अमेरिकामा एनआरएनए कप अन्तर-राज्य भलिबल हुने
क्यालिफोर्निया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका अन्तर्गत क्यालिफोर्निया च्याप्टरको आयोजनामा आगामी अप्रिलमा ‘एनआरएनए कप अन्तर राज्य’ भलिबल प्रतियोगिता हुने भएको छ।
एनआरएनए अमेरिका क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष बासु क्षेत्रीका अनुसार प्रतियोगिता अप्रिल १२ देखि १४ तारिख सम्म हुने छ।
‘हामीले आज भोलीमा प्रतियोगिता हुने स्थलको टुङ्गो लगाउँछौ ।’ समाज टाइम्स सँगको टेलिफोन कुराकानीमा उपाध्यक्ष क्षेत्रीले भने,’ क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नै हुने हो प्रतियोगिता।’
उनले नेपाल डे परेडलाई मध्यनजर गरेर प्रतियोगिता आयोजना गरिएको बताए। ‘यो तीन दिने प्रतियोगिता हो, १४ तारिख नेपाल डे परेड छ, त्यस दिन फाइनल खेलाउने गरी तयारी गरेका छौ।’ क्षेत्रीले भने।
टिम दर्ता सुरु भइसकेको र प्रतियोगिता भन्दा एक महिना अगाडि सम्म खुल्ला रहने उनले बताए। ‘हामीले सबै च्याप्टरलाई पत्र पठाएका छौ, क्यानडाबाट लाडगली स्पोर्टस क्लब आउने पक्का भएको छ, १८ देखि २५ टिमले भाग लिने अपेक्षा गरेका छौ।’ क्षेत्रीले भने।
प्रतियोगिताको विजेताले १२ हजार अमेरिकी डलर पाउने छन्। दोस्रो हुने टिमले सात हजार डलर पाउने छन्। यसै गरी तेस्रो स्थानमा आउनेले पाँच र चौथो स्थानमा रहनेले दुई हजार डलर नगद पुरस्कार पाउने छन्।
टिम दर्ता शुल्क पाँच सय राखिएको छ।