जीपी फाउन्डेसनले अमेरिकामा मनायो नारी दिवस
न्यु योर्क / गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले (जीपी) एक सय १४ औँ अन्तर्राष्ट्रिय नारी दिवस एवं आफ्नो चौथो स्थापना दिवस क्विन्समा मार्च आठ तारिख विशेष समारोह बिच एक साथ मनाएको छ।
न्यु योर्कका एसेम्ब्लीमेन स्टेभेन रागाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा न्यु योर्क राज्यका सिनेटर जोन लु सम्मानित अतिथि रहेका थिए। कार्यक्रममा समाजमा उत्कृष्ट योगदान गरेका नारीहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो।
कार्यक्रममा संयुक्त राष्ट्र सङ्घका विशिष्ट प्रतिनिधि लगायत अमेरिकास्थित विभिन्न २० राष्ट्रका महिला नेतृ एवं सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो।
नेपालका विभिन्न सामाजिक एवं सांस्कृतिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेका व्यक्तिलाई विशेष सम्मान एवं पुरस्कृत गरिएको थियो।
कार्यक्रममा पञ्चकन्या,नेपाली लोक एवं सांस्कृतिक नृत्यका साथै, चिनियाँ साँकृतिक कार्यक्रम, भारतीय पन्जाबी नृत्य, बङ्गलादेशी नृत्य, थाईल्याण्को कलात्मक नृत्य, अजरबैजानी र फालिपिनो कलात्मक नृत्य प्रस्तुत गरिएको थियो।
कार्यक्रममा सम्बोधन गर्दै न्यु योर्क सिनेटर जोन लुले नेपाल र नेपाली समुदायको उच्च सम्मान गर्दै जीपी कोइराला फाउन्डेसनले गरेको सामाजिक कामको आफूहरूले उच्च मूल्याङ्कन गरेको र आगामी दिनहरूमा अझै सशक्त ढङ्गले समाजसेवा गर्नेमा आफू विश्वस्त रहेको बताए।
अन्य वक्ताहरूले पनि नारी दिवसको महत्त्व र फाउन्डेसनका गतिविधिहरूको प्रशंसा गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा आफू उपस्थित हुन नसकेकोमा क्षमा माग्दै वासिङ्टन स्थित अमेरिकी सिनेटका डेमोक्रेटिक दलका नेता चक सुमरले फाउन्डेसन परिवारको सामाजिक कार्यको उच्च मूल्याङ्कन गर्दै विशेष सम्मान पत्र उनको सचिवालय मार्फत हस्तान्तरण गरिएको थियो।
न्यु योर्क राज्य गभर्नर क्याथी होचुल, न्यु योर्क राज्य कम्पट्रोलर थोमस डी नापोली, न्यु योर्क मेयर कार्यालय, न्यु योर्क शहर सार्वजनिक अधिवक्ता जुमाने विलियम्स, न्यु योर्क शहर कम्पट्रोलर ब्राड ल्यान्डर, कांग्रेसमेम्बर ग्रेस मेगं, न्यु योर्क राज्य ऐसेम्ब्ली मेम्बरहरू क्रमशः स्टीभन रागा, केटालीना क्रुज, जेसिका गोन्जालेज रोहास लगायत विभिन्न निर्वाचित अधिकारीहरूले आफ्ना तर्फबाट फाउन्डेसनको सामाजिक कार्यको उच्च मूल्याङ्कन गरेका थिए।
पूजा कुँवर र सोफिया मोक्तानले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रममा फाउन्डेसनका तर्फबाट महासचिव छिरिङ राप्के लामाले स्वागत मन्तव्य गरेका थिए। फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरे आमन्त्रित अतिथिगणको स्वागत एवं मन्तव्यदाताको आमन्त्रणमा सहजता प्रदान गरेका थिए।
कार्यक्रम सफल पार्न उपाध्यक्ष सुवर्ण लामा, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी, कार्यसमिति सदस्यहरू क्रमशः सूर्य सिम्खडा, ध्रुव कुँवर क्षेत्री, प्रेम अधिकारी क्षेत्री, भावना सिंमखडा र रेखा श्रेष्ठ लगायतले सहयोग गरेका थिए।