नेपाली डाक्टरहरूको परीक्षा सम्बन्धी मुद्दामा अमेरिकी अदालतले अन्तरिम आदेश दिन मानेन
पेन्सिल्भेनिया/ अमेरिकाको वाशिंगटन डीसी जिल्ला अदालतका न्यायाधीशले आठ सय ३२ जना नेपाली मेडिकल डाक्टरहरूको परीक्षा सम्बन्धी एक मुद्दामा बुधवार अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
अमेरिकी मेडिकल लाइसेन्सिङ परीक्षा (युएसएमएलइ) का परीक्षार्थीहरूको लागि स्कोर पुनर्स्थापना गर्न अन्तरिम आदेशको माग गर्दै मुद्दा दायर गरिएको थियो।
युएसएमएलइले काठमाडौँबाट लिइएको आठ सय ३२ जना नेपाली डाक्टरहरूको परीक्षा परिणामलाई शङ्कास्पद भन्दै रद्द गरेको थियो। युएसएमएलइले सबै डाक्टरको परीक्षामा एकै प्रकारको स्कोर आएको घटनालाई शङ्कास्पद भनेको थियो।
साथै उसले ‘नेपाली डाक्टरहरू चिट चोर्छन्’ भन्ने आशयको लिखित नोट गरेको भन्दै सरोकारवालाहरूले आपत्ति जनाउँदै आएका थिए।
यसले सबै नेपाली डाक्टरको छविमा चोट पुग्ने र नकारात्मक सन्देश जानेमा चिन्ता व्यक्त गरिएको थियो।
त्यस विरुद्ध नेपाली डाक्टहरुको तर्फबाट जारी भएको मुद्दा वाशिंगटन डीसी जिल्ला अदालतका न्यायाधीश क्रिस्टोफर आर कुपरलेले स्कोर वैधता पुनर्स्थापित गर्नको लागि आपत्कालीन प्रस्ताव अस्वीकार गरेका हुन्।
मेडपेजटुडे डट कमका अनुसार नेपाली डाक्टरहरूका तर्फबाट लतिका गिरीको नाममा गत हप्ता मुद्दा दायर गरिएको थियो। गिरी काठमाडौँमा नै बस्छिन्।
नेपाली मेडिकल स्नातक, नेशनल बोर्ड अफ मेडिकल एग्जामिनर (एनबीएमइ) विरुद्धको मुद्दामा परीक्षाको अङ्क अमान्य गर्दा पहिले स्थापित प्रक्रियाहरू पालना नगरेको आरोप लगाइएको थियो। यस्तै सामान्यतया मानिसहरूलाई अन्तिम निर्णय अघि अपिल गर्न अनुमति नदिइएको आरोप पनि लगाइएको थियो। यस्तै एनबीएमइले राष्ट्रिय मूलको आधारमा नेपाली परीक्षार्थीहरूलाई छुट्टाएर नागरिक अधिकार ऐनको उल्लङ्घन गरेको दाबी गरेको थियो।
गिरीको टिमले आफूले धोका नदिएको र स्कोर हासिल गर्न कडा अध्ययन गरेको दाबी गरेका थिए।
अदालतको आदेशले परीक्षा दिएका नेपाली डाक्टरहरूको भविष्य के हुने भन्ने थप अन्योल भएको छ। परीक्षामा सहभागी मध्ये केही अमेरिका आइसकेको जनाइएको छ।
युइसएमइलइ लगभग २४ हजार अमेरिकी मेडिकल स्कुल स्नातक र अन्य २२ हजार अन्तर्राष्ट्रिय चिकित्सा स्नातक (आइएमजीएस) बिच लिइएको हो।
अदालतका कागजातहरूले देखाउँछन् कि एनबीएमईले जोर्डन, पाकिस्तान र भारतलगायत अन्य देशहरूबाट पनि केही डाटा जाँच गरेको छ।