भाषा र संस्कृतिका जिज्ञाषुका लागि पठनीय पुस्तक
सुरेश सुवेदी
‘भाषा के हो ? भाषा किन बन्यो र भाषा कसरी बन्यो ?’ भन्ने जिज्ञासाको व्याख्या र विवेचनामा बनेको पुस्तक हो, ‘भाषा भगवान हुन् भगवान भाषा हुन्’ ।
लेखक तथा भाषा बचाउ अभियानका अभियान्ता डा बलदेव अधिकारी गाउँलेद्वारा लिखित यस पुस्तकमा सृष्टि-विज्ञान, मनोविज्ञान, राजनीति-विज्ञान, अध्यात्म-विज्ञान प्रभृतिका यावत् ज्ञान-विज्ञान र दर्शनको आश्चर्यजनक सम्वन्ध भाषा-विज्ञानको कोणबाट देखाएका छन् ।
नेपाली अखबारी लेखनमात्र नभई साहित्य र व्याकरणमा पनि अभ्यस्त लेखक गाउँलेले यस पुस्तकका सवालामा ‘भाषा-विज्ञानको मुहानमा भेटिएका अमूल्य हीरारत्न’ भनी लेखेका छन् ।
पुस्तकको विषय-सूची र निष्कर्षले पाठकलाई तान्ने छ र पौराणिक पात्रहरुको रोचक प्रसंगसँगै बिषयको गहिराइतर्फ लैजाने छ । वैधिक भाषाशैलीमै जान्न खोज्नेका लागि लेखकले सुविधा दिएका छन् । कतिपय सन्दर्भमा स्पष्टीकरण दिइरहनुपर्ने बाध्यतामा परेको छु गाउँलेले पुस्तकका बारेमा उल्लेख गरेका छन् ।
प्रसिद्ध विज्ञान पत्रिका ‘डिस्कभर, नोभेम्बर, २०११’ मा प्रकाशित विश्व-विख्यात भाषा-वैज्ञानिक अभ्राम नोम चोम्स्की (Avram Noam Chomsky) को अन्तर्वार्तालाई आधार बिन्दु मानिएको भनिए पनि पुस्तक पूर्वेली भाषा संस्कृति र दर्शनमा केन्द्रित देखिन्छ ।
यो पुस्तकमा लेखिएको बिषय बस्तुले नेपालीलाई आफ्नो भाषा मात्र होइन समग्र संस्कृति र सभ्यता प्रति नै उच्च सम्मानको भावना पैदा गर्ने अपेक्षा गर्न सकिन्छ ।