६ वर्ष पछि न्यु योर्कका तामाङ समुदाय एकै ठाउँमा ल्होछार मनाउँदै
न्यु योर्क / तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष बुद्धिमान तामाङको दौडधुप अहिले अलिक बढी छ। उनी फुरुङ्ग पनि छन्।
नहोस् पनि किन ६ वर्ष पछि न्यु योर्क र आसपासका तामाङहरू पहिलो पटक सोनाम ल्होछार एकै ठाउँमा मनाउँदै छन्। फुटेका मनहरू जोडिएका छन्।
सन् २००० मा स्थापना भएको सोसाइटी सन् २०१८ मा फुटेको थियो। तामाङ सोसाइटी अफ अमेरिका र तामाङ समाज अमेरिका गरी दुई संस्थाले फरक फरक ठाउँमा ल्होछार मनाउँदै आएका थिए।
समुदायको प्रमुख चाड दुई ठाउँमा मनाउँदा सर्वसाधारण भने सास्ती खेप्न परेको गुनासो गर्दै आएका थिए।
बुद्धिमान गत मार्चमा अध्यक्ष चुनिएका हुन्। संयोग उनको कार्यकालको पहिलो ल्होछार विशेष बन्न लागेको हो। छरिएकाहरू एउटै छानोमुनि जम्मा हुने वातावरण बनेको हो।
‘फुटेका मनहरू जोडिएका छन्, म अध्यक्ष भए पछिको पहिलो ल्होछार त्यसमा पनि सबै जना एकै ठाउँमा हुने भए पछि हामी सबै उत्साहित छौ’ समाज टाइम्स सँग बुद्धिमानले भने।
समाजले फेब्रुअरी १७ तारिख न्यु योर्कमा सोनाम ल्होछारमा विशेष कार्यक्रम गर्ने भएको छ। ‘यस पटक त हामीले हल नै ठुलो लिएका छौ नि।’ तयारी कस्तो छ भन्ने प्रश्नमा बुद्धिमानको जवाफ थियो।’हल नै आठ सय पचास जना क्षमताको छ, यस क्षेत्रमा रहेका समुदायका व्यक्ति कोही पनि नछुटुन् भन्ने हाम्रो चाहाना हो।’
‘सामाजिक एकता, एक खालको उत्साह छ, सबै जना एकै ठाउँमा बस्दा, पहिला छुट्टिँदा मन खिन्न थियो।’ बुद्धिमानले भने, ‘अब कसरी उत्कृष्ट दिने भनेर तयारी गरेका छौ, सांस्कृतिक चाड मात्र नभएर नयाँ सम्बन्ध स्थापना गर्न पुराना कुरा बिर्सन समय पनि हो।’
यसै गरी समाजका पूर्व अध्यक्ष शान्त थोकरले पनि समाज एकीकृत भएकोमा आफू खुसी भएको बताए। ‘मेरो कार्यकाल पछि समाज विभाजन भएको थियो, यो पटक पहिला जस्तै गरी एकै ठाउँमा ल्होछार मनाइँदै छ म उत्साहित छु।’ उनले भने।
बुद्धिमानका अनुसार न्यु योर्क सोनाम ल्होछारमा प्रस्तुति दिन नेपालबाट मिलन लामा, पोर्चुगलबाट कुन्सन वाइबा आउँदै छन्। यसै गरी गोमा योञ्जन, शशिकला मोक्तान, रञ्जिता गुरुङ, सुमित्रा लामा टेकमान तामाङ लगायत कलाकारले पनि प्रस्तुति दिने छन्।
यसै गरी कराते खेलाडीले पनि पर्दशनी गर्ने छन्।
कार्यक्रममा सहभागी हुने ७० डलरको टिक खरिद गर्नु पर्ने छ। तर न्यु योर्क, न्यु जर्सी र कनेक्टिकटबाट आउनेलाई निःशुल्क हुने अध्यक्ष बुद्धिमानको भनाई छ। ‘टाढाका पाहुनालाई हामी निःशुल्क नै प्रवेश दिन्छौ।’ उनले भने।