कालु सिंह स्मृति च्याम्पियनसिपको आयोजना अब संस्थागत रूपमा, जोडियो एआरयु
ह्यारिसबर्ग / भुटानी फुटबलका चर्चित हस्ति लेफ्टिनेन्ट कालु सिंह तामाङको स्मृतिमा हुँदै आएको भेट्रान प्रतियोगिता अब संस्थागत रूपमा आयोजना हुने भएको छ।
परिवार र साथीभाइको व्यक्तिगत सहयोगमा हुँदै आएको प्रतियोगिताले आठौँ संस्करण छुँदा संस्थागत आयोजक पाएको हो। प्रतियोगितामा अब एशियन रिफ्युजी युनाइटेड (एआरयु) जोडिएको छ।
एआरयुका सह-कार्यकारी निर्देशक तथा सीईओ रबिन गुरुङले ह्यारिसबर्ग स्थित यूथ सेन्टरमा शुक्रवार आयोजित पत्रकार सम्मेलन सो घोषणा गरेका हुन्।
‘यस वर्ष देखि कालु सिंह मेमोरियल च्याम्पियनसिप एशियन रिफ्युजी युनाइटेडले आधिकारिक रूपमा आयोजना गर्ने भएको छ, हामी हर्षित छौ, आउने दिनहरूमा यस अभियानलाई कसरी सफल गर्न सक्छौ त्यो अभियानमा संलग्न भइदिन हुनु सबैलाई आह्वान गर्दछु।’ पत्रकार सम्मेलनमा गुरुङले भने।
उनका अनुसार यस पटकको च्याम्पियनसिप जुनको २२ र २३ तारिख ह्यारिषबर्गको लिङ्गल पार्क (1100 Pleasant Dr, Harrisburg, PA 17111) हुने छ।
च्याम्पियनसिप आयोजक कमिटीका सदस्य बृख गुरुङका अनुसार कालु सिंह तामाङ भुटानको ड्रुक ११ बाट खेल्ने कुशल नेपाली भाषी खेलाडी हुन्। ड्रुक ११ नै पछि भुटानको राष्ट्रिय टिममा रूपान्तरण भएको हो।
भुटानको साम्जी जिल्लाको सिप्सुमा १९९५ मा जन्मिएका कालु सिंह भुटान रोयल आर्मीमा भर्ती भए पछि फुटबलमा झन् सक्रिय भएका हुन्।
भुटानलाई प्रतिनिधित्व गर्दै कालु सिंहले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए। यो क्रममा उनीले नेपालमा पनि खेले । पछि भुटानमा आन्दोलन चर्किए पछि अन्य नेपाली भाषी सँगै कालु सिंह पनि खेदिए र झापाको बेलडाँगी शिविरमा बसेका थिए।
‘हामी जति पनि भुटानबाट निस्किएका साथीहरूले धेरैले उहाँ सँग क्याम्पमा फुटबल सिक्न पायौ,’ पत्रकार सम्मेलनमा गुरुङले भने, ‘हामी त्यसमा धेरै नै धन्य छौ।’
गुरुङका अनुसार कालु सिंहको ४४ वर्षको उमेरमा सन् १९९८ मा नेपालमा निधन भएको थियो। जुन समय कालु सिंह भर्खर मात्र दार्जिलिङमा भएको प्रतियोगिता खेलेर फर्किएका थिए।
त्यस पछि झापामा नै कालु सिंहको स्मृतिमा एक पटक प्रतियोगिता भएको थियो। शिविरमा रहेकाहरू अमेरिका आए पछि सन् २०१७ देखि यो प्रतियोगिता पुन सुरु भएको हो। अमेरिकामा पहिलो संस्करण नर्थ क्यारोलाइना भएको थियो। दोस्रो संस्करण ओहायोको एक्रोनमा भएकोमा त्यस पछिका सबै संस्करण ह्यारिसबर्षमा हुँदै आएका छन्।
‘हामीले जुन प्रकारले खेलाइ रहेका थियौ, अलिकति फरक शैलीमा थियो, अब एआरयुलाई हस्तान्तरण गरेका छौ, हामी धेरै खुसी छौ अब व्यवस्थित रूपमा प्रतियोगिता हुने भएकोले। ‘ पत्रकार सम्मेलनमा बृख गुरुङले भने।
पत्रकार सम्मेलनमा पूर्व फुटबल खेलाडी तथा आयोजक समितिका अर्का सदस्य अमल थुलुङले संस्थागत रूपमा प्रतियोगिता आयोजना गर्दा धेरैलाई समेट्न सकिने धारणा राखे। उनले यस प्रक्रियाले कालु सिंह प्रति थप सम्मान हुने बताए।
उनले प्रतियोगिता समुदायमा चर्चित होस भन्ने आफूहरूले चाहेको बताए। ‘शारीरिक र मानसिक तन्दुरुस्ती लागि पनि प्रतियोगिता आयोजना गरेका हौ।’ पत्रकार सम्मेलनमा थुलुङले भने, ‘नयाँ पुराना साथीभाइको भेटघाट हुने वातावरण पनि बन्छ।’
थुलुङले प्रतियोगिताको आयोजक सँग सँगै नाममा पनि केही परिष्कृत गरिएको जनाए। उनले अब प्रतियोगिता रनिङ सिल्डको रूपमा सञ्चालन हुने जानकारी दिए। ‘अब लगातार तीन पटक प्रतियोगिता जित्नेले बहुमूल्य सिल्ड आफै राख्न पाउने छ।’ थुलुङले भने, ‘यो प्रतिगोयताको मार्फत हामीले कालु सिंह च्याम्पियनसिपलाई समुदायको उत्कृष्ट प्रतियोगिता बनाउन चाहन्छौ।’
थुलुङले च्याम्पियनसिपबाट बचेको रकम ‘एआरयुको सकर फर सक्सेस’ प्रोजेक्टमा खर्च गरिने बताए । विश्व शरणार्थी दिवसको अवसर पारेर आयोजना हुने च्याम्पियनसिपमा दश टिमलाई मात्र खेलाइने छ। पत्रकार सम्मेलनमा आयोजक समितिका सदस्य देवान क्षेत्रीले दिएको जानकारी अनुसार अप्रिल १३ तारिख सम्म टिम दर्ता गरिसक्नु पर्ने छ। च्याम्पियनसिपमा ४० वर्षमाथिका खेलाडीले मात्र भाग लिन पाउने छन्।
पत्रकार सम्मेलनमा आयोजक कमिटी सदस्य रत्न गुरुङले च्याम्पियनसिपमा सबैलाई सहयोग गर्न आग्रह गरे।
‘यो च्याम्पियनसिपलाई यहाँ सम्म ल्याउनु हुने सबैलाई धन्यवाद दिन चाहन्छु, ‘रत्न गुरुङले भने, ‘आउने दिनमा सबैले सहयोग चाहिन्छ, हामी यो च्याम्पियनसिपलाई अगाडि बढाउँछौ।’