अमेरिकाको टेक्ससमा अझै सक्रिय ‘बहुआयामीक कलाकार रविन पिया’
नारायण भण्डारी
म नौ दश वर्षको हुँदो हुँ रविन दाइको पसलको बाटो स्कुल आउने जाने गरिन्थ्यो । रविन दाइको त्यो पसलको भित्तामा झुण्याईएका चित्रहरू देखे पछि पहिलो पटक देख्ने म मात्र होइन हर कोही बटुवा एक पटक टक्कै रोकिएर भित्ता तिरै नजर डुलाउन पुग्थे । २०४१/४२ सालतिरका ती दिनमा रविनदाई अर्थात् रविन पिया नवलपारासी जिल्लाको रजहर बजारमा रहेको आफ्नै घरमा फोटो खिच्ने, विभिन्न साइजका फोटो बनाउने, साइन बोर्ड लेख्ने र बाँकी समय चित्र बनाउने गरेको मेरो सम्झनामा ताजै छ । दाइले बनाएका ती चित्रमा प्रकृति र मानव जीवनका संयुक्त आकृति एकसाथ झल्किएका थिए ।
सानो उमेर देखि नै कला साधनामा रमाउने रविनदाई पूर्ण व्यावसायिक हुँदै २०४८ साल देखि पत्रकारिता पेशा सँग आबद्ध हुन पुग्नु भयो । पत्रिका सँग आबद्ध भएपछि उहाँका प्रतिभाले राम्रो सँग फक्रने मौका पायो ।
कुनै बेला नेपाली रङ्गकर्मीहरूका गतिविधि समेटिने प्रमुख छापा सञ्चार माध्यम थियो कामना सिने मासिक पत्रिका । २०४१ साल देखि नेपाली कला क्षेत्र र कलाकारलाई नै प्रमुख विषय बनाएर प्रकाशन शुरु गरिएको यो पत्रिकाको सम्पादक पुष्कर लाल श्रेष्ठ हुनुहुन्थ्यो ।
२०४८ तिर कामना प्रकाशनले कामना, साधना र संन्ध्याकालिन दैनिक महानगर पत्रिका प्रकाशन गर्दथ्यो । कामना प्रकाशनले नेपाली कला क्षेत्रमा पुर्याएको योगदानलाई सधैँ उच्च मूल्याङ्कन गरिनु पर्दछ । यो पत्रिका त्यो समय यति चर्चित थियो कि पढ्न सक्ने प्रायः सबै उमेर समूहका मानिस यो पत्रिका खोजी खोजी पढ्थे। अझै यसको गाईजात्रे विशेष अङ्क त चर्चाको शिखरमै पुगेको थियो । यो पत्रिका सँग संम्बद्द भएर फोटो पत्रकारिता गर्नु, ग्राफ़िक डिजाइन गर्नु, व्यङ्ग्य चित्रकारिता गर्नु पेशागत रूपले गौरवको विषय नै थियो ।
कामना प्रकाशनमा प्रकाशन सहयोगी र आर्टिस्टको रूपमा जागिरे भई प्रवेश गरे पनि व्यङ्ग्य चित्रकारको रूपमा स्थापित हुन निकै संघर्ष गर्नु परेको उहाँको अनुभव छ । सुरुका दिनमा उहाँका कार्टुन चित्र महानगरमा, कथा बस्तु अनुसारका चित्र साधनामा र फोटोहरू कामनामा छापिन्थे । पछिल्ला दिनमा प्रकाशनको दायरा अझै थपियो । नेपाल समाचार पत्र राष्ट्रिय दैनिक, र गाईजात्रे विशेष अङ्कमा समेत कार्टुनहरू छापिन थाले ।
पत्रिकाका प्रधान सम्पादक पुष्कर लाल श्रेष्ठ र कला प्रमुख एवं वरिष्ठ व्यङ्ग्य चित्रकार अशोक मानसिंह सँगको लामो सङ्गतले आफ्नो कलाकारितालाई निखार्दै लागेको रविनदाई स्वीकार गर्नु हुन्छ । यसै कारण बहुआयामीक विधा समेटेर सञ्चार क्षेत्रमै लगनशील रहनु भएका रविन पियालाई समाजमा परिचय स्थापित गर्न लामो समय लागेन । सचेतनाको अभियानमा लागेर समाजका विकृति र विसङ्गति विरुद्ध व्यङ्ग्य चित्र मार्फत चेतना फैलाउने अभियानमा लागेका उहाँलाई विभिन्न त्रास र धम्कीहरूको सामना गर्नु परेको तितो अनुभव पनि छ ।
सुरुआतका दिनहरू स्मरण गर्दै रङ्ग र अक्षरहरू सँग खेल्दै काठमा, कागज र बोर्डमा कोर्ने र चित्र बनाउने प्रेरणा आफ्नै दाइ मोहन पिया र चितवन निवासी मामा कमल चित्रकारबाट मिलेको उहाँले बताउनु भयो। त्यही कलाको उपयोग गर्दै कहिले काँही उहाँले चित्र बनाएर साथीहरूलाई उपहार दिनु हुन्थ्यो। कला फगत सिर्जना हो, कल्पनाशीलता हो, अक्षरहरूले भन्दा कयौँ गुणा बढी सन्देश दिन्छ कलाले । क्यानभाषमा रङ्गहरू सँग मनोवाद र संवाद गर्दै कुनै आकृति सिर्जना गर्दछ कलाकारले । त्यही आकृतिले केही शब्दमा धेरै सन्देश दिन्छ ।
