अमेरिकाको पशुपतिनाथ मन्दिर परिसरमा होली मेला
नारायण भण्डारी
हुट्टो, टेक्सस / होलीले रंग्यायो मेरो नयाँ चोली
इन्द्रेणी रङ्ग लिई आयो होली ….
रङ्ग रमाइलो कसलाई मन पर्दैन र । उमेर समूह अनुसार मानिसमा रमाइलो गर्ने तरिका फरक होलान् तर सबैले चाहेको रमाइलो नै हो ।हाम्रा चाडपर्व र संस्कृतिले हाम्रो समाजलाई बलियो सँग बाँध्दै बेला बेला मन खोलेर रमाउने अवसर जुराई दिएको छ ।
यस क्रममा अमेरिकाको टेक्सस राज्यको ग्रेटर अस्टिन क्षेत्रमा बस्ने नेपाली समुदायले यो वर्षको होली पनि विगतका होली झैँ हर्ष उल्लास एक अर्को सँग साटेर मनाए ।
कार्यक्रममा होली पर्वका विभिन्न गीत सङ्गीत बजाइएको थियो । गीत सङ्गीत र रङ्गको साटासाटले पशुपतिनाथ मन्दिर परिसर खुसी र उल्लासमय भयो।
‘रङ्ग लेके खेलते, गुलाल लेके खेलते
राधा सँग होली नन्दलाल खेलते बोलो सररर, सररर’
बोलको गीत माइकमा बज्न सुरु गरेपछि जोसिला युवा युवतीको नाचले मन्दिर परिसर नृत्यमय देखियो । भिडमा पस्न मन नपराउनेहरू पनि उभिएकै ठाउँमा कम्मर मर्काउन थाले ।
अनुहार र सरिरमा थरी थरिका रङ्ग पोतिएकाहरू मन खोलेर एक अर्कालाई खुसी साट्दै रङ्ग दलिरहेका देखिन्थे ।
होली पर्वको अवसर पारेर ग्रेटर अस्टिन नेपाली समाजले आयोजना गरेको होली विशेष मेला आज मार्च २३ गते शनिवार हुट्टोमा नवनिर्मित पशुपतिनाथ मन्दिरको आँगनमा गीत सङ्गीत र नाचगान कार्यक्रम सहित धूमधाम रमाइलो गरेर मनाइयो ।
ग्रेटर अस्टिन नेपाली समाजको आयोजनामा विगत केही वर्ष देखि यहाँ नियमित होली पर्व मनाउने गरिएको छ । रङ्गहरूको पर्व होली मनाउन ग्रेटर अस्टिन क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको व्यापक उपस्थिति रहने गरेकोले यसलाई यहाँ मेलाको रूपमा लिने गरिएको छ ।
मेलामा विभिन्न परिकारका खाना बिक्री गर्ने स्टलहरू पनि राखिएका थिए । आज दिउसो ३ बजे देखि सुरु भएको होली कार्यक्रम साँझ आठ बजे समापन गरिएको थियो। कार्यक्रम होलीका दहन गरिए पछि स्थगित गरिएको थियो ।
ग्रेटर अस्टिन नेपाली समाजले यसरी नेपाली पर्व र संस्कृतिको संरक्षण गर्न निकै प्रभावकारी भूमिका खेलेको छ ।
र यो पनि…