“बाना भवन ऋण मुक्त” अभियानका लागि दुई चरणमा उठ्यो झन्डै ९४ हजार अमेरिकी डलर
बाल्टिमोर/ बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) ले बाना भवन ऋण मुक्त अभियानमा दुई चरणमा गरि झन्डै ९४ हजार अमेरिकी डलर संकलन गरेको छ।
बाना ट्रस्टी अध्यक्ष कुलमणि आचार्यका अनुसार पहिलो चरणमा करिब ६४ हजार उठाएको बानाले गत शनिवारको दोस्रो चरणमा थप ३० हजार संकलन भएको हो।
आचार्यका अनुसार सन् २०१७ मा बानाले आफ्नै भवन खरिद गरेको हो। सो समय क्लोजिङ्ग सहित करिब तीन लाख बिस हजार अमेरिकी डलर भवन खरिदमा खर्च भएको थियो।
सोही समयमा एक लाख डलर डाउन पेमेन्ट गरिएको थियो।
बानाका अध्यक्ष सुवोध विलास पन्तले मोर्गेज अन्तर्गत महँगो व्याज तिर्नु भन्दा दाताहरूको सहयोगमा ऋण मुक्त हुन खोजिएको बताए।
‘यो भवन निकै उपयोगी भएको छ, संस्थाको दैनिक गतिविधि, कार्यालयका लागि मात्र होइन यहाँ बालबालिकाहरूका लागि भाषा कक्षा, नृत्य कक्षा पनि सञ्चालनमा छन्।’ समाज टाइम्स सँग पन्तले भने, ‘यो बाल्टिमोरमा बस्ने नेपालीहरूको साझा घर हो। अहिले हाम्रो धेरै पैसा मोर्गेजमा भएको छ त्यो पनि व्याजको रूपमा त्यसबाट संस्थालाई मुक्त राख्न खोजिएको हो।’
आचार्यका अनुसार भवनका लागि अहिले सम्म दश हजार भन्दा बढी दान दिनेमा तीन जना छन्। ट्रस्टी अध्यक्ष आचार्य आफैले १५ हजार चार सय २२ डलर दिएका छन्। यसै गरि बानाका सल्लाहकार प्रेम श्रेष्ठले १५ हजार एक सय ११ डलर दान दिएका छन्। बानाकी पूर्व अध्यक्ष अन्सुया श्रेष्ठ वन्तले पनि ११ हजार १७ डलर भवन खरिदका लागि दान दिएकी छिन्।
बाना अध्यक्ष पन्तले यो वर्ष (सन् २०२४) भित्रमा भवन ऋण मुक्त हुनेमा आफू आसावादी रहेको बताए। ‘दुई चरणमा उत्साहजनक रूपमा रकम संकलन भएको छ, अझै थुप्रै साथीहरू छुट्नु भएको छ त्यसैले हामीले तेस्रो चरणको कार्यक्रम राखेका हौ।’ पन्तले भने।
‘यहाँ भन्दा अगाडिको ऋण मुक्त अभियानमा विभिन्न कारणले उपस्थित हुन् नसक्नु भएका बाना प्रेमी बुबा आमा दाजु भाइ तथा दिदी बहिनीहरूले वानालाई ऋण मुक्त अभियानमा सहयोग गर्ने इच्छा राख्नु भएको हुँदा आगामी मार्च तीन तारिख आइतबार बिहान दश देखि १२ बजे सम्म सम्म तेस्रो चरणको “बाना भवन ऋण मुक्त” अभियान राखिएको हुँदा हजुरहरू लाई सो अभियान मा उपस्थित भएर सहयोग गरिदिनु हुन् विनम्र अनुरोध गर्दछौ ।’
पन्तले अन्तिममा दश बिच हजार अपुग भए नेतृत्व तहबाटै त्यसको व्यवस्था गर्ने पनि बताए। ‘हामीले यस अगाडि पनि दान दिइसकेका छौ तर अन्तिममा दश बिस हजारले यो अभियान रोकिँदैन हामी व्यवस्था गर्छौ।’ शनिवार साँझ आयोजित दोस्रो चरणको कार्यक्रममा उनले भने।
अभियानको पहिलो चरण सबै भन्दा धेरै दान दिनेमा गायिका शान्ति भण्डारीले पाँच हजार तीन सय डलर दिएकी छिन्। दोस्रो चरणमा गोमा केसी र उनका श्रीमान् राम केसीले पाँच हजार एक डलर दान दिएकी छिन्।
अभियान अवैतनिक महावाणिज्यदूत तथा बानाका संस्थापक सदस्य तथा सल्लाहकार प्रेम राजा महतले पनि सक्रियता देखाएका छन्।