ्ना आफ्ना विषयगत मन्तव्य दिएका थिए।
कोशाध्यक्ष डाक्टर दिपेश बिस्टले संस्थाको आर्थिक व्यवस्थापन र चन्दादाताहरूको सजिलोका लागि “सगरमाथा” चढ्ने खुड्किलाहरू बारे प्रकाश पारे। त्यस्तै प्रमेश श्रेष्ठले तयार गरेको कम्प्यासन पत्रिकाको अनावरण गरिएको थियो।
स्मरण रहोस् विगत १० महिना देखि सञ्चालित हिमालय हेल्थ क्लिनिकबाट अहिले सम्म प्रत्यक्ष रूपमा करिब एक हजार जनाले सेवा सुविधा लिइसकेका छन् भने यसको बिस्तारको लागि सामुदायिक भूमिका र सक्रियता संस्थाले खोजिरहेको छ। क्लिकबाट सामान्य स्वास्थ्य सेवा, डेन्टल सेवा र प्रेसक्रिप्सन सेवा प्रदान हुँदै आएको छ। स्वयंसेवीको योगदान बाहेक महिनामा दुई पटक क्लिनिक सञ्चालन गर्दा पनि करिब ५ हजार डलर खर्च हुने गरेको छ।