अमेरिकामा मेयर चिरीबाबु महर्जनले भने ‘म काम गर्ने मान्छे हो मिडियाबाजी होइन’
न्यु योर्क/ अमेरिका भ्रमणमा रहेका ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले आफू मिडियाबाजी भन्दा पनि काम गर्ने रुचाउने स्वभावको भएको बताएका छन्।
गिरिजा प्रसाद (जिपी) कोइराला फाउन्डेसन अमेरिकाले आफ्नो स्वागतका लागि सोमवार आयोजना गरेको कार्यक्रममा मेयर महर्जनले नेपाल सिङ्गै म्युजियम भएको पनि बताए ।
न्यु योर्कको क्विन स्थित ज्याक्सन हाइटमा रहेको फाउन्डेसनको कार्यालयमा आयोजित कार्यक्रममा मेयर महर्जनले नेपाल सिङ्गै एउटा म्युजियम रुपी सम्पदाको देश भएको र ललितपुर महानगर त्यसको महत्त्वपूर्ण हिस्सा भएको बताए।
उनले पाटन दरबारस्क्वायर ,मंगलबजार,लगनखेल,पुलचोक,जावलाखेल लगायतका स्थानमा रहेका सयौँ धार्मिक एवं पुरातात्त्विक सम्पदाहरू भूकम्पपछि आफ्नै नेतृत्वमा पुनर्निर्माण गरी अत्याधुनिक एवं पुरातात्त्विक शैलीमा फर्काइएकोमा गर्व लागेको बताए।
उनले आफू कम बोल्ने र निरन्तर नगरको हितमा कर्म गर्ने गरेको दाबी गरे। मेयर महर्जनले आफ्नो कामको बारेमा कुनै मिडियाबाजी गर्ने नगरेको पनि बताए। मेयर महर्जनले एक पटक आफ्नो सहर घुम्न आउन पनि आग्रह गरे।
महर्जन विश्वबैंकले आयोजना गरेको मेयरहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आएका हुन। विश्वभरका उत्कृष्ट मेयरहरूको सम्मेलनमा नेपालबाट भाग लिने महर्जन एक्लो हुन्। सम्मेलन वासिङ्टन डिसीमा हुँदै छ।
आफ्नो प्रिय नेता गिरिजाबाबुको नाममा स्थापित फाउन्डेसनले अमेरिकामा गरेका सामाजिक कामको प्रशंसा गर्दै मेयर महर्जनले आफूलाई कामको मूल्याङ्कन गर्दै जनताले पटक पटक अवसर दिएको प्रस्टाए।
उनले ललितपुर महानगरका जनताले आफूलाई दोहोर्याएर मेयर पदमा अत्यधिक बहुमतले जिताएको स्मरण गरे।
आफूले पंचायतकाल हुँदै बहुदलीय व्यवस्था र वर्तमान गणतान्त्रिक कालखण्डसम्म आई पुग्दा ३ पटक वडाध्यक्ष र २ पटक मेयरको कार्यभार सम्हाल्दै ललितपुरका जनजनको चासो र नासोलाई आफ्नै ठानी नगरभित्रका तमाम काम गरेको बताए।
मेयर महर्जनले सामाजिक,सांस्कृतिक,धार्मिक,आर्थिक,वातावरणीय र राजनैतिक सन्तुलन कायम गरी जनचाहना अनुसारका विकास निर्माणमा विना भेदभाव अहोरात्र खटिइरहेको बताए।
यस अगाडि महर्जनलाई फाउन्डेसनको कार्यालयमा अध्यक्ष सोमनाथ घिमिरे लगायतका पदाधिकारीले स्वागत गरेका थिए। सो अवसरमा फाउन्डेसनका उपाध्यक्ष सुवर्ण लामा, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी, कार्यसमिति सदस्यहरू सूर्य सिम्खडा र ध्रुव कुँवर क्षेत्री लगायत को उपस्थिति रहेको थियो।
अध्यक्ष घिमिरेले कर्मशील एवं नेपालकै नमुना नगरपालिकाको मेयरलाई स्वागत गर्न पाउँदा अत्यन्त प्रसन्नता व्यक्त गरे। घिमिरेले फाउन्डेसनका सामाजिक गतिविधिहरू बारे मेयर महर्जनलाई जानकारी गराएका थिए। उनले ललितपुर महानगरले कुशल व्यवस्थापक पाएको र साँच्चीकै गर्व गर्न लायक ललितपुर महानगर बनाएकोमा मेयर महर्जनलाई बधाई दिए।
कार्यक्रममा पूर्व सांसद बिजुल विश्वकर्मा, फाउन्डेसनका प्रवक्ता रामचन्द्र अधिकारी, हामी नेपाली ग्लोबल अमेरिकाका अध्यक्ष शोभाकान्त पाण्डे, जिपी फाउन्डेसनका कार्यसमिति सदस्य सूर्य सिम्खडा,नेपाल प्रहरीका पूर्व एसएसपी दानबहादुर मल्ल लगायतले नेपालको विकास निर्माण र समसामयिक विषयमा मेयर सँग चासो राखेका थिए।
गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिका न्यु योर्क च्याप्टरका अध्यक्ष हेमन्त मल्ल,कवियत्री एवं साहित्यकार ज्योति पौडेल,संयुक्त राष्ट्र सङ्घका पूर्व प्रशासक बद्री पौडेल, जीपीके फाउन्डेसन अमेरिका का संस्थापक सदस्य एवं सल्लाहकार आदित्य महर्जन, विश्व नेवा अर्गनाईजेसनका उपाध्यक्ष समीर महर्जन, स्थानीय समाजसेवी कृष्णामाया महर्जन, सन्दीप नापित, पूर्ण बहादुर तामाङ, खेम बिमली लगायतकोो उपस्थिति रहेको थियो।