मनीषा हिमानी संवादले उब्जाएको प्रश्न


नेपालमा राजसंस्था चाहानेहरुको स्वर ठुलो भइरहेका बेलामा गत हप्ता पूर्व युवराज्ञी हिमानी शाह र चर्चित अभिनेत्री मनीषा कोइरालाबिचको संवादले राम्रै बजार लियो। मैले व्यक्तिगत टीका टिप्पणी गर्न खोजेको भने होइन। नेपाली समाजलाई नियालेर हेर्दा निस्केको मेरो एउटा निजी बिचार मात्रै हो।
हँसिलो मुद्रामा उन्मुक्त देखिएका दुई पात्रलाई हेर्दा पितृसत्तात्मक संरचनामा कुनै धक्का नपुर्याउने खालका अनुकूल र उपयुक्त नारीत्वको भूमिकामा सभ्य र भद्र थिए।
वास्तवमा फरक फरक समय, संस्कृति, मूल्यमान्यता र धारणाहरूमा हुर्केका महिलाहरूको धारणा र बुझाइ पनि फरक नै हुन्छ । दुई सम्भ्रान्त परिवारका महिलाको संवाद हेर्दा मलाई मन मनै बेल हुक्स साहित्यिक नाम गरेकी अमेरिकी लेखिका ग्लोरिया जिन वाट्किन्सको ‘नारीवादी सिद्धान्त: मार्जिन देखि केन्द्र सम्म’ (Feminist Theory : From Margin to Center) भन्ने किताबको पनि झल्को आउँदै थियो। त्यो किताबमा अमेरिकी श्वेत वा गोरा पढेलेखेका, धनी र सहर केन्द्रित नारीबादीहरुले काला जातिका र अन्य किनारामा परेका महिलाहरूको जीवन भोगाइलाई वास्ता नगरेको कुरा उल्लेख छ।
मनीषा कोइराला र हिमानी शाहको यो बहसले कतै त्यस्तै पैरवी त गरिरहेको छैन ? कतै हुक्सको नारीवादी बहस मेल खान आएको त होइन भन्ने लाग्नु पनि स्वाभाविक नै हो। जीवन जिउने क्रममा सबैलाई नै दुःख छ। तर सम्भ्रान्त परिवारका महिला र गरिब सीमान्तकृत महिलाहरूबिच पनि अमेरिकामा पनि ठुलै खाल्डो छ।
आफ्ना सवालहरू आफैँ बाहिर ल्याउन र बहस पैरवी गर्न सबै महिलाहरूले सक्दैनन् । तर हिमानी शाह र मनीषा कोइराला सक्ने वर्गमा पर्छन्। तर दुईचार वटा भोगाई र सङ्घर्षले विविध नेपाली समाज र सीमान्तकृत महिलाहरूको जीवन भोगाइलाई पनि एउटै डालोमा हाल्न मिल्छ र?
महिलाहरू सबै एउटै हुन् समर्थन गर्नुपर्छ भन्ने पनि छैन। उच्च कुल, वर्ग र शहरिया नारीवादीहरू पछाडि परेका सीमान्तकृत, दलित र गरिब महिलाहरूको जीवन बदल्न खोजेजस्तो गर्छन्। हुक्सकै भनाई अनुसार पनि यो वर्ग दैनिक जीवनमा पुरुषसँग बराबरीमा आउने भन्दा पनि महिलाहरूसँगै विभेद झेलिरहेको हुन्छन्।
नारीवादले आफ्नै वर्गलाई मात्रै पक्षपोषण गर्छ भन्ने उनको तर्क छ। महिलालाई महिलाबिचकै असमानताको ज्ञान हुन जरुरी रहेको पनि बताएकी छिन्। वास्तवमा नारीवाद बुझ्न र बुझाउन उनको पुस्तक नेपालीमा अनुवादको पनि खाँचो हो कि जस्तो मलाई लाग्छ।
त्यस्तै नेपालमा पनि बेला बेलामा सीमान्तकृतहरूको समस्याको वकालत गर्ने, मुद्दा लडेको जस्तो गर्ने, कतै सेल्टर बनाइदिएको जस्तो र सहयोगको नाममा केही सम्भ्रान्त महिलाहरू चारो छर्ने काम पनि गर्छन् ।