सानो उमेर देखिनै यस्तो कलाको माध्यमबाट शब्दहीन तर विविध सन्देश दिने रविनदाई ती दिनमा पनि चितवनमा आयोजित वाल चित्र प्रतियोगितामा प्रथम हुनु भएको थियो। त्यसैसरि २०३९ सालमा रेयुकाई नेपालले तत्कालीन लुम्बिनी अञ्चलको बुटवलमा आयोजना गरेको अञ्चल स्तरीय चित्रकला प्रतियोगितामा उहाँले तृतीय पुरस्कार प्राप्त गर्नु भयो ।यसरी आफ्नो सक्रिय कलाकारिताको समयमा विभिन्न प्रतिस्पर्धाहरूमा भाग लिँदै सम्मानित र पुरस्कृत हुँदै आउनु भयो ।
आफ्नो कला अभियानमा समय समयमा पुरस्कृत हुँदै, सम्मानित हुँदै आए पनि उहाँलाई आफ्नो काममा त्यति वेला सन्तुष्टि मिल्यो जब राष्ट्रिय प्रतियोगितामै उत्कृष्ट घोषित हुनु भयो । व्यङ्ग्य चित्र विचार अभिव्यक्तिको एक सशक्त माध्यम हो ।यसमा पाठकको ध्यान सबैभन्दा पहिले जान्छ ।यसले पत्रिकामा पाठक बढाउन ठुलो भूमिका खेलेको हुन्छ । व्यङ्ग्य चित्र बिना अहिलेको समाचार पत्रहरू पूर्ण हुन सक्दैन ।चित्रका पारखीहरू चित्रको माध्यमबाट दिइएको अभिव्यक्ति लेख भन्दा बढी प्रभावकारी भएको मान्छन् ।
२०५९ सालको गाईजात्राको अवसरमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले व्यङ्ग्य चित्र प्रतियोगिता आयोजना गरेको थियो । सो प्रतियोगितामा प्रजातन्त्र रुपी स्याउलाई मुसारूपी दुष्ट नेतृत्वले मनोमानी ढङ्गले खादै गरेको व्यङ्ग्य चित्रमा उतारेर उहाँले प्रस्तुत गरेको सिर्जनाले उत्कृष्ट पुरस्कार प्राप्त गर्यो । देशमा संवैधानिक राजतन्त्र रहेकै बेला पनि देश गैर जिम्मेवार नेताहरूबाट नराम्रो सँग लुटिएको थियो । देशमा भएको कुशासन, र विसङ्गतिले प्रजातन्त्र जस्तो लोकप्रिय व्यवस्था नै सिद्धिने अवस्थामा पुगेको तितो यथार्थ व्यङ्ग्य चित्रमा दर्साइएको थियो । व्यङ्ग्य चित्र प्रतियोगितामा प्रथम भए पछि रविनदाईको चर्चा निकै चुलियो ।
सिर्जनात्मक काम गर्न रमाउने रविनदाई व्यङ्ग्य चित्रको अलावा ग्राफिक्स डिजाइन, भित्ते चित्र लेखन, साइनबोर्ड लेखन र स्क्रिन प्रिन्टका काम पनि उत्तिकै लगनका साथ गर्नु हुन्छ । त्यति मात्र नभएर उहाँ गीत सङ्गीतमा पनि निकै रुचि राख्नु हुन्छ । गीत रचना गर्नु उहाँको ठुलो शौख हो । हाल सम्म उहाँले रचना गरेका १४ बटा गीतहरू रेकर्डिगं भईसकेका छन् । ती रचनाहरूमा माया खेल होइन, गाउँ बेसीमा लालुपाते फुल्नै छाडिसक्यो, चुँडाई लग्यो मनको चङ्गा निष्ठुरी हावाले, मायामा धेरै धेरै बाँची सकेँ लगायतका रहेका छन् । उहाँका गीतमा दीप श्रेष्ठ, रिमा गुरुङ, सुरेन्द्र मुखिया, सुक्मित गुरुङ ,सपना श्री, प्रतापदास श्रेष्ठ जस्ता चर्चित गायकले स्वर दिएका छन् भने सुरेन्द्र मुखिया, विजेन श्रेष्ठ,विकास चौधरी लगायतका सङ्गीतकारको सङ्गीत रहेको छ ।
प्रकृतिलाई रङका माध्यमले चित्रमा उतार्ने, कुरीतिलाई कलाले उदाङ्ग पार्ने र भावनालाई शब्द र सङ्गीतमा मुखरित गर्ने रविन समष्टिमा एक बहुआयामिक कलाकार हुन भन्दा अतिशयोक्ति हुँदैन । कला सिर्जना हो, कला तपस्या हो यही कलामा रम्ने उहाँ हिजो आज पनि फुर्सदको समयमा कहिले चित्र बनाउने त कहिले प्रकृतिमा नयाँपन खोज्न क्यामरा बोकेर निस्कन रुचाउनु हुन्छ ।
विगत झन्डै दुई दशक देखि टेक्ससको राजधानी अस्टिनमा बस्दै आउनु भएका ५९ वर्षीया रविनदाई यहाँका नेपालीहरूले आयोजना गर्ने प्राय हरेक सांस्कृतिक एवं सार्वजनिक कार्यक्रममा क्यामरा बोकेरै देखा पर्नु हुन्छ । पेसाले उहाँ अझै ग्राफिक्स डिजाइनकै काम गर्नु हुन्छ । उहाँले डिजाइन गरेका सामाग्री टिसर्ट लगायत विभिन्न सामानमा छापिएर शोभिनियर आइटमका रूपमा अहिले अस्टिन बजारमा आउँछन् । साहित्य र कला प्रति उहाँको लगाव निरन्तर रहिरहोस् ।
र यो पनि..