अमेरिकामा ‘मिथिला महोत्सव’ अप्रिलमा
न्यु योर्क/ मिथिला सेन्टर यु. एस. ए. ले आयोजना गर्दै आएको मिथिला महोत्सव यस पटक अप्रिल १४ देखि २० तारिख सम्म हुने भएको छ।
सेन्टरले बुधवार साँझ एक विज्ञप्ति मार्फत महोत्सवको घोषणा गरेको हो।
‘दिगो विकास लक्ष्यको लक्ष्य १३ (जलवायु सम्बन्धी कारबाही) लाई केन्द्रित गरी जलवायु परिवर्तन तथा यसका प्रभावहरू, प्रभाव न्यूनीकरण तथा पूर्व चेतावनी दिने सम्बन्धमा शिक्षा, जनचेतना अभिवृद्धि र संस्थागत क्षमतामा सुधार गर्ने सम्बन्धमा सामुदायिक जागरूकता बढाउन’ महोत्सव आयोजना गरिन लागिएको विज्ञप्तिमा उल्लेख छ।
सेन्टरका तर्फबाट अमित साहद्वारा जारी विज्ञप्तिमा ‘अन्तर्राष्ट्रिय मातृभाषा दिवसको यस शुभ अवसरमा, हामी मिथिला महोत्सव यु एस ए २०२४ को साथमा कला, संस्कृति र साहित्य कार्यक्रम अप्रिल १४-२०, २०२४ मा अमेरिकाको न्यु योर्कमा आयोजना हुने घोषणा गर्न पाउँदा धेरै खुसी छौँ।’ भनिएको छ।
विज्ञप्तिको पूर्ण पाठ
मिथिला महोत्सव अमेरिका २०२४ को घोषणा
मिथिला सेन्टर यु. एस. ए. को आयोजनामा मिथिला महोत्सव अमेरिका (कला र संस्कृति उत्सव सँग मिथिला महोत्सव संयुक्त राज्य अमेरिका) २०२४ आगामी अप्रिल महिनाको १४ देखि २० तारिख, २०२४ सम्म अमेरिका को न्यु योर्क शहरमा आयोजना गरिनेछ ।
मिथिला कला र संस्कृति को प्रवर्द्धन र प्रदर्शन गर्नुको साथै मिथिला कला को माध्यमबाट संयुक्त राष्ट्रसङ्घीय दिगो विकास लक्ष्य (संयुक्त राष्ट्र संघ दिगो लक्ष्यहरू-एसडीनीएस) को प्रदर्शन गर्ने हाम्रो यो निरन्तर प्रयास हो। यस वर्षको मिथिला महोत्सव अमेरिकाको मूल नारा “दिगो विकास लक्ष्य को लागी कला: मिथिला सम्पदा (एसडीजीका लागि कला: मिथिला हेरिटेज)” भएकोले दिगो विकास लक्ष्यको लक्ष्य १३ (जलवायु सम्बन्धी कारबाही) लाई केन्द्रित गरी जलवायु परिवर्तन तथा यसका प्रभावहरू, प्रभाव न्यूनीकरण तथा पूर्व चेतावनी दिने सम्बन्धमा शिक्षा, जनचेतना अभिवृद्धि र संस्थागत क्षमतामा सुधार गर्ने सम्बन्धमा सामुदायिक जागरूकता बढाउने तर्फ अग्रसर हुनेछौँ ।
तसर्थ, यो कार्यक्रममा सहभागी हुन चाहने सबै इच्छुक कलाकारहरू लाई यस वर्षको मुख्य नारालाई ध्यानमा राखी तयार पारिने आफ्नो चित्रकलाको नमुना र आफ्नो संक्षिप्त परिचय हाम्रो इमेल [email protected] मा १६ मार्च २०२४ सम्ममा पठाई सहयोग गर्नुहुन अनुरोध गर्दछौँ ।
प्रथम मिथिला महोत्सव अमेरिका सन् २०१९ को अप्रिलमा संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कमा एसडीजीका लागि कला: मिथिला हेरिटेज शीर्षकमा प्रारम्भिक चित्रकला प्रदर्शनी उच्च सफलताकासाथ सम्पन्न भएकोले हामी उत्साहित भएका छौँ र हाम्रो प्रयासलाई निरन्तरता प्रदान गर्न हामी अझ क्रियाशील भएका छौँ । मिथिला महोत्सव र कला प्रदर्शनीको आयोजनाले यु. एस. ए. तथा अन्य राष्ट्रहरूस्थित हाम्रो समुदायले सांस्कृतिक पर्वको रूपमा मनाउने मात्र नभई संयुक्त राष्ट्र सङ्घको दिगो विकास लक्ष्य हासिल गर्ने सन्दर्भमा मिथिला सम्पदाबाट हुनसक्ने योगदान बारे सामुदायिक चेतना बढाउन पनि सहयोग पुग्ने हाम्रो विश्वास रहेको छ ।
साथै, मिथिला राजा सलहेश जयन्ती समारोह, नव वर्ष तथा जुड़ शीतल चाड र मिथिला साहित्य सम्बन्धी कार्यक्रमहरू पनि यस वर्षको मिथिला महोत्सव अमेरिकामा समावेश गरिनेछ । दक्षिण एसियामा मिथिला संस्कृतिले आफ्नो एक विशेष संस्कृतिको पहिचान बनाएको छ, किनकि रामायण र अन्य हिन्दु साहित्यमा वर्णन गरिएझैँ प्राचीन नेपाली र भारतीय संस्कृतिको मिश्रण मिथिला संस्कृति हो ।देवी सीता र भगवान् रामको जीवन गाथाले यस संस्कृतिमा विशेष महत्त्व ओगटेको छ । हजारौँ वर्षअघि मिथिला राज्यको राजधानी रहेको जनकपुरधाम जन्मभूमि भएकी सीता(जानकीको नामले पनि चिनिने) को विवाह भारतको अयोध्याका राजकुमार भगवान् रामकासाथ सम्पन्न भएको थियो ।
मिथिला संस्कृति एक जीवन्त संस्कृति पनि हो, किनकि नेपाल र भारत एवम् अन्य देशहरूमा बस्ने मिथिला समुदायका व्यक्तिहरूले आफ्नो सांस्कृतिक मूल्य र मान्यताहरूलाई दैनिक जीवन र व्यवहारमा अँगालेका छन् । यस प्रकारले यस समुदायले आफ्नो धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्पदालाई समृद्ध शाली बनाउन योगदान गर्दै आएको र मानवता, मित्रता, शान्ति र समृद्धिको मूल्य मान्यताको प्रवर्द्धन गरेको छ। यु.एस.ए.मा सबैभन्दा बढी मिथिला समुदायका व्यक्तिहरू दशकौँदेखि बसोबास गरेका न्यु योर्क र न्यु जर्सी शहरहरू हुन् ।
मिथिला कला संसारभर प्रख्यात छ । महिला आर्टिस्टहरुको विशेष योगदानले नै मिथिला चित्रकला विभिन्नरुपमा शताब्दीऔं देखि अस्तित्वमा छ। घरको भित्तामा बनाइने चित्रकलाका लागि महिला आर्टिस्टहरु प्रख्यात छन् र सो सम्बन्धी ज्ञान उनीहरूबाट नै नयाँपिढीहरुमा हस्तान्तरण हुँदै आएको छ । मिथिला कलाले पौराणिक र धार्मिक विषयहरूका अतिरिक्त सामाजिक टिप्पणी एवम् सिंगार सजावट सम्बन्धमा पनि प्रस्तुत गर्दछ । मिथिला चित्रकलालाई समकालीन र संकलनीय कलाको रूपमा हाल मान्यता दिइएको छ । महिला वा पुरुष आर्टिस्टका हातहरूले बनाएका कागजका तैलीय चित्रहरू (Canvas) माटोका भित्तामा बनाइएका चित्रहरू जस्तै छन् । विश्वका विभिन्न आर्ट ग्यालरीहरूमा मिथिला चित्रकलाको प्रदर्शन भएको छ र यसबाट ग्रामीण समुदायका विपन्न महिलाहरूका लागि आय आर्जनको श्रोत पनि बढाउने नयाँ किसिमको घरेलु उद्योग फस्टाउने सम्भावना बढेको छ ।
विगतमाझैं, मिथिला महोत्सव अमेरिका २०२४ को पनि सफलतापूर्वक आयोजना गर्न यहाँहरूको सहभागिता, सहयोग , समर्थन तथा सुझाव हामीलाई प्राप्त हुने नै छ भन्ने विश्वास लिएकाछौं।
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको शुभकामना !
धन्यवाद !
मिथिला सेन्टर यु एस ए
www.mithilacenter.org