तर जो शक्ति र राज्यसत्तासँग कैंयौ वर्ष सम्म नजिकबाट जोडिएर पनि माखो मार्न पनि सकेनन् । जसले समाजसेवा गर्छु भन्नु पनि हाँसो लाग्ने विषय जस्तो मलाई लाग्छ। यिनले केही गरिहाले भने पनि तीनले आफ्नै वर्गको पक्षपोषण गरिरहेका हुन्छन्। सीमान्तकृतहरूलाई आर्थिक उपार्जनमा सहभागी गराएर जीवनस्तर उकास्ने काम गर्दैनन्।
नेपालमा जहानियाँ राणा शासन, राजतन्त्रमा महिलाहरूमाथि बढी नै अन्याय अत्याचार र थिचोमिचो थियो भन्ने कुरामा दुई मत छैन। विक्रम सम्मत २०४६ सालको बहुदलीय व्यवस्थापछि केही महिला अधिकारहरू स्थापित भए। तर सामाजिक सांस्कृतिक, धार्मिक स्थितिमा भने खासै परिवर्तन हुन सकेको छैन। जति पनि महिलासम्बन्धी एजेन्डा छन् ती एनजिओहरूले स्थापित गरेका मुद्दा हुन् भन्दा गल्ती सायद नहोला।
नेपालका राजनीतिक पार्टीहरुनै एनजिओ जस्ता छन्। पार्टी दर्ता प्रक्रिया देखिनै पैसाको चलखेल सुरु हुन्छ। एता नीति नियम पनि बनाउँछन्, उता पार्टीलाई पैसा दिने लगानी गर्ने विदेशी दाताहरू नै हुन्छन् र आफ्ना एजेन्डाहरू भन्दा दाताका एजेन्डाहरू नै अगाडी बढाउनुपर्ने हुन्छ।
नागरिकता जन्मसिद्ध अधिकार हो भनेर संविधानमा लेख्छन् अनि गाउँमा जन्मिएका अनाथ बालबालिकालाई नागरिकता दिलाउन एनजिओले नै बहस पैरवी र सहयोग गर्छ। राजनीतिक पार्टीका आ-आफ्नै वकिल हुन्छन्, न्यायालयमा उनीहरूको आफ्नै नियुक्ति हुन्छ।
अझै यस्तो अवस्थामा नेपालका सम्भ्रान्त परिवारका छोरी बुहारीका एजेन्डा अरू के के होलान् त? कहिलेकाहीँ आफैलाई सोध्न मन लाग्छ। हालैको एउटा प्रतिवेदनमा एक जना गरिब महिलाभन्दा धनी महिलाको विद्यालय जाने सम्भावना पनि चार गुणा बढी रहेको उल्लेख गरिएको छ।
एउटी महिला शैक्षिक, प्राविधिक , सीपयुक्त योग्यता र क्षमता विकास भइसकेपछि नियमित तलब आउने सुरक्षित प्रकारको जागिर खान्छिन् । आफ्नो हक अधिकार सुरक्षित गर्न सङ्गठनमा पनि लाग्छिन्। तर राम्रो शिक्षा पाउनबाट वञ्चित महिलाको सामाजिक हैसियत भने कल्पना गर्नै नसकिने हुन्छ। पुरुषले पनि तल्लो दर्जामा राखेको हुन्छ।
एता अमेरिकामा पनि धनी महिलाहरू आफ्नो मनले सोचेको आटेको कुरा आफ्नै सुरमा गर्छन्। आफ्नो विवाह गर्न वा तोड्न लाई पनि कुनै समस्या नै हुँदैन तर गरिब महिला एक्लै बस्ने चाहाना हुँदा हुँदै पनि कसैसँग सम्झौता गरेर बस्नुपर्छ। किनभने एक्लैले कोठा भाडा तिर्न, बच्चा बच्ची हुर्काउन ठुलो मुस्किल हुन्छ। तर धनी महिलाहरू मिनेट भरमा आफ्नो निर्णय लिन सक्छन्। पैसा हुनेको सामाजिक नैतिक इज्जतको पनि खासै वास्ता हुँदैन।
एउटै प्रश्न समाजमा सबै महिलाहरू किन खुसी र सुखी भएर जीवन जिउन किन नसक्ने?
(कभर फोटो स्किनसट)
र यो पनि …