मेरो संस्मरणमा कायमा ओलंगन
कमल खनाल/
अस्ट्रेलिया / प्रकृति पनि हदै सम्म पक्षपाती हुने रहेछ जस्तो लाग्यो । ओलंगन पुगेर हेरे पछि त्यो अनुभव भयो मलाइ । कति रमणीय स्थल पानी र जमिनको कस्तो अगाध प्रेम । कस्तो अदभूत सम्बन्ध रहेछ पानी र जमिनको बिचमा। हुन त ओलंगनलाई “सी अफ दि साउथ” पनि भनिँदो रहेछ ।सिड्नी झरे पछि पहिलो पटक पुग्ने स्थल त्यही नै रहेछ । जहाँ आँखालाई आनन्द दिने दृश्यहरू नथाकिन्जेल हेर्न पाइने रहेछ। समुद्रको सतहबाट करिब पाँच सय मिटरको उचाइमा रहेको स्ट्याण्डवेल स्टपबाट पश्चिम दक्षिण तिर फर्केर हेर्दा देखिने दृश्य र पाइने आनन्द त्यहाँ पुग्नेहरूले मात्र अनुभव गर्न सक्छन्।
मनलाई एकै छिन मात्र खेलाउने हो भने पनि मन र आँखा मिलेर सबै दृश्यहरूलाई दिमागमा भित्र्याइ सकेका हुनेछन्। अनि त्यो गगनरूपी विराट समुद्रमा हराइ सकेका हुनेछन्। आफै समुद्रमा तैरिरहेको जस्तो अनुभूति दिइरहेको हुनेछ। अझ आकाशका तारा हेरे जस्तै गरेर धेरै पर क्षितिजसम्म हेर्ने हो भने त्यहाँ देखिने सामुद्रिक जहाजहरू समुद्रका भेलसँग खेल्दै खेल्दै आइरहेको अनुभूत गर्न सकिन्छ। जहाजले असङ्ख्य सामुद्रिक भेलहरूसँग पौठेजोरी खेल्दै गन्तव्य तिर लम्किरहेका देखिने छन्।
जहाज चालकहरूले आफ्नो जवानी र जिन्दगीलाई पानीमा नै हुर्काएर व्यथित गरिरहेका क्षणलाई सम्झँदा लाग्छ आफ्नै जिन्दगी र जवानी पनि त्यही भित्र खोज्न मन लाग्छ। हामी हेर्छौ ,देख्छौ कति सुन्दर अनुभूत गर्छौ। हुन त अरूलाई आनन्द दिन जीवनका कैयौँ जवानीहरू त्यसै पनि खेर फालिए होलान्। तर पनि पानी माथिको जीवन र जमिन माथिको जीवनले प्राप्त गर्ने आनन्दमा धेरै फरक पाइँदो रहेछ र हुँदो रहेछ। यसरी उत्पन्न सोचले हाम्रो शून्य दिमागमा अनगिन्ती अनुभूतिहरू प्रवेश गरी सकेका हुँदा रहेछन् । आनन्द दिइरहेका हुँदा रहेछन्। यस्तै आनन्द लिन हजारौँ मानिसहरू त्यहाँ पुगिरहेका हुँदा रहेछन् ।
प्रकृतिले दिएको वरदानले मानवीय जीवन र जीवनले सिर्जिएका अनगिन्ती संयमहरूले पृथ्वीलाई नै कति रोमाञ्चक बनाइरहेको हुने रहेछ। हामी त्यही भित्र रह्यौ र घन्टौ घन्टा हरायौ। सोच्यौ प्रकृतिले यति धेरै पक्षपात किन गरेको होला ? बुझ्यौ आँखाको अधैर्यताले दिमागमा पारेको प्रभाव सहजै अनुमान लगाउन सकिन्थियो। हेर्दा र डुल्दा डुल्दै समयले हामीलाई त्यहाँबाट निस्कने सङ्केत गर्यो । जतिसुकै मनमोहक र सौन्दर्यले परिपूर्ण भए पनि त्यहाँ बस्ने अधिकार हामीसँग थिएन। हामी हिँड्यौ।
