छानविन प्रतिवेदन मान्दैन भन्नु खेद जनक : आरके शर्मा
पेन्सिल्भेनिया । गैर आवासीय नेपाली संघ एनआरएनएको शर्मा समूहका अध्यक्ष राजेन्द्र कुमार (आरके) शर्माले सरकारले गठन गरेको छानविन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गरेर कार्यान्व्यनमा अघि बढ्न आग्रह गरेका छन् ।
एनआरएनएको ११ औं महाधिवेशनका बेला डा. बद्री केसी समूहले धाँधली गरेको भन्दै समानान्तर समिति गठन गरेका शर्माले सरकारले बनाएको छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे ।
महान्यायाधीवक्ताको कार्यालयका सहन्यायाधीवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा गठन भएको समितिले नेपाल सरकारलाई प्रतिवेदन बुझाइ सकेको छ । प्रतिवेदनको निष्कर्ष खण्डमात्रै सार्वजनिक हुँदा निर्वाचन प्रक्रियामै त्रुटि देखिएको उल्लेख छ । सोही कुरालाई आधार मान्दै शर्माले प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् ।
संस्थालाई एक बनाउनका लागि प्रतिवेदन कार्यान्वयन गर्न जरुरी रहेको पनि उनले समाज टाइम्ससँग बताए । प्रतिवेदन अहिले परराष्ट्र मन्त्रालयहुँदै प्रधानमन्त्री कार्यालयमा पुगेको छ । प्रतिवेदनको केही अंश सार्वजनिक भएपछि केसी समूहका अध्यक्ष डा. वद्री केसीले छानविन समितिको प्रतिवेदन एकतर्फीरुपमा आएको प्रतिक्रिया दिएका थिए ।
त्यसप्रति टिप्पणी गर्दै अर्को समूहका अध्यक्ष शर्माले सरकारी निकायले गरेको छानविनलाई मान्दै भन्ने आशय व्यक्त गर्नु नै खेद जनक रहेको उल्लेख गरे । उनले सरकारी संयन्त्रबाट भएको छानविन पछि सबै कुराहरु हुने अनि एनआरएनको एउटा समूहलाई मात्रै लागू नहुने त होइन होला भन्दै प्रश्न पनि गरेका छन् ।
उनले सीबीआइको रिपोर्टले बाँसवारी छालाजुत्ता उद्योगको जग्गा फिर्ता आउने, ललिता निवासको जग्गा सरकारी करण हुने अनि एनआरएनएको विषयमा आएको छानविन रिपोर्ट नै नमान्ने कुरा सबै दृष्टिले खेद जनक रहेको उल्लेख गरे । अब प्रतिवेदन कार्यान्वयन गरेर एनआरएनए एक हुने बेला आएको बताउँदै विनोद कुँवर सहितको एकता महाधिवेशन गर्नु पर्नेमा जोड पनि दिए । अहिले कर्मथलो कतारमा रहेका शर्माले नेपाल फर्किएर राजनीतिक तहमा छलफल अघि बढाउने बताउँदै प्रधानमन्त्री र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने पनि जानकारी दिए ।