साग स्वर्णधारी अनु अधिकारी आईएमए निहोन कराते डो अमेरिकामा अनुबन्धित
न्यु योर्क/ सागकी स्वर्ण विजेता अनु अधिकारी आईएमए निहोन कराते डो अमेरिकामा अनुबन्धित भएकी छिन्। अनु घरेलु मैदानमा भएको १३ औ दक्षिण एसियाली खेलकुदमा करातेकी स्वर्ण पदक विजेता हुन्। पछिल्लो समय उनी अमेरिकामा छिन्।
‘म यु एस ओपन खेल्नका लागि अमेरिका आएको हो, मलाई थप प्रशिक्षणको पनि आवश्यक पर्ने भएकाले यहाँ अनुबन्धन भएको हुँ।’ समाज टाइम्स सँग अनुले भनिनन्,’त्यस अगाडि यसै महिना न्यु जर्सीमा हुने प्रतियोगितामा पनि भाग लिन्छु।’
अनुले आफूले कराते जीवनलाई निरन्तरता नै दिने बताइन । ‘म अझै पनि राष्ट्रिय टिममा नै छु आफूलाई अन्तर्राष्ट्रिय प्रतियोगिताको थप अनुभवका लागि अमेरिका आएको हुँ। प्रशिक्षण र प्रतियोगितामा धेरै भन्दा धेरै सहभागी हुन्छु।
आईएमए निहोन कराते डो नेपाली प्रशिक्षक शिहान शान्त थोकरले सञ्चालन गरेको स्कुल हो। प्रशिक्षक थोकरका अनुसार अनु विशेष प्रशिक्षणका लागि आफ्नै निमन्त्रणामा अमेरिका आएकी हुन्। ‘एउटा राम्रो खेलाडीलाई अझ धेरै भन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव होस भनेर हाम्रो डोजोले निमन्त्रणा गरेको हो, उहाँले अब यहाँ नियमित प्रशिक्षणका साथै अमेरिकामा हुने विभिन्न प्रतियोगितामा आईएमए निहोन कराते डो यूएसएको तर्फबाट खेल्नु हुने छ। ‘ प्रमुख प्रशिक्षक थोकरले भने।
अनुले आगामी मार्च र मे महिनामा आयोजना हुने युएस ओपन च्याम्पियनसिप र रक्की माउन्टेन च्याम्पियनसिपलाई मुख्य लक्ष्य बनाएको बताइन। उनले आफ्नो प्रशिक्षणका साथै डोजोमा अन्य खेलाडीलाई पनि प्रशिक्षण दिएको बताइन्।
तीन पटक राष्ट्रिय खेलकुदमा स्वर्ण विजेता अनुले जर्मनी ,अस्ट्रेलिया,हंगेरी,हङंकङ्ग,मलेसिया,थाइल्यान्ड,बङ्गलादेश,भारत लगायत विभिन्न देशहरूमा भएको अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक हासिल गरेकी छिन्।