समुद्रका किनारमा बनाइएका ब्रिजहरूमा घन्टौ घन्टा सम्म हिँडेर पनि थकान महसुस हुन नदिने दृश्यहरूलाई हेर्दा लाग्थ्यो पानी र मानिस बिचको अन्वनाश्रित सम्बन्ध कसरी स्थापित भएको रहेछ। पानी विना माछाको जीवन जस्तै मानिस बिना पानीको महत्त्व पनि हुदोरहेनछ जस्तो लागिरह्यो। मानिसहरूले पनि पानीसँगको जीवनको अपरिहार्यता बोध गराइ सकेका रहेछन्। मानिसलाई पानीले दिने आनन्द जमिनले दिने भन्दा बेसी हुने रहेछ।
कायमा
कायमा एउटा तटीय क्षेत्र हो। अष्ट्रेलिया न्यूसाउथ वेल्सको सबै भन्दा रमणीय स्थल कायमा जसलाई पृथ्वीको सुन्दर स्थान पनि भन्ने गरिदो रहेछ। समुद्रको सतह भन्दा दश मिटरको उचाइमा रहेकोले कायमा सिटीबाट प्यासिफिक ओसनको दृश्यावलोकन बाल्कोनिमा बसेर फिल्म हेरे जस्तै अनुभूति दिने रहेछ।अष्ट्रेलिया समुद्र वेष्टित देश भएकोले पनि अन्य देशहरूको भन्दा धेरै कुरामा फरक पाइने रहेछ प्राकृतिक स्वरूपमा जस्तै ।समुद्र किनारका सुनौलो बालुवा, निर्मल र कञ्चन पानी। वरिपरि डाँडाहरू समुद्रतिर फर्केको बस्ती , सामुद्रिक हावाको आनन्द लिन पाइने र समुद्रको पुरै फासला देख्न पाइने एउटा साच्चैनै रमणीय स्थान रहेछ।
बिदा मनाउन थुप्रै मानिसहरू पुग्दा रहेछन्। कतिले नाइट स्टे गर्ने रहेछन् भने कति लन्च लिने गरी पुगेर दिनभर आनन्द लिएर राति फर्कने पनि रहेछन्। ब्लोहोलको आनन्द र रमाइलो लिन पाइने भएकोले पनि मानिसहरूको होलिडे ट्रीप त्यही हुने रहेछ। बुलीविच समुद्रकै लेभलमा रहेछ। समुद्रबाट उठेका छालहरू सेताम्मे भएर पुरै बिचलाइ ढाक्नेगरी आउने रहेछ। कुन छाल कति मजबुत र शक्तिशाली छ भन्ने अनुमान गर्न सक्नेहरूले अझ बढी आनन्द लिन सक्ने रहेछन्।
समुद्रतटको अग्लो स्थानमा रहेको लाइट हाउसको उद्देश्य मानिसहरूको दिमागमा सामुद्रिक मथिङ्गल ल्याउनु रहेछ। लाइट हाउसले दिने शक्ति दिनको सौन्दर्ययतामा भन्दा रातको सौन्दर्ययतामा ज्यादा पाइने रहेछ। त्यसैले केहिदिन बस्ने गरी आउनेहरूले समुद्रका तटहरूमा बसेर प्राप्त गर्ने अनुभूति हरेकको आआफ्नै हुने रहेछ। सामुद्रिक तटबाट पचास साठी मिटर वरपर भएका घरका मानिसहरू पनि घर छोडेर समुद्रका तटहरूमा रात बिताउने गर्दा रहेछन् भने टाढाबाट आउनेहरूले सामुद्रिक तटको उपयोग भरपुर गर्ने रहेछन्। कायमामा बस्ने मानिसहरू साँच्चै नै भाग्यमानी रहेछन् जस्तो अनुभूति भइरह्यो। हामीले पनि समयले दिएको अवसरलाई त गुमाएनौ, भरपुर उपयोग गर्ने प्रयास पनि गरियो। त्यहाँबाट फर्किनु थियो फर्कियौ। तर कायमाको कायलाई कहिल्यै नभुल्ने गरी मन भरि राखेर फर्कियौ ।
