के गर्दै छ, एनआरएनएको छानविन समिति ?
पेन्सिल्भेनिया । गैर आवासीय नेपाली संघ एनआरएनको विवादबारे छानविन गर्नका लागि सरकारले गठन गरेको छानविन समितिले काम सुरु गरिसकेको जनाएको छ ।
मन्त्रिपरिषदको बैठकले महान्यायाधिवक्ताको कार्यालयका सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहानको नेतृत्वमा छानविन समिति बनाउने निर्णय गरेको थियो । समितिमा चौहान संयोजक रहँदा परराष्ट्रमन्त्रालयकी सहसचिव रिता धिताल, अनुसन्धान व्युरोका दिनेश आचार्य र लेखाका ओम प्रसाद रिजाल सदस्य रहेका छन् ।
चार सदस्यीय समितिको सचिवालयमा उपसचिवस्तरका अर्का एक जना कर्मचारी पनि तोकिएको छ । एनआरएनएको ११ औं अधिवेशनका बेला भेरो भोटिङमार्फत संस्था कब्जा गरेको आरोप लगाउँदै राजेन्द्र कुमार (आरके) शर्मा पक्षले परराष्ट्रमन्त्रालय र सीआइबी लगायतमा उजुरी गरेको थियो ।
सीआइबीले छानविन गरेको जनाए पनि उक्त रिपोर्ट सार्वजनिक भइसकेको छैन । यसबीचमा अहिलेका दुई समूह बद्री केसी र आरके शर्मा दुवैले आधिकारिकताको दावी गर्दै मन्त्रालयमा पहिला नै निवेदन दिए पनि कसैले पनि मान्यता पाएका छैनन् । फलस्वरुप वद्री समूह अदालत नै पुगेको छ भने आरके समूहले सरकारलाई समिति गठन गर्नका लागि दबाब दिएको थियो ।
परराष्ट्रमन्त्री एनपी साउदले समिति गठनका लागि गरेको प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएपछि काम सुरु गरिसकेको जनाएको छ । अहिले चौहान नेतृत्वको समितिले कागजपत्र अध्ययन गरिरहेको जनाएको छ । खासगरि समिति अहिले सीआइबीले गरेको अनुसन्धानको फाइल अध्ययन गरिरहेको समितिका एक सदस्यले समाजटाइम्सलाई जनकारी दिए । उनले भने ‘हामी फाइल अध्ययनका क्रममा छौं, खासगरि लेखा प्रणालीको विषयमा पनि अध्ययन भइरहेको छ ।’
१५ दिनको समय दिइएको थियो, काम सकिएला त भन्ने प्रश्नमा उनको जवाफ छ, ‘काम गर्दैछौं, यति दिनमै सक्छौं भन्ने अवस्था त छैन, तर जिम्मेवारी पूरा गर्दा केही समय लागेमा समय थपिन्छ ।’
सरकारले बनाएको समितिलाई अक्टोबरमा भएको निर्वाचन प्रक्रियादेखि लेखाको अवस्थाका बारेमा पनि छानविन गर्ने जिम्मेवारी दिइएको छ ।