सावित्राले ५ गोल गरेको खेलमा नेपालको सानदार जित
पेन्सिल्भेनिया । पश्चिम एशिया फुटबल एशोसिएसनको आयोजनामा साउदी अरेवियामा जारी वाफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा नेपालले समूह चरणमा लगातार दोस्रो जित निकालेको छ । नेपालकी सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनका मद्दतले इराकलाई ५–० गोल अन्तरले पारजित गरेको हो । नेपालका लागि सबै गोल सावित्रा भण्डारीको नाउँमा रह्यो ।
सािवत्राले १४ औं मिनेटमा गोलको खाता खोलिन् । उनले रेखा पौडेलको पासमा सावित्राले गोल गरेकी हुन् । १६ औं मिनेटमा इराकी खेलाडीबाट डीबक्समा बल खोस्दै सावित्राले व्यक्तिगत दोस्रो गोल गर्न सफल भइन् ।
प्रिती राईले सावित्राको पासलाई सदुपयोग गर्न नसक्दा नेपालले अग्रता तेब्बर बनाउन चुक्यो । २८ औं मिनेटमा अनिता बस्नेतको प्रयास विफल भएको थियो । ३७ औं मिनेटमा सावित्राले पुजा रानाको क्रसमा हेडर गोल गर्दै ह्याट्रिक पूरा गरिन् । ४४ औं मिनेटमा रेखाको पासमा पाएको बल प्रहार गर्दा इरानी गोल किपरले क्लियर गर्न खोज्दा रिबाउन्ड प्रहार गर्दै व्यक्तिगत र टिमका लागि चौथो गोल गरिन् ।
पहिलो हाफमा ४ गोल आएको इराकले दोस्रो हाफमा भने सुधारिएको प्रदर्शन गरेको थियो । इराकले दोस्रो हाफमा १ गोलमात्रै व्यहोर्न पुग्यो । सावित्राले ८० औं मिनेटमा टिम र व्यक्तिगत पाँचौं गोल गर्दै नेपाललाई फराकिलो जित दिलाइन् । अब नेपालले समूह चरणमा प्यालेस्टाइनसँग खेल्ने छ । नेपालले पहिलो खेलमा सिरियालाई पराजित गरेको थियो । जितसँगै नेपाल समूहको शीर्ष स्थानमा छ ।
अर्को समूहमा साउद अबर, लेवनान, जोर्डन र ग्वाम रहेका छन् । दुवै समूहका शीर्ष २ टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।