मे फिल्ड गार्डेन
अष्ट्रेलियाका पहाडहरूको उचाइ समुद्र सतहबाट दुई हजार मिटर भन्दा कम होलान्। तर समुद्र सतहबाट पहाड तिर जाँदा निक्कै माथि पुगिए जस्तो लाग्ने रहेछ। हामीले मे फिल्ड जाने र त्यहाँको भौगोलिक संरचना हेर्ने सोच बनायौ र यात्रा गर्यौ। मे फिल्ड एउटा पहाडी उद्यान थियो। शहरका वरिपरि बनाइने उद्यान जस्तै थियो मे फिल्ड। ब्लु माउन्टेनको हाराहारीको उचाइमा पुगियो। त्यहाँ पुग्दा हाम्रो खप्तडका ती समथल मैदान र विराट पाटनहरूमा डुलेजस्तै लाग्थ्यो। बाटोबाट देखिने ती फराकिला गाई ,घोडा र भेडाहरू चराउने हजारौँ हजार एकड जमिनमा पोखरी खनेर वर्षा हुँदाको समयमा पानीलाई सङ्कलन गरिने रहेछ। पशुपंक्षीलाई पिउने पानी यसरी उपलब्ध गराइने रहेछ। गर्मी मौसममा खाडीको तातो बाफ बराबरको तातो सहनै पर्ने रहेछ त्यहाँ । जाडोमा मन मुटु नै खुम्च्याउने ठुकठुके चिसो हावा चल्ने रहेछ।
धेरै ठुला र फराकिला पाटनहरूले गर्दा भ्यालीको स्वरूप देखिन्थ्यो। धेरै पर सम्म देखिने समथल भूभागले रमाइलो भने दिइरहेको थियो। करिब १.३० घण्टाको ड्राइभमा पुगिने मे फिल्ड भने हेर्न लायक ठाउँ रहेछ। त्यस्तो सुख्खा भूमिलाई उर्वर बनाएर मानिसहरूलाई पुग्नै पर्ने ठाउँ बनाएका रहेछन्। तर त्यो सरकारले नभई व्यक्तिको मेहनत र परिश्रमले बनाइएको रहेछ। हकिन्स परिवारले १९८४ मा भेडा फार्म रहेको जमिनलाई मे फिल्ड गार्डेन बनाइ दिएछन्। पैसठ्ठी हेक्टर जमिन मध्ये पन्ध्र हेक्टर जमिनमा हकिन्स परिवारले बर्षौ लगाएर हेर्न लायक गार्डेन बनाएका रहेछन्। प्रशस्त पानीका तलाउहरू बनाएर पानी हाँसहरूलाई आनन्द लिने ठाउँ र पशु पंक्षीहरूलाइ प्यास मेटाउने स्थल बनाइदिएका रहेछन्।
त्यस्तै अर्को तलाउमा मोनोमेन्ट बनाएर पानीको फोहोरा दिएर रमाइलो पन थपेका रहेछन्। विभिन्न पानीका झरनाहरू झरेको देखाइएको र खोलाहरूले जस्तै कल कल आवाज दिएर बग्ने पानीका खोल्साखोल्सिहरूलाई हरिया रूखहरू दायाँ बायाँ रोपेर सुन्दरताको कल्पना गरेको देखिन्थ्यो। फूलै फूलले भरिएको बगैँचा ,धन्दै चार घण्टाको रमणीय दृश्य सहितको हिडाइलाइ पुग्ने गरी बनाएका रहेछन् हकिन्स परिवारले। पैसठ्ठी हेक्टर जमिन मध्ये पन्ध्र हेक्टरमा मात्र निर्माण गरिएको मे फिल्ड गार्डेन लाई व्यावसायिक रूपमा सञ्चालन गरिएको रहेछ। पैसठ्ठी हेक्टर जमिन पुरैमा बनाइने मे फिल्ड गार्डेन कस्तो हुनेछ त्यो अनुमान मात्र गर्न सकिन्छ। हकिन्स परिवारको त्यो परिश्रम र सुन्दरता आगामी वर्षहरूमा अझ मनमोहक रूपमा प्रस्तुत गरेको देख्न सकिनेछ।
