बैठक पछि शर्मा समूहले भन्यो ‘एनआरएनएको भवन ५० वर्षका लागि सरकारसँग माग्छौं’
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको राजेन्द्र कुमार (आरके) शर्मा समूहले पहिलो पटक सचिवालय बालुवाटारमा बैठक गरेको जनाएको छ । ११ औं महाधिवेशनपछि दुई समूहले समानान्तर गतिविधि गरिरहेका बेला सचिवालय भने बद्री केसी समूहले उपभोग गर्दै आएको छ । उक्त सचिवालयमा पहिलो पटक आरके समूहले बैठक गरेको जनाएको छ । बैठकका बेला कर्मचारीहरु भने थिएनन् । यसैगरी हलको चावी पनि अर्का समूहका अध्यक्ष केसीले लिएर गएकाले उनीहरुले लवीमा बैठक गरेका हुन् । एनआरएनएको सचिवालय परिसरमा सुरक्षाकर्मीहरु भने तैनाथ थिए ।
उक्त बैठकपछि पत्रकार सम्मेलन गर्दै शर्मा समूहले (एनआरएनए)ले ४० करोड बढीको लगानी गरेर बनेको सचिवालयको भवन भाडामा लिएर कम्तीमा ५० वर्षका लागि उपभोग गर्न पाउनुपर्ने सरकारसँग माग गरेको छ ।
ललिता निवास जग्गा प्रकरणमा संघको भवन पनि परेको भन्दै विशेष अदालतले गरेको आदेश र बुधबार काठमाडौं महानगरपालिकाले समेत सात दिनभित्र जग्गा खाली गर्न सूचना जारी गरेपछि भएको पत्रकार सम्मेलनमा समूहले संघले भाडामा लिएर भवन उपभोग गर्न पाउने कानुनी प्रावधान अनुसार उपभोग गर्न पाउनुपर्ने माग गर्दै परराष्ट्र मन्त्रालय, गृहमन्त्रालय र नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय भएको जनाएको छ ।
एनआरएनएको केन्द्रीय कार्यालय वालुवाटारमा शर्मा समूहले गरेको पत्रकार सम्मेलनमा आरके शर्माले विशेष अदालतले दिएको आदेश र काठमाडौं महानगरपालिकाले जारी गरेको सूचनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको बताउँदै डा.बद्री केसी समुहले संस्था र भवन नै कब्जा गर्ने उद्देश्यसहित गर्दै आएको पछिल्ला गतिविधिप्रती समेत आफ्नो आपत्ति रहेको बताए ।
भवन निर्माणमा विदेशमा रहेका प्रत्येक नेपाली नागरिकको रगत र पसिनाबाट बनेको गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष गंगाधर गौतमको भनाइ छ ।
गैर आवासीय नेपाली संघका निवर्तमान अध्यक्ष र अहिले आफुलाई अध्यक्ष दावी गर्दै आएका डाक्टर बद्री केसीले कार्यालयमा तालाबन्दी गरेकोप्रति संघको घोर आपत्ति रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
झण्डै ८० लाख बढी सदस्य रहेको गैर आवासीय नेपाली संघ नेपाल सरकारसँग साझेदारी गर्ने संस्था भएपनि राजनीतिक रङ छर्दै व्यक्तिवादी प्रवृति हावी हुँदै गएको संघका पदाधीकारीको दाबी थियो ।
केसी समूहले दादागिरी शैलीमा कार्यालयमा तालाबन्दी गरेको कुरा स्वीकार्य नभएको र बिदेशमा रहेका नेपाली नागरिकको लगानीमाथि कुल्चिएको प्रति शर्मा समूहका महासचिव वुद्धिसागर सुवेदीले पनि गम्भीर आपत्ति प्रकट गरे ।
बिदेशमा श्रम गर्ने नेपाली नागरिकको रगत र पसिनाबाट बनेको भवनलाई केसी समुहले दादागिरी शैलीमा आफ्नो नियन्त्रणमा लिएर तालाबन्दी गरेको उनको भनाई थियो ।