कमलका फूलहरू तलाउ भरि फूलिरहेका देखिन्थे। मनलाई नै तनमय बनाउन सक्ने कस्तो सुन्दर कल्पना गरेका रहेछन्। कमलको फूलसँगै खेलिरहूँ जस्तो, हेरिरहूँ जस्तो लाग्ने रहेछ।कमलका पातहरूले ढाकिएका तलाउहरू हेर्दा लाग्थ्यो पानी माथि नभएर जमिनमा फूलिरहेका छन्। ब्लु स्टोन ब्रिज टनेलको स्वरूपमा बनाइएको रहेछ। अगाडि पानीको पोखरी र वरिपरि फूलहरू फुलिरहेको देख्न पाइने रहेछ। रेड ब्रिज चाइनिज प्यागोडा शैलीमा निर्माण गरिएको रहेछ।
ढुङ्गालाई प्वाल पारेर ढुङ्गाको माथिल्लो भागबाट तलाउमा झारिएको पानीको छहरा कति आकर्षक देखिँदो रहेछ। स्याण्डस्टोन ग्यालरी ह्वाइ हाउस जस्तै देखिने एउटा घर जहाँ मे फिल्ड गार्डेको इतिहास पढ्न पाइने रहेछ । त्यहाँ पुग्ने मानिसहरूको सुविधाका लागि एउटा क्याफे ,गाडी पार्किङ देखि रेष्टरूमसम्मको राम्रो व्यवस्था भएको मे फिल्ड गार्डेन घुम्न र हेर्नका लागि मानिसहरूले होलिडे ट्रीप नै बनाउने रहेछन्। मास्टर प्लान विना नै बनाइएको गार्डेको डिजाइन,आकार र सौन्दर्यमा युरोपियन गार्डेनको प्रभाव परेको रहेछ । मौसम भने अनुमान गर्न नसकिने रहेछ। जाडो र गर्मी मौसमका कपडाहरू लिएर जानु पर्ने रहेछ।
एउटा परिवारले भेडा फार्मलाई पोखरी र फूलैफूलको बगैँचा बनाइदिए। हेर्न लायक ठाउँ बनाइ दिए। हरेक मानिसको दिमागमा मे फिल्ड गार्डेन घुसाइ दिए। गरे के हुँदैन भन्ने सन्देश हकिन्स परिवारले दिएका रहेछन्। देशको सौन्दर्य बढाएका रहेछन्। आम्दानीको राम्रो स्रोत बनाएका रहेछन्। हाम्रा पहाडी क्षेत्रहरूमा पनि यस्तै र आकर्षक जमिनहरू छन्। मे फिल्ड जसरी नै विभिन्न ठाउँमा उद्यानहरू बनाएर मानिसहरूलाई पुग्नै पर्ने बाध्यात्मक स्थिति सिर्जना गर्न सक्ने हो भने हाम्रा पहाडी क्षेत्रहरू कति गुलजार हुन्थे होलान्। रोजगारीका अवसर पनि खुल्थे होलान्। अनि पहाडको महत्त्व र उपयोगिता कति बढ्थ्यो होला। हाम्रा पहाडी इलाकाहरू आज त्यसै अलपत्र परेका छन्। सरकारले अनुदान दिएर भए पनि फालिएका पहाडी क्षेत्रहरूलाई उपयोग गर्ने नीति ल्याएर प्रोत्साहित गरे हुन्थ्यो कि ! तर कसले सोच्ने ?
र यो